गठन र पुनर्गठनको चक्करमा संघहरू

काठमाडौं, २८ वैशाख । २०४६ सालमा स्थापना भएको नेपाल कराते महासंघले अहिलेसम्म निर्वाचित कार्यसमिति पाएको छैन । स्थापनाको १० वर्षसम्म एउटै समितिको अपरिवर्तित नेतृत्वमा चलेको यो संघ त्यसयताका १२ वर्षमा अहिलेसम्म चारपटक पुनगर्ठन भएको छ ।
२०३३ सालमा स्थापना भएको नेपाल बक्सिङ संघमा लगातार २३ वर्षसम्म निर्वाचन भएन । धेरै वर्षपश्चात् २०५६ सालमा पुर्नगठन भएको बक्सिङ संघ त्यसपछि पनि दुईपटक पुनर्गठन भयो र यसले २०६४ सालमा आएर मात्र निर्वाचित कार्यसमिति पायो । २००८ सालमा स्थापना भएको नेपाल टेबलटेनिस संघ २०४६ सालसम्म स्थापनाकालकै तदर्थ समितिमा चल्यो । एकैपटक २०५४ सालमा पुनगर्ठन भएको टेबलटेनिस संघ त्यसको ६ वर्षपछि पनि पुनगर्ठन भयो र २०६४ सालमा आएर मात्र निर्वाचित कार्यसमिति पायो ।
यी त संघको नेतृत्वमा आएपछि हुने मनपरीका केही नमुना मात्र हुन् जसले व्यवस्थापनदेखि लिएर समग्र खेलक्षेत्रलाई नै प्रभावित बनाउने गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको लामो समयसम्म पनि निर्वाचन नगर्नु, पुनगर्ठनको स्थितिमा पुग्नु र निर्वाचित भएर पनि समय–समयमा पुनगर्ठन हुनु प्राय: नेपाली खेल संघहरूको नियती बनाइने गरेको छ ।
२०१३ सालमा स्थापना भएको नेपाल लनटेनिस संघ २०६४ सालमा पहिलोपटक निर्वाचनमा जानुअघि दुईपटक पुनगर्ठन हुनुपर्‍यो । २०३४ सालमा स्थापना भएको नेपाल कबड्डी संघले पनि २०६८ सालमा मात्र निर्वाचित कार्यसमिति पायो । यसअघि यो संघ पनि दुईपटक पुनगर्ठन हुनुपर्‍यो ।
२००७ सालमा स्थापना भएको नेपाल ब्याडमिन्टन संघ २०६१ सालमा पहिलोपटक निर्वाचनमा जानुअघि दुईपटक पुनगर्ठन भयो र पहिलोपटक निर्वाचन भएको दुई वर्षपछि नै फेरि पुनगर्ठन हुन पुग्यो । २००४ सालमा स्थापना भएको नेपाल क्रिकेट संघ पहिलोपटक गत वर्ष निर्वाचनमा जानुअघि पाँचपटक पुनगर्ठन भएको थियो ।
२०३३ सालमा स्थापना भएको नेपाल भलिभल संघले २०५४ सालमा मात्र निर्वाचन गर्‍यो र फेरि लामो समय निर्वाचन नगरेपछि २०६२ सालमा पुनगर्ठन भयो तर २०४४ सालमा स्थापना भएको नेपाल आर्चरी संघ एक वर्षपछि नै विघटन भयो र एकैपटक २०६० सालमा आएर पुनगर्ठन भयो । यसपछि भने यस संघले नियमित रूपमा निर्वाचन गर्दै आइरहेको छ । २०४४ सालमै स्थापना भएको नेपाल कुस्ती संघले पनि गत वर्ष मात्र निर्वाचित कार्यसमिति पायो । लामो समयसम्म निर्वाचन नगरेपछि २०५६ सालमा पुनगर्ठन भएको कुस्ती संघ निर्वाचित कार्यसमिति आउनुअघि थप दुईपटक पुनगर्ठन भयो ।
२०४६ सालमा स्थापना भएको नेपाल उसु संघले पनि गत वर्ष मात्र निर्वाचित कार्यसमिति पायो । २०५६ सालमा पुनगर्ठन भएको यो संघ त्यसपछि पनि दुईपटक पुनगर्ठन भयो । २०४६ सालमा स्थापना भएको नेपाल तेक्वान्दो संघ २०६६ सालमा मात्र पहिलोपटक निर्वाचनमा गयो । २०४६ सालमै स्थापना भएको नेपाल बास्केटबल संघ २०६४ सालमा पहिलोपटक निर्वाचनमा जानुअघि दुईपटक पुनगर्ठन भयो । २०३७ सालमा स्थापना भएको नेपाल भारोत्तोलन संघले गत वर्ष मात्र निर्वाचित कार्यसमिति पायो । यसअघि यो संघ दुईपटक पुनगर्ठन भयो ।
२०३७ सालमा स्थापना भएको नेपाल जिम्न्यास्टिक संघले ३० वर्षपछि मात्र निर्वाचित कार्यसमिति पायो । त्यसबीचमा चारपटक पुनगर्ठन भयो । २०३८ सालमा स्थापना भएको नेपाल हयान्डबल संघले गत वर्ष मात्र पहिलो निर्वाचित कार्यसमिति पायो । यसबीचमा यो संघ चारपटक पुनगर्ठन भयो । २०४० सालमा स्थापना भएको नेपाल जुडो संघले २४ वर्षपछि पहिलो निर्वाचित कार्यसमिति पाउनुअघि दुईपटक पुनगर्ठन भयो । २०४० सालमा स्थापना भएको नेपाल गोल्फ संघले २०६५ सालमा मात्र निर्वाचित कार्यसमिति पायो ।
२०४८ सालमा स्थापना भएको नेपाल बुद्धिचाल संघ २०६४ सालमा पहिलो निर्वाचित कार्यसमिति पाउनुअघि चारपटक पुनगर्ठन भयो । २०५२ सालमा स्थापना भएको नेपाल साइक्लिङ संघ १० वर्षपछि मात्र निर्वाचनमा गएको थियो । त्यसबीचमा यो संघ दुईपटक पुनगर्ठन भयो । यी त नाम चलेका संघ मात्र हुन् जसको हविगत यस्तो छ । पुनर्गठन वा विघटनका नाममा संघहरू तदर्थवादमा चलिरहेका छन् जबकि विघटन वा पुनगठर्नपछि आउने तदर्थ समितिले बढीमा ६० दिनभित्र निर्वाचनमा जानुपर्ने प्रचलन छ ।
त्यस्तै राखेपमा दर्ता भएको एक वर्षभित्र नै निर्वाचनमा जानुपर्ने व्यवस्था छ तर कानुनत: यस्तो व्यवस्था नभएको राखेप कर्मचारी बताउँछन् । ‘कति समयभित्र निर्वाचन गर्नुपर्ने भनेर नियममा स्पष्ट उल्लेख छैन,’ संघ–संस्था शाखाका अधिकृत टेकबहादुर कट्टेल भन्छन् । राखेप बोर्डको ‘इच्छा’ मा संघहरू देखिएका छन् । यसको पछिल्लो उदाहरणको रूपमा भरखरै पुनगर्ठन भएका संघहरूलाई हेर्न सकिन्छ । २०६६ सालमा दर्ता भएको नेपाल इक्वेस्ट्रियन संघ गत साता मात्र पुनगर्ठन भयो । यो संघ राखेप सदस्य–सचिव युवराज लामाको अध्यक्षतामा पुनगर्ठन भएको हो । त्यस्तै मंगलबार मात्र नेपाल र्‍याफटिङ एन्ड क्यानोइङ संघ राखेप सदस्य मनप्रसाद न्यौपानेको अध्यक्षतामा पुनगर्ठन भएको छ । २०४४ सालमा स्थापना भएको यो संघको अहिलेसम्म निर्वाचन भएको छैन ।
यी संघहरूको निर्वाचन कहिले हुने हो ? यो प्रश्नको जवाफ सायद राखेपसँग छैन किनभने २०५२ सालमा स्थापना भएको रग्बी संघ, २०६० सालमा स्थापना भएको बोलिङ संघ, २०६२ सालमा स्थापना भएको रेन्वुकाईलगायत थप केही अन्य संघ विघटन तथा पुनगर्ठन हुँदै हालसम्म निर्वाचित कार्यसमितिविहीन नै छन् ।

प्रतिक्रिया