लन्डन २२ मंसिर । ब्रिटेनका नम्बर १ टेनिस स्टार जोहाना कोन्टाले अमेरिका माइकल जायसलाई सन् २०१८ को सिजनको लागि नयाँ प्रशिक्षकमा नियुक्त गरेकी छन् । कोन्टा गत अक्टोबरमा आफ्ना बेल्जियन प्रशिक्षक विम फिसेटेसँग अलग भएकी थिइन् । २६ वर्षीया कोन्टाले सन् २०१७ को सिजनमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । कोन्टाले यस सिजन सिड्नी इन्टेरनेसनल र मियामी ओपनको उपाधि जितिन् ।
उनी विश्व वरीयतामा शीर्ष स्थान पुग्ने विश्वका चौथो नम्बरकी खेलाडी बनिन् । तर, आखिरी सत्रमा चोटका कारण उनी वरीयतामा निकै तल झरिन् । जसको कारण उनले डब्लुटिएको फाइनल्समा समेत स्थान बनाउन असफल भइन् ।
ब्रिटेनकी खेलाडी कोन्टाले पूर्वविश्व नम्बर १ की प्रशिक्षक जायसलाई आफ्नो नयाँ प्रशिक्षकको रूपमा रोजिन् । जायस रुसी टेनिस स्टार पूर्वविश्व नम्बर १ मारियो शारापोभाको प्रशिक्षक थिए । जायसले आफ्नो कार्यकालमा शारापोभालाई २ ग्रान्डस्लाम जिताउन मद्दत गरेका थिए ।
यसै वर्ष पनि जायस विक्टोरिया अजारेन्काको कोचिङ टिमको हिस्सासमेत बने । उनले गतहप्ता मात्र बेलारुसकी खेलाडी अजारेन्काको साथ छोडेका थिए । कोन्टाले एक वयानमा भनेकी छिन्, ‘माइकल जायसको साथ नयाँवर्षको सुरुआत गर्न पाउँदा म एकदम खुसी छु ।
उनी निकै उत्कृष्ट प्रशिक्षक हुन् । उनीसँग अपार अनुभव छ । साथै उनीसँग काम गर्न म एकदम उत्साहित छु ।’ कोन्टाले थपिन्, ‘जारी सिजन राम्रो नै रह्यो । आशा गर्छु की आगामी सिजन पनि उत्कृष्ट नै हुनेछ ।
कोन्टाले नयाँ सत्रको सुरुआत ब्रिस्बेन इन्टरनेसनलबाट गर्नेछिन् । जुन आगामी ३१ डिसेम्बरबाट हुनेछ । कोन्टासँगै चेक गणराज्यकी बारबोरा स्ट्राइकोवाले पनि आफ्नो नयाँ प्रशिक्षक नियुक्त गरेकी छन् ।
बारबोराले आफ्नै देशको डेबिड कोटिजालाई नयाँ प्रशिक्षकको रूपमा रोजेकी छन् । बारबोराले गत अक्टोबरमा लिन्ज ओपनको उपाधि जितेकी थिइन् । उनी यसअघि प्रशिक्षक टमस क्रुपबाट अलग भएकी थिइन् । ३१ वर्षिया चेककी खेलाडी बारबोराले अकल्यान्ड क्लासिकबाट आफ्नो नयाँ सिजनको सुरुआत गर्नेछिन् ।
प्रतिक्रिया