कराते विवाद समाधानको बाटोमा

karate-mahanagaकाठमाडौं, १२ साउन । विश्व कराते महासंघ(डब्लुकेएफ)बाट मान्यता प्राप्त नेपाल कराते महासंघप्रति नेपाल ओलम्पिक कमिटीको ऐकबद्धता कायम रहेको छ । सोमबार महासंघको विशेष साधारणसभाले पुरेन्द्रविक्रम लाखेलाई नेपाल ओलम्पिक कमिटीको निर्वाचनका लागि प्रतिनिधिसमेत तोकेको छ । ओलम्पिक कमिटीका अधीकारीहरूको उपस्थिति रहेको थियो । ओलम्पिक कमिटीको निर्वाचन सेप्टेम्बरमा हुँदै छ ।

साधारणसभापछि महासंघ अध्यक्ष लाखेले नेपाल कराते महासंघको निर्वाचन एक वर्ष भित्रमा हुने तथा राष्ट्रिय खेलकुद परिषद्ले विगतमा गरेको विघटनको निर्णय अमान्य ठहर गर्नेमा अडिग रहेको बताए । त्यस्तै महासंघको निर्वाचन एक वर्षभित्र गर्ने तथा भारतमा हुने १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा करातेलाई सहभागी गराउने सम्बन्ध पहल गर्ने निर्णय भएको महासंघका महासचिव केदारबाबु सिवाकोटीले जनाएका छन् ।
नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध कराते महासंघका अधिकारीलाई पनि समेटेर निर्वाचन हुने र यो नै सबैभन्दा उपयुक्त बाटो भएको बताएका छन् । उनी भन्छन्, ‘उपयुक्त बाटो भनेको लाखे नेतृत्वले अर्को पक्षलाई समट्दै निवार्चन गर्ने नै हो ।’ चार वर्षअघि राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव युवराज लामाले लाखे नेतृत्वमा कराते महासंघ विघटन गर्दै दावा गुरुङको अध्यक्षतामा महासंघ गठन गरेपछि नेपालमा करातेको द्वैध अस्तित्व देखिएको हो ।
त्यसपछि राष्ट्रिय स्तरमा गुरुङ नेतृत्वको महासंघले गतिबिधि सञ्चालन गर्दै आएको छ भने अन्तर्राष्ट्रिय स्तरमा लाखे नेतृत्वको पहलमा नेपालको सहभागिता रहँदै आएको छ । यसको असर गर्त वर्ष भएको इन्चोन एसियाडमा पनि देखिएको थियो । इन्चोनको भूमिमा नेपाली करातेको विवाद छताछुल्ल हँुदा लाखे नेतृत्वको पहलमा सहभागिता जनाएकी विमला तामाङले काश्य पदक जितेकी थिइन् । इन्चोनमा नेपालले जितेको त्यो नै एक मात्र पदक थियो ।
दक्षिण एसियाली च्याम्पियनसिप र एसियाली च्याम्पियनसिपमा लाखे नेतृत्वको महासंघको तर्पmबाट नै खेलाडीको सहभागिता रहँदै आएको थियो । यसैगरी, एकेएफ रेफ्रीको ठूलो समूह लाखे नेतृत्वको महासंघको पक्षमा रहेको थियो । एसियाडपछि बालाजु कराते एकडेमीका प्रमुख रहेका ध्रुवविक्रम मल्ललगायतको समूहले १७ राष्ट्रिय संघ, प्राविधिक समिति र रेफ्री प्यानलको प्रतिनिधि हुने तथा डब्लुकेएफ र एसियाली कराते महासंघ ( एकेएफ)को रोहबरमा निर्वाचन हुनु एक मात्र समस्याको समाधान भएको बताउँदै आएका थिए ।
यसैबीच, लामा पदावधि सकिएपछि करातेको विवाद कता मोडिने भन्ने चर्चा धेरै तिर चल्दै आएको थियो । साथै मंसिरमा पूर्वाञ्चलमा हुने साताँ राष्ट्रिय खेलकुदको जिम्मेवारी लाखे नेतृत्व या गुरुङ नेतृत्व कसलाई दिने ? भन्ने बहस पनि चलिरहेको समयमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्ट आपू सबै खेलको विवाद मिलाउने योजना भएका कारण राष्ट्रिय खेलकुदभन्दा अघि नै विवाद समाधान गराइसक्ने विश्वास भएको बताउँछन् । ‘मलाई विश्वास छ विवाद समाधान हुन्छ । भएन भने त्यस समयमा उपयुक्त निर्णय गरिनेछ ।’

प्रतिक्रिया