लेस्टर उपाधि नजिक

लन्डन । इंग्लिस प्रिमियर लिगको उपाधि दाबेदारीमा टोटनह्यामलाई झड्का लागेको छ । सोमबार राती भएको खेलमा दोस्रो स्थानको टोटनह्याम वेस्ट ब्रोमसँग १–१ को बराबरीमा रोकिएपछि उपाधि दाबेदारी कमजोर बन्यो । पहिलो हाफमा नै गोलको अग्रता लिएको टोटनह्यामले अग्रता जोगाउन नसक्दा उपाधि होड कमजोर बन्यो ।

खेलको ३३औँ मिनेटमा वेस्ट ब्रोमका क्रेग डबसनले आत्मघाती गोल गर्दै टोटनह्यामलाई सुरुआती अग्रता दिए । त्यससँगै पहिलो हाफमा टोटनह्याम १–० ले अगाडि रह्यो । तर, दोस्रो हाफमा ब्रोमले गोल फर्कायो ।

ब्रोमका लागि ७३औँ मिनेटमा डबसनले बराबरी गोल फर्काए । बाँकी समयमा थप गोल हुन नसकेपछि खेल बराबरीमा टुंगियो । टोटनह्यामले बराबरीपछि शीर्ष स्थानको लेस्टर सिटीसँगको अंक दुरी ५ मा छोट्याउने मौका गुमाएको छ । लिगका ३ खेल बाँकी हुँदा टोटनह्यामको ६९ अंक छ । शीर्ष स्थानको लेस्टरको ७६ अंक छ । टोटनह्यामलाई बराबरीमा रोकेको वेस्ट ब्रोम ३५ खेलबाट ४१ अंकसहित १३औँ स्थानमा छ । लेस्टर सिटीले १ खेल मात्रै जिते पनि उपाधि पक्का गर्नेछ । (एजेन्सी)

प्रतिक्रिया