भोजपुरमा टक्सार महोत्सव सुरु

भोजपुर, १ फागुन । भोजपुरको ऐतिहासिक टक्सार बजार स्थापनाको २ सय वर्ष पुगेका अवसरमा ‘द्विशतवार्षिकी टक्सार महोत्सव’को शनिबार उद्घाटन भएको छ । ८ फागुनसम्म हुने सप्ताह व्यापी महोत्सवमा कृषि, हस्तकला प्रदर्शनी, स्वास्थ्य शिविर, इतिहासकारको राष्ट्रिय सम्मेलन, विभिन्न जातजातिको झाँकीसमेत प्रदर्शनी गरिने कार्यक्रम रहेको छ ।

इतिहासमा नेपाललाई चाहिने आवश्यक पैसा बनाउने ठाउँ भनेर चर्चित टक्सार बजार बसाइँसराइको कारण सुनसान बन्दै गएको छ भने टक्सारमा रहेका ऐतिहासिक महत्वका वस्तु तथा धरोहर जीर्ण बन्दै गएको छ । टक्सारमा रहेका देवस्थल, मठमन्दिर, पाटीपौवा, चैत्य, गुम्बा, बौद्ध विहारसहित विभिन्न पुरातात्विक सम्पदा संकटमा परेका छन् भने कतिपय भत्किएर लोप भइसकेका छन् । टक्सार बजारमा जन्मिएका कालिगढसमेत अन्यत्र बसाइँ गएपछि अहिले बजारमा अधिकांश खाली घर मात्र देख्न पाइन्छ ।

महोत्सवको आयोजना गरिएसँगै पुराना चैत्य, गुम्बा तथा विहार मर्मत एवं जीर्णोद्धार गरिएको छ । स्थानीय बासिन्दा बसाइँ सरेर गएपछि उजाड बन्दै गइरहेको टक्सार बजारलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न महोत्सवको आयोजना गरिएको द्विशतवार्षिकी टक्सार महोत्सवका अध्यक्ष गणेश वज्राचार्यले बताए ।

प्रतिक्रिया