‘जननेता’को उपाधिद्वारा सम्मानित एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २३औँ स्मृति दिवस (३ जेठमा) एमालेले हरेक वर्ष मनाउँदै आएको छ । पार्टी कामको सिलसिलामा ०५० साल ३ जेठमा चितवनको दासढुंगामा सडक दुर्घटनामा परी नेताद्वयको दुःखद् निधन भएको थियो । पार्टीका लागि आफ्नो जीवन नै समर्पण गरेका उनीहरूप्रति पार्टीका कार्यकर्ता र शुभचिन्तकहरू कृतज्ञ छन् । त्यसैले हरेक वर्ष सोही दिन (३ जेठमा) विविध रचनात्मक कार्यहरू गरी उनीहरूलाई स्मरण गर्ने गरिन्छ । जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीले एमालेलाई राष्ट्रिय राजनीतिको शीर्ष स्थानमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी भाषण–कलामा अत्यन्तै निपूर्ण थिए र आफ्नो विचारलाई जनतामाझ सम्प्रेषण गर्न निकै कुशल मानिन्थे । यसैगरी, संगठन विभाग प्रमुख जीवराज आश्रितको संगठन कुशलताको पनि पार्टी पंक्तिमा निकै प्रशंसा गर्ने गरिन्थ्यो ।
यो २३ वर्षको काण्डमा एमालेले सरकारको नेतृत्व गर्ने मौका धेरैपटक पायो र अहिले पनि एमालेकै नेतृत्वको सरकार छ । तर, जनताको बहुदलीय जनवादले देखाएका सपनाहरू साकार पार्न एमाले सरकार अपेक्षित मात्रामा सफल भएको मानिदैन । यस्तो अवस्थामा स्वर्गीय नेताद्वयको अभावलाई पार्टी र शुभचिन्तकहरूले समेत स्मरण गर्ने गर्दछन् । अहिलेको पार्टी नेतृत्व सुविधाभोगी भएको तथा देश र जनताको सेवा गर्नुभन्दा पनि आफू र आफ्नो परिवार तथा आसेपासेको आर्थिक विकासमा चिन्तित रहेको देखिन्छ । अर्को शब्दमा भन्नुपर्दा वर्तमानको एमाले नेतृत्व पुष्पलाल, मनमोहन र मदन भण्डारीको तस्बिर मात्र पार्टी कार्यालयमा झुन्डाएर र उनीहरूको गौरवपूर्ण नामको बैसाखी टेकेर राजनीति गर्दैछन् भन्न त्यति अनुपयुक्त नहोला । एमालेभित्र विकृतिका रूपमा फैलिएको गुटबन्दीको राजनीति पनि आफैँमा आलोच्य रहिआएको छ । नेता–कार्यकर्ता यसरी गुटबन्दीमा विभाजित भएपछि मदन भण्डारीले सूत्रपात गरेको जनताको बहुदलीय जनवादले साकार रूप लिन पाएन र यो परिस्कृत पनि हुन पाएन ।
स्वर्गीय नेताद्वयलाई एमालेले पितृको श्राद्ध गरेजस्तो परम्परा र शैलीमा मात्र स्मरण गरेको देखिन्छ । यो उनीहरूप्रतिको ठूलो अन्याय हो । वर्षमा एक दिन सम्झने र अरू दिन बिर्सने हो भने एमाले अझ बढी क्षयीकृत हुनेछ । कांग्रेसले ६ दशकभन्दा बढी समयसम्म बीपीको सपना भजाएर आफ्नो राजनीतिलाई पुनर्जिवित गरेजस्तै एमालेले आफ्ना दिवंगत नेताहरूको नाम भजाएर मात्र राजनीति गरिरह्यो भने यो उसकै लागि दुर्भाग्यपूर्ण हुनेछ । समयले लामो फड्को मारिसक्दा पनि एमालेले आफूलाई आमजनतामाझ अपेक्षित रूपमा विस्तारित गर्न सकेको छैन । गुटबन्दीको राजनीतिले एमालेमा पु¥याएको क्षतिको समीक्षा गरेर पार्टीलाई एक सूत्रमा आबद्ध गर्न सक्यो भनेमात्र स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितप्रति एमालेको सच्चा श्रद्धाञ्जली ठहरिनेछ । अन्यथा, हरेक वर्षको ३ जेठमा एमालेले गर्ने जुनसुकै कार्यक्रमलाई पितृश्राद्धभन्दा ठूलो काम गरेको ठहरिने छैन ।
प्रतिक्रिया