गणितीय हिसाबमा वामको स्थिति

जनताले वाम गठबन्धनलाई बहुमतको हकदार ठाने । ०४६ सालको परिवर्तनपछि कांग्रेसले ०४८ र ०५६ मा बहुमत ल्याउँदा पनि विभिन्न कारणहरूले स्थिर सरकार चलाउन सकेको थिएन । विगतमा मनमोहन र ओलीले विकास, समृद्धि र सामाजिक न्यायका लागि गरेको कामको अनुभवका आधारमा पनि एकपटक वाम गठबन्धनको बहुमतको सरकार हेर्ने नाराले आममतदातालाई आकर्षित गर्न सफल भयो ।

विश्वनाथ खरेल

मुलुकमा हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन परिणामले एमाले–माओवादी गठबन्धनलाई बहुमत दिएर स्थायी सरकार गठन प्रक्रियाका लागि मार्गप्रशस्त गरेको छ । अर्थात् यस गठबन्धनलाई जनताले आफ्नो मत दिएर विजयी गराएका छन् । गठबन्धन केही स्थानबाहेक पूर्ण रूपले सफल देखिएको छ । दुई र विभित्र टुक्रामा विभाजित कम्युनिस्ट पार्टी एकसाथ टिकिरहन नसक्ने र जनमत हुँदाहँदै पनि निर्वाचन जित्न नसकिने निष्कर्षका चुनावी तालमेल भएको थियो । ६०/४० को सिट बाँडफाँटसहित मैदानमा जाने र निर्वाचनपछि पार्टी एकीकरण गर्ने तहको सहमतिले आमनागरिकमा विश्वास जागृत गर्न सकेको थियो । त्यस्तै, गरी विगतका समयमा एमाले र माओवादी कम्युनिस्ट विचार र कार्यशैलीबाट निर्देशित भए पनि उनीहरू विपरीत ध्रुवमा थिए । माओवादी कहिले एमालेतिर त कहिले कांग्रेसतिरको अवस्थामा थियो ।

स्थानीय निर्वाचनपछि वाम राजनीतिले कोल्टे फेर्यो । एमाले अध्यक्ष खड्गप्रसाद ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमति पछि मुलुकको वाम राजनीतिमा नयाँ आयाम थपिएको महसुस गरिएको थियो । यो निर्वाचनमा वम गठबन्धनका लागि जनमतका प्रमुख सर्तहरू भनेको राजनीतिक स्थिरता र आर्थिक समृद्धि हो । विगतमा भएका कुनै पनि सरकारले स्थिर स्वरूप हासिल गर्न सकेन ।

०४६ सालको परिवर्तनपछि कांग्रेसले ०४८ र ०५६ मा बहुमत ल्याउँदा पनि विभिन्न कारणहरूले स्थिर सरकार चलाउन सकेको थिएन । झन् यसअघि ०१५ सालमा कांग्रेसले दुईतिहाइ बहुमत ल्याएको थियो । तर, ०१५ सालको सरकार नटिक्नुमा भने कांग्रेसको दोष छैन । अबको समयमा वाम गठबन्धनले स्थिर सरकारका लागि बहुमत माग्यो, जसलाई मतदाताले स्वाभाविक रूपमा लिए । जनताले वाम गठबन्धनलाई बहुमतको हकदार ठाने ।

राजनीतिक मुद्दाहरू करिब सकिएको र अबको समय भनेको आर्थिक समृद्धिका लागि अघि बढ्ने वाम गठबन्धनको चुनावी घोषणा रह्यो । वास्तवमा भन्ने हो भने हाम्रो देशमा असंख्य आर्थिक स्रोत तथा सधानहरूको खानी छ । त्यसलाई सही रूपमा परिचालन गर्ने हो भने आर्थिक समृद्धिका धेरै बाटाहरू पहिल्याउन सकिन्छ । त्यसको सही रूपमा परिचालन नहुँदा नै मुलुकले गरिबी, बेरोजगारी र अविकासका अनेकन समस्या भोग्नुपरेको हो । विगतमा मनमोहन र ओलीले विकास, समृद्धि र सामाजिक न्यायका लागि गरेको कामको अनुभवका आधारमा पनि एकपटक वाम गठबन्धनको बहुमतको सरकार हेर्ने नाराले आममतदातालाई आकर्षित गर्न सफल भयो ।

हाम्रो देश विकासको लागि राजनीतिक परिवर्तनको मुद्दा टुंगो लागि सकेको अवस्था छ । अब आर्थिक समृद्धिको बाटोमा लाग्ने वेला आयो । यसरी जनताले निकै ठूलो जिम्मेवारी वाम गठबन्धनलाई बोकाएका छन् । देशमा आवश्यक पर्ने पर्यटन, जलविद्युत्, यातायात लगायत कृषिको व्यावसायीकरणमा जोड दिई स्वरोजगारीको बाटो सिर्जना गर्नुपर्ने वेला आएको छ । जनताले हिजो ‘जनयुद्ध’मा त्याग र बलिदान गरेका छन् संक्रमणकालको पनि अन्त्य भयो । अबकोे बाटो भनेकै आर्थिक समृद्धिका अभियानहरूलाई तीव्रता दिएर जनताका गुनासाहरू र मर्काहरूलाई जनताकै साथ लिएर रोजगारी र आर्थिक विकासको यात्रामा अघि बढ्ने हो । यसको साथसाथै पाँच वर्षभित्र बत्र बाँकी सबै पूर्वाधार विकास गर्नमा पछाडि पर्न नहुने कुरा सम्बन्धित क्षेत्रका विज्ञहरूले पनि औँल्याएका छन् ।

प्रतिनिधिसभा र सात वटै प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको सम्पूर्ण परिणाम आइसक्दा दुवै सभामा वाम गठबन्धनको वर्चस्व कायम भएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभाको कुल १ सय ६५ सिटमा वाम गठबन्धनले ११८ सिट ल्याएको छ । वाम गठबन्धनभित्र एमाले एक्लैले ८०, माओवादी केन्द्रले ३६, राष्ट्रिय जनमोर्चाले १ र राप्रपाले १ सिट ल्याएका छन् । वाम गठबन्धनकै सहयोगमा झापा– ३ बाट राप्रपाका राजेन्द्र लिङदेनले जितेका हुन् । जबकि, राप्रपाले अन्यत्र नेपाली कांग्रेससँग गठबन्धन गरेको थियो । प्रत्यक्षतर्फको परिणाममा कांग्रेस तेस्रो स्थानमा पुगेको छ । उसले जम्मा २३ सिटमा चित्त बुझाउनुपरेको छ । राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरम नेपालले १० सिट जितेका छन् । यी दुई पार्टी गठबन्धन बनाएर चुनाव लडेका थिए । दुवै पार्टीले २१ सिटमध्ये १९ सिट प्रदेश नम्बर २ बाट जितेका हुन् । बाँकी २ सिटमा फोरमले १ सिट बाँकेबाट र राजपाले १ सिट कैलालीबाट जितेको हो । त्यसबाहेक नयाँ शक्ति पार्टी, नेपाल मजदुर किसान पार्टीले १÷१ सिट तथा स्वतन्त्रका उम्मेदवारले १ सिट जितेका छन् ।

समग्रमा भन्नुपर्दा प्रतिनिधिसभा प्रत्यक्षमा ८० सिट जितेर ठूलो दल बनेको एमाले सात वटै प्रदेशको समानुपातिकतर्फ भने ७५ सिटमा सीमित भएको छ । प्रत्यक्षमा २३ सिटमा खुम्चिएको कांग्रेस समानुपातिकमा प्रदेशतर्फ एमालेभन्दा ३ सिटले मात्रै पछि परेको छ । यसरी कांग्रेसले प्रदेशसभामा ७२ सिट पाएको छ । प्रत्यक्षको तुलनामा समानुपातिकमा कांग्रेसले तीन गुणा बढी सिट जित्न सफल भएको छ । राजनीतिक दलहरूले ०७४ साल कत्तिक २७ गते समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको उम्मेदवारहरूको संशोधित बन्द सूचीअनुसार प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ५ सय ६५ जना उम्मेदवार कायम भएका थिए ।
गत १० र २१ मंसिरमा सम्पत्र प्रदेशसभा निर्वाचनबाट सात वटै प्रदेशहरूबाट १ दशमलव ५ प्रतिशत थ्रेसहोल्ड पुर्याउने विभित्र १३ वटा दलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने भएका छन् । निर्वाचन आयोगले सात प्रदेशका ७७ जिल्लाका ३ सय ३० निर्वाचन क्षेत्रमा सम्पत्र प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको सेन्टलग विधिअनुसार सिट बाँडफाँटको टुंगो लगाएको हो ।

यसर्थ थ्रेसहोल्ड नकटाउनेमा प्रदेश १ मा २१, प्रदेश २ मा २३, प्रदेश ३ मा २४ प्रदेश ४ मा १३, प्रदेश ५ मा २१, प्रदेश ६ मा १३ र प्रदेश ७ मा १५ दल छन् । यी दलहरूले प्राप्त गरेको ५ लाख २३ हजार मत खेर गएको निर्वाचन आयोगले जनाएको छ । यसरी आयोगले टुंगो लगाएको सिट बाँडफाँटअनुसार प्रदेश १, ३, ४, ५ र ६ मा नेकपा एमाले पहिलो बनेको छ भने प्रदेश ७ मा एमाले र कांग्रेसले बराबरी आठ सिट पाएका छन् । प्रदेश २ मा भने नेपाली कांग्रेस पहिलो भएको छ । यसरी सातवटै प्रदेशको समग्र रूपमा परिणामलाई अध्ययन गर्ने हो भने एमाले र कांग्रेस नजिक–नजिक छन् । सातै प्रदेशमा गरी एमालेले ७५ सिट पाउँदा कांग्रेसले ७२ सिट पाएकोे छ ।

आयोगका अनुसार प्रदेश १ मा समानुपातिक निर्वाचनमा सहभागी २७ दलमध्ये ६ दल निर्वाचित भएका छन् । यसैगरी, प्रदेश २ मा २९ दल निर्वाचनको मैदानमा रहेकोमा ६ दल मात्रै निर्वाचित भएका छन् । यसैगरी, प्रदेश ३ मा ३१ दलमध्ये ७, प्रदेश ४ मा २० दलमध्ये ५, प्रदेश ५ मा २७ दलमध्ये ६ , प्रदेश ६ मा १८ दल निर्वाचनको मैदानमा सहभागी रहेकामा ४ दल निर्वाचित भएका छन् । यसैगरी, प्रदेश ७ मा २० दल चुनावी मैदानमा रहेकोमा ४ दल मात्रै निर्वाचित भएका हुन् ।

अतः प्रदेशसभातर्फको समानुपातिकमा जम्मा २ सय २० सिट बाँडफाँट गरिएको थियो, जसलाई सिटअनुसार बाँडफाँट गर्दा एमालले ७५, कांग्रेस ७२, माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम १३ र राष्ट्रिय जनता पार्टीले १२ सिट पाएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझाले तीन÷तीन सिट पाएका छन् । त्यसरी नै राष्ट्रिय जनमोर्चाले प्रदेश ४ मा १ र प्रदेश ५ मा १ सिट हात पारेको छ । नयाँ शक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) एक÷एक सिट मात्र पाउन सफल भएका छन् ।

प्रतिक्रिया