नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा महारानी एलिजावेथको प्रतिनिधिकोरूपमा नेपाल आएका राजकुमार ह्यारी यतिखेर नेपालमा मात्र होइन संसारभर चर्चामा छन् । बेलायत र नेपालबीचको सम्बन्धको कारण उनको नेपाल भ्रमण चर्चामा रहेको होइन । उनको व्यक्तिगत स्वभाव, शैली र मनका कारण चर्चा भएको हो । उनको ५ दिने औपचारिक भ्रमण सकिएपछि पनि थप ६ दिन लम्ब्याएकाले उनको चर्चा सुरु भएको हो । हुन त औपचारिक भ्रमणका क्रममा पनि उनको सरलता, नम्रता र नेपालीलाई हेर्ने दृष्टिकोणले नेपाली मुग्ध भइसकेका थिए । भ्रमण थपेर उनले गरेका कार्यले नेपाली उच्च वर्गीय तह होस् वा संसारका उच्च वर्गीय तप्का सबैलाई ह्यारी मानवताका उदाहरण बनेका छन् । गत १२ वैशाखमा गएको भूकम्पले क्षति पु¥याएको विद्यालयमा गएर पुनर्निर्माणका लागि शारीरिक श्रमदान गर्नु ह्यारीले देखाएको असाधारण मानवताको अहिले संसार मुकदर्शक बनेको छ ।
औपचारिक भ्रमणका बेला नेपालको प्राकृतिक सुन्दरताको रसस्वादन गरेका ह्यारीले नेपाल बसाइ लम्ब्याएको बताउँदा धेरैलाई लागेको हुनसक्छ उनी यही सुन्दरतामा लोभिए । अब उनले हिमाली भेगको पदयात्रा गर्नेछन् वा उनकै हजुरबुबा, जिजुबुबाको सिको गर्दै घनाजंगलमा सिकार खेल्न जानेछन् । तर, उनले सबैलाई चकित पार्दै भूकम्पले क्षति पु¥याएको विद्यालयको पुनर्निर्माणमा श्रमदान गर्ने इच्छा राखे । एक बेलायती संस्थाले गरिरहेको सो काममा होस्टेमा हैँसे थप्न उनी गोरखा पुगे । उनको पछि चियो गर्दै पुगेका पत्रकार त्यतिबेला चकित भए जब उनीहरूले राजकुमारलाई अन्य ज्यामीसँगै ढुंगा र माटो बोकिरहेको देखे । गोरखाको दुर्गम गाउँ जहाँ मोटर राम्रोसँग चल्दैन । त्यस्तो ठाउँमा पाँच तारे त के शून्य तारे होटल पनि छैन । त्यस्तो गाउँमा बेलायतजस्तो वैभवशाली देशका राजकुमार साधारण ज्यामीका रूपमा विद्यालय पुनर्निर्माणका लागि श्रमदान गरिरहेका छन् । भारतको एउटा घटना संसारभर आश्चर्यको उदाहरण छ । भारत एकीकरणका बेला लखनउमा अंग्रेजले आक्रमण गर्दा जुत्ता लगाइदिने सुसारे नहुँदा नबाबले ज्यान गुमाएका थिए । जुत्ता लगाइदिने सुसारे नभएकाले उनले भाग्न पाएनन् र मारिनु प¥यो । राजकुमार ह्यारीको वैभव लखनउका नबाबभन्दा कम छैन । तर, उनी कहिले आफैँ बन्दुक बोकेर गोर्खा सैनिकसँग काँधमाकाँध मिलाउँदै युद्ध मैदानमा खटिन्छन् त कहिले विद्यालय बनाउन मरिकुच्चे ढुंगा, माटो बोक्न कस्सिन्छन् ।
हाम्रोमा त कलिकता धन भएपछि पैदल हिँडनु, आफैँले खाना पकाउनु वा अन्य काम गर्दा इज्जत जाने प्रचलन छ । धेरैजसो नवधनाढ्य श्रम भनेको खान नपुग्नेले गर्ने काम ठान्दछन् । अन्य देशमा पनि हाम्रोभन्दा केही फरक पाइँदैन । श्रमलाई सम्मान र पूजा गर्नुपर्छ भनेर भाषण गर्ने नेपालका कम्युनिस्टको नौटंकी पनि देखिएकै हो । गत वैशाखको भूकम्पपछि आपूmलाई कम्युनिस्ट ठान्ने एमाले र एमाओवादीका कार्यकर्ताले पुनर्निर्माणमा श्रमदान गर्ने डंका पिटे । कार्यकर्ताले श्रमदान गर्ने ठाउँमा उद्घाटन गर्न नेताहरू लगिए । कार्यकर्ताले गरेजस्तो देखियो नेताहरू निर्माणसामग्री छोएर मोडलिङ गरे अनि फेसबुकका भित्ता सजाएर महान कार्य गरेको उद्घोष गरेको देखिएकै हो । राजकुमार ह्यारीले नेपालप्रतिको माया मात्र दर्शाएका छैनन्, मानवताको उदाहरण प्रस्तुत गरेका छन् । श्रमको सम्मान गर्ने भाषण मात्र होइन साच्चै श्रम गरेर व्यवहारले देखाएका छन् । यसले ह्यारी संसारका अभिजात्य वर्गका लागि मुखभरिको जवाफ भएका छन् भने संसारकै मानवहरूका लागि मानवताको उदाहरण । यसकारण ह्यारीबाट नेपाली जनता र नेताहरूले त कोचिङ क्लास नै लिन जरुरी छ भने संसारभरका मानवले सिको गर्न आवश्यक छ ।
प्रतिक्रिया