-गंगासागर पन्त नेपालको राजनीतिमा अधिकांश परिवर्तन बोक्राहरूमा मात्रै सीमित छन् । समग्र गुदीको रङ र स्वाद उस्तै छ, दशकौँ अघिदेखि निरन्तर छ चाकडी र जदौ प्रथा । त्यो पनि सबैभन्दा बढी यो देशको वौद्घिक वर्गमा । राजनीति, प्रशासन, शिक्षा, स्वास्थ्य, कानुन, वित्तीय आदि सबै क्षेत्रका वौद्घिक वर्ग यो किसिमको गैरलोकतान्त्रिक चरित्रबाट ग्रसित छ ।
विशेषतः शैक्षिक तथा प्रशासनिक क्षेत्र त दीर्घरोगी नै भएको छ यस्तो चरित्रबाट र यो नै सही लोकतन्त्र प्राप्तीको प्रमुख वाधक भएको छ । जुन वर्गलाई सर्वसाधारणले रोलमोडलको रूपमा हेरिरहेका हुन्छन्, त्यही वर्गले सकारात्मकभन्दा नकारात्मक र भ्रष्ट प्रवृत्तिको चरित्र प्रदर्शन गरेपछि साँचो लोकतन्त्र कसरी स्थापित हुन्छ ? राजनीतिक क्षेत्रका वौद्घिक वर्ग त आफूलाई लोकतन्त्रको जन्मदाता नै भएको ठान्दछ र आफ्नो सन्तानको प्रयोग, उपयोग जसरी गरे पनि पाउनुपर्ने ठानिरहेछ ।
हो, राजनीतिक परिवर्तनको चाहनाअनुसार विभिन्न आन्दोलनहरू भए र राम्रा शब्दहरूमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बन्यो । केही नयाँ नियम कानुनहरू बने । अब यिनै संविधान र नियमकानुनहरूले असीमित राजनीतिक चाहनाहरूलाई नियन्त्रण र नियमन पनि गर्दछन् र गर्नै पर्छ । हालसालैका केही प्रतिनिधि पात्र र परिवेशका कुरा गरौँ– यही १ मंसिरमा गोरखामा लोकतान्त्रिक गठबन्धनको एउटा चुनावी आमसभामा अन्य अतिथिहरूसँगै एकजना युवा प्राध्यापकलाई ससम्मान मञ्चासनको लागि निम्ता गरियो । सुरुमा मात्र नभएर बीचबीचमा पनि माइक बोलिरह्यो उनलाई निम्त्याउँदै ।
तर, उनी भीडको पछाडि उभिइरहे । म दंग थिएँ, मञ्च भनेपछि हुरुक्कै हुने ती प्राध्यापक, जो आफैँ एक लोकतान्त्रिक राजनीतिको नेतृत्व गर्ने परिवारका नै हुन्, आज किन आएनन् मञ्चासन गर्न ? भोलिपल्ट बिहानपख थाहा भयो, ‘यसपटक वाम गठबन्धनको बहुमत आउने प्रबल सम्भावना भएकोले लोकतान्त्रिक मञ्चहरूमा देखिनु हानीकारक बन्न सक्छ । सामाजिक सञ्जालमा प्रेसित फोटोले मात्रै पनि रिसाउन सक्छन् प्रचण्ड–ओली । अब त कुनै संवैधानिक÷राजनीतिक पदका लागि वाम नेतृत्वलाई खुसी पार्नुको विकल्प नै छैन ।’ त्यो व्यक्ति, जसले नेपाली कांग्रेसबाट सम्भवतः सबैभन्दा बढी फाइदा लियो ।
जायज–नाजायज सबै फाइदा लियो । अब ऊ कित्ता परिवर्तनको संघारमा छ । न कुनै शिद्घान्त छ, न कुनै नैतिक अडान छ । छ त केवल शक्तिकेन्द्रहरू धाउने योजना र आफू मात्र बन्ने चाहना । कुनै गठबन्धनको कुराभन्दा पनि एउटा विद्वत व्यक्तिको वेश्यावृत्तीमाथिको विश्लेषण मात्र हो यो, जुन प्रवृत्तीले स्वयं सही लोकतान्त्रिक पद्घती र संस्कारलाई दीर्घरोगी बनाइरहेको छ । अर्का चिरपरिचित विद्वान प्राध्यापककै कुरा गरौँ न । एमालेलगायत ओली–सोली सबैलाई गालीगलोचका गोली मार्ने प्राडा, राजनीतिक विश्लेषक, आजकल त वाम गठबन्धनका प्रवक्ताभन्दा पनि चर्का भइराखेका छन् ।
उनलाई पनि ठूलो लालच छ एउटा राजनीतिक वा संवैधानिक पदको । राजा ज्ञानेन्द्रको पालामा पनि ‘जदौ’ गर्दै धनुष्टंकार हान्न पुगेका थिए उनी । उनको आशामा तुषारापात भयो भने भोलिपल्ट उज्यालो नहुँदै त्यस्का बाउ–बाजेकै विरुद्घमा सशक्त आवाज निकालिहाल्छन् उनी । यी त मात्र प्रतिनिधि पात्र तथा परिवेस हुन् । हाम्रो देशको वौद्घिक वर्ग केबल व्यक्तिगत लाभको अवसरको पछि मात्र दौडिएको छ कि समग्र राष्ट्रिय उत्थान बारे पनि सोच्ने गर्दछ भन्ने चिन्ता हो यो पंक्तिकारको ।
राष्ट्रको समग्र उत्थानमा आफ्नो पनि उत्थान हुन्छ भनेर किन आत्मविश्वाश राख्न सक्दैनन् नेपालका वौद्घिक वर्ग ? राजनीतिक संस्कार, आर्थिक तथा प्रशासनिक नीति नियमले सही बाटो समात्यो भने त सम्पूर्ण वौद्घिक वर्गको मात्र नभएर अन्य सबै वर्ग र क्षेत्रको पनि उन्नति नै हुन्छ नि ! कति कुद्ने हो एउटा प्राध्यापकले अराजक राजनीतिका अक्षम खेलाडीहरूको पछि–पछि ?कति कुद्ने हो एउटा दक्ष प्राविधिक इन्जिनियर, डाक्टर आदीले चुल्ठे–मुन्द्रेको पछि–पछि ?
सही समयमा, सही ठाउँमा, सही सल्लाह र सुझाव दिएर आफ्नो नैतिक मान्यतामा किन अडान राख्न सक्दैनन् वौद्घिक वर्ग ? साँचो लोकतन्त्र प्राप्तीमा यो देशको वौद्घिक वर्गले असहयोग गरिरहेछ । अश्वस्थ प्रतिस्पर्धा र चाकडी प्रथामा कहाँ हुर्कन बढ्न पाउँछ र स्वस्थ प्रजातन्त्र ? पद्घति र कानुन बिगार्दै, मिच्दै हिँड्ने हाम्रो बौद्घिक तथा प्रशासनिक वर्ग यथार्थमा लोकतन्त्र विरोधी हो । व्यक्तिवाद र हैकमवादको पृष्ठपोषक हो । कुर्ची प्राप्तीको लक्ष पनि ठोस काम गरेर देखाउनलाई भए पनि हुन्थ्यो नि ! त्यस्तो हुँदैन, कुर्ची नै अन्तिम लक्ष बन्न पुग्छ ।
त्योभन्दा पर केही छ भने अरू धन कमाउने र ऐसआराम गर्ने, छरछिमेकमा धाक दिने । नातागोतामा शाख दिने । बस्, त्यत्ति हो । भाडमा जाओस् देश । यो देशले नै दिएर मैले लाएको छु, खाएको छु, मानसम्मान इज्जत पाएको छु भन्ने कुनै हेक्का नै राख्दैनन् उच्चपदस्थ कर्मचारी तथा वौद्घिक वर्ग । धेरै दूरदराजहरूमा चरम् दुःखकष्ट सहेर बसेका जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व सम्बन्धमा सायदै ख्याल गर्दछन् कर्मचारी तथा वौद्घिक वर्ग । म स्वयं त्रिविविको पूर्वलेक्चरर तथा द्वन्द्वकालीन शान्ति अभियानकर्ता वौद्घिक वर्गमा नै राख्दछु आफूलाई ।
मलाई नियमपूर्वक सम्बन्धित नगरपालिकाकै इन्जिनियरले डिजाइन गरेको साढे दुई तले घरको सुरुदेखि अन्तिम चरणसम्म पार गर्न ५० दिनभन्दा बढी नगरपालिका धाउने, १० दिनभन्दा बढी सम्बन्धित इन्जिनियरकै घर धाउने र धेरैपटक अनुनय विनयदेखि राता गालासम्म पार्नु प¥यो । म रुन मात्र सक्दिनथेँ यो सम्झेर कि केही थाहा नभएका सिधासाधा सर्वसाधारणहरूले कति सास्ती पाएका होलान् यी ब्वाँसा र जुकाहरूबाट ! हो, बेलाबेला म झर्किएँ, ‘चिया पसल र भट्टीहरूमा नेताहरूलाई गाली गर्दै देश बिगारे नेताहरूले भन्ने ब्वाँसाहरूमा तपाईंहरू पनि पर्नुहुन्छहोला होइन ? नेताहरूले त बरु परिवर्तन ल्याएका छन् यो देशमा । तपाईं कर्मचारीहरूले त भित्रभित्रै धमिरालेजस्तो सखाप पार्नुभएको छ यो देश ।
के कुनै कर्मचारीले आफ्नो आचरणमा परिवर्तन ल्याएको छ ? एक दिन यस्तै भाषा नगरपालिकाको कार्यकारी प्रमुखकै प्रति नै लक्षित गरी बोल्नुप¥यो । प्रत्युत्तरमा अमिलो मुख लाउँदै उनले भने, ‘के गर्ने सर, कर्मचारी स्वच्छ हुन त मुहान नै स्वच्छ हुन प¥यो नि ? देशै यस्तै छ !’ मैले भनेँ, ‘कमसेकम यो नगरपालिकाको मुहान त तपाईं नै हो नि सर । प्रयास त गर्नुस ल्पिज ! जनताले खोजेको परिवर्तनलाई महसुस त गरिदिनुस् ! तपार्इंजस्तो युवा प्रशासकले पनि नबुझेपछि कसले बुझ्ने ? कस्तो परिवर्तन खोजिरहेछ हाम्रो देशले ?
नियतमा नैतिकतामा, कोठाकोठामा, टेबलटेबलमा परिवर्तन चाहिएको छ । नेतृत्व गर्ने अनुहारमा मात्र होइन ।’ उनी केही सकारात्मक हुँदै भने, ‘हुन्छ सर म हेर्छु किन ढिलो भएको रहेछ तपाईंको ।’ तर, मलाई मेरो व्यक्तिगत फाइलको भन्दा अधिक चिन्ता थियो बिलकुल अपरिवर्तित, परम्परागत, भ्रष्ट र सुस्त कर्मचारी प्रशासनबाट जनताले भोगिरहेको अनावश्यक सास्तीको । म अझै निराश हुन्थेँ सोचेर सम्झेर अनि जानेर कि कर्मचारी कहाँ छन् र यहाँ ? यहाँ त केवल पार्टीका कार्यकर्ता मात्र पो छन् । यीभन्दा माथि को छ र ? ज्यान जोगा भैरे ज्यान !!
प्रतिक्रिया