विपत् पछिको समृद्धि

ram-gurungवैशाख १२ र २९ को भूकम्प र यसपछिका पराकम्पनले पु¥याएको जनधन क्षतिले जति पोलेको छ त्योभन्दा बढी समाज, अर्थतन्त्र, राजनीति तथा अन्य आयामको अनिश्चित, असुरक्षित भविष्यले सबै जातजाति, समुदाय, लिंग, वर्ग र क्षेत्रलाई पिरोलेको छ । ऐतिहासिक वस्तुगत आधार नदेखिए पनि नेपालको समग्र विकास प्रक्रिया दुई दशकपछि धकेलिएको निष्कर्ष निकालिएका छन् ।
तथ्यांकले साढे आठ हजारभन्दा बढी जन, पाँच लाखभन्दा बढी घर र अर्बौंं धनमाल क्षति भएको जनाएको छ । तथापि यसको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक लगायतमाथिको असर एवं प्रभावको पहिचान भइसकेको छैन । आर्थिक वा राजनीतिक आयाममाथिको चर्चा सबैभन्दा बलियो देखिन्छ ।
भूकम्प सीधा परिवारमाथि आइलागेको छ । भत्किएका घर, मृतक पारिवारिक सदस्य र आफन्त, नष्ट भएका खाद्यान्न, प्रयोग गर्न नमिल्ने भाँडाकुँडा, कृषि आयआर्जनका महत्वपूर्ण अंग पशुचौपायाको क्षति, गुमेको व्यवसाय, देखेभोगेका कहालीपूर्ण दृश्य व्यहोर्ने खासमा परिवार नै हुन् । यस्तो क्षति वा नोक्सानीले राज्य, राजनीतिक दल, नागरिक समाज, सरकारी गैरसरकारी संघसंस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय समूह–समुदायलाई जोडिदिएको छ ।
विपत्जन्य भौतिक अभौतिक संरचनात्मक क्षतिको पीडा निको हुँदैछ । जसलाई भूकम्पअघिको जस्तै घर, विद्यालय, स्वास्थ्यचौकी, अस्पताल वा अन्य भौतिक संरचनाको सुरक्षित प्रविधियुक्त विकल्पको खोजीले थप गतिशील बनाएको छ । भवन निर्माणको शैली, बस्तीको बनावट, सेवा सुविधाको सहज र सरल वितरण तरिकाको फरक बाटोको खोजी नै खासमा अहिले भोग्दै र व्यहोर्दै गरेको समाज, अर्थतन्त्र अनि राजनीतिमा हुने समृद्धिको आधार हो । जो परिवार, राज्य, सरकार, राजनीतिक दल, नेता तथा कार्यकर्ताबीच सहभागितात्मक छलफलमा सम्भव छ ।
मानिसको उन्नति, प्रगति, समृद्धि वा अवनति, दुर्गतिको लेखाजोखा, ऐतिहासिक अनुभवको वस्तुगत ज्ञान र विश्लेषणले गर्ने हो । महाभूकम्प वा अन्य विपत्तिजन्य क्षति, नोक्सानी कदापि हितकर होइन । तर, अकाट्य, अत्याज्य र अवश्यम्भावी प्राकृतिक क्षति, नोक्सानीनिहित समृद्धिको गर्भ अन्दाज गर्न पनि मिल्दैन । समाजशास्त्री अगस्ट कोम्टले पुरानो सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक वा अन्य प्रणालीको नाशले, नयाँ प्रणालीको सिर्जना गर्दछ भनेजस्तै भूकम्पजन्य क्षतिलाई अवसर र चुनौतीका रूपमा लिनुपर्छ । विपत्ति संस्मरणको अल्झनले सम्भावित समृद्धि रोक्नेछ ।
विपत्तिपछि निश्चित कालखण्ड, मुख्यगरी सामाजिक, आर्थिक प्रणाली र भोगचलनको अवस्था अत्यासलाग्दो हुन्छ । हो, यही अत्यासबाट पार लिन खोज्दा नै समृद्धिजन्य प्रणाली र मूल्यमान्यताको निर्माण हुने हो । विचार विमर्शमा आउनुपर्ने कुरा के छ भने, यही विपत्तिको अनुभवले नै नयाँ र समृद्ध समाज, अर्थतन्त्र वा राजनीतिको निर्माणार्र्थ अवसर दिएको छ । तर, तटस्थ दलीय राजनीतिबिना यो सम्भव छैन । एमाले, कांग्रेस, माओवादीको एकात्मक दलीय प्रभुत्वको रागले यसलाई निरर्थक बनाउनेछ । विपत्तिजन्य क्षतिलाई अप्ठ्यारो विगत र सहज भविष्य निर्माणको आधार भनेर बुझ्न जरुरी देखिन्छ ।
विगतका अप्ठ्यारा वा कठिनाइले नै समाजको भविष्य निर्धारण गर्ने हो । यसलाई हाम्रो सन्दर्भमा जोड्दा, विपत्तिबाट जोगिन विनाश भएको भन्दा उत्कृष्ट वा सुरक्षित भौतिक संरचना– घर, विद्यालय, सडक, कुलो निर्माण गर्न, सोच्न, बहस गर्न, नीति निर्माण गर्न, पीडा व्यहोरेरै सही, भूकम्पीय क्षतिले उत्प्रेरित एवं बाध्य बनाएको छ ।
मानिस जहिले सहज, सौहाद्र्र, मित्रवत् वा घनिष्ट परिस्थितिको चाहनामा हुन्छ । तर, प्राकृतिक अवस्थाले यसलाई असहज बनाइदिन्छ । यसर्थ पनि अत्तालिएका जनसाधारणले विकास प्रक्रिया धकेलिएको, वर्तमान बिथोलिएको, टुटेको पाउनु ऐतिहासिक प्रक्रियामा स्वाभाविक हो । तर समाज, अर्थतन्त्र र राजनीति प्रकृतिनिर्भर सत्य हो । विपत्तिजन्य क्षतिलाई कम गर्न सकिए पनि टार्न सकिँदैन । यसैले वर्तमानको क्षतिले नै अकाट्य सामाजिक तथा अर्थराजनीतिको आगत निर्माण गर्ने यथार्थलाई स्वीकार्नुको विकल्प छैन ।
जनसाधारण विगतलाई बिर्सिएर आगत निर्माणमा जुटेका छन् । खासगरी सहरमा निर्माण भइसकेका घरका तला भत्काउन घरधनी स्वयंबाट नगरपालिका तथा महानगरपालिकामा दिइएको निवेदन, प्राविधिक मापदण्डविपरीत बनेका अनि बन्दै गरेका छिमेकीको घर तथा भवन भत्काउन, निर्माण रोक्न परेका निवेदन र सरकारले दुई तलामाथि घर नबनाउन जारी गरेको निर्देशन यसका उदाहरण हुन् ।
जबसम्म प्राविधिक पक्षको उचित प्रयोग हुँदैन तबसम्म सामाजिक परिवर्तन काँचो, अधुरो वा अपुरो रहन्छ । हामीकहाँ भएका अपरिपक्व र बेइमानपूर्ण प्राविधिक प्रयोगले नै घर तथा भवन भत्किएका हुन् । जनधनको क्षति भएको हो । यो नागरिक अचेतना र राज्य संयन्त्रको अदूरदर्शिताका नतिजा र सबैलाई आहत बनाउने कारण हो । यसले प्राविधिक पक्षको महत्व, प्रयोगको इमानदारी, सुरक्षित उपभोग शैलीलाई थप महत्वपूर्ण बनाइदिएको छ ।
सबैले भूकम्पीय क्षतिको प्राविधिक सम्बन्ध र यसको सामाजिक, आर्थिक वा राजनीतिक असर र प्रभावलाई बुझ्न पाएका छन् । समाजशास्त्री तोत्र्सन वेब्लनले भनेजस्तै समाजले भोगेका वा सिर्जिएका प्राविधिक विकासले नै कुनै पनि समाजको अर्थतन्त्र, राजनीतिको निर्माण र रूपान्तरण गर्ने हो । त्यसैले भूकम्पीय क्षतिले प्राविधिक विकास र सही प्रयोगलाई कर गरेको देखिन्छ । मानवीय भौतिक सुरक्षा र समृद्धिमा भौतिक संरचनामा हुने वस्तुगत इन्जिनियरिङ महत्वलाई थप गहन बनाएको छ ।
प्राकृतिक विपत्तिजन्य हानी नोक्सानीले भोगचलन खाइपाइ आएको अवस्था खल्बल्याउने हो । यस्तो अवस्थामा प्रयोगमा रहेका प्रविधि र शैली नाकाम बन्ने हुँदा नयाँ घर, आयआर्जनका स्रोत, सामाजिक तथा अर्थराजनीतिक सम्बन्ध बनाउनुपर्ने बाध्यता र प्रणालीको विकास गराउँदै छ । यसले घर निर्माणको परम्परागत शैली र आवश्यकताको दायरामा भूकम्प प्रतिरोधक र सस्तो नयाँ घरको समृद्ध विकल्प दिएको छ । जो समृद्ध समाज निर्माण र संस्थागत गर्नमा महत्वपूर्ण ठहर्नेछ ।
समाजशास्त्री रोवर्ट इर्जा पार्क कुनै पनि प्राकृतिक विपत्तिजन्य सामाजिक समस्याले सामाजिक सम्बन्ध र अभियानलाई बलियो बनाउँछ भन्छन् । यसरी हेर्दा आर्थिक पुनर्निर्माणमा हुने अकाट्य समृद्धिले राज्य, समाज, परिवार, राजनीतिक दल वा समग्र नागरिकलाई एक ठाउँ ल्याएको छ । घरवाला र डेरावाला, ब्राह्मण र दलित, तराई र पहाडबीच मेटिँदै गरेको विविध सम्बन्ध पुनर्निर्माण र नवीकरण गरिदिएको छ । छिमेकीबीच फस्टाउँदै गरेको किनबेचका सम्बन्धमा पुनः पारस्परिकता ब्युँतिएको छ ।
झट्ट हेर्दा र बुझ्दा भूकम्पीय क्षति जमीन वा जमीननिहित संरचना भत्केका घर, घाइते वा मृत मानिस÷पशुचौपाया, ध्वंश उद्योग वा पूर्वाधारसँग जोडिएका छन् । जो सामान्य बुझाइ र विश्लेषणमा सबै सम्भावना सकिएको र सर्वस्व क्षति ठानिएको छ । राजनीति, अर्थशास्त्र, समाजशास्त्र, वास्तुशास्त्र, कला, साहित्य र मनोविज्ञानको महत्व ख्याल गरिएको छैन । जसले समृद्धिका अकाट्य अन्य पक्षलाई उद्घाटित गर्दछ । ऐतिहासिक भूकम्पीय विनाशले नेपाली समाज, राजनीति, अर्थतन्त्र, परिवार, धर्म, शिक्षा, स्वास्थ्यनिहित समृद्धिको ‘भूकम्पअघि र भूकम्पपछि’ को बहसलाई वस्तुगत बनाएको छ ।
हामीले समाज, अर्थतन्त्रको रूपान्तरण र परिवर्तनमा खोजिने समृद्धिमा व्यक्ति तथा समूहलाई जिम्मेवार ठहर्दै भाग्यमा अड्याइदिएका छौँ । उल्लिखित आयामको समृद्ध सम्बन्धलाई नेता अनि नेतृत्वसँग जोडिदिएका छौँ । जसले राज्य, समुदाय र परिवारभन्दा माथि नेता र नेतृत्वको गैरजवाफदेहिता तथा गैरजिम्मेवारितालाई स्वाभाविक बनाइदियो । तर, संविधान निर्माण विवाद र खिचातानीमा अल्झिएका दलका नेताबीचको विपत्तिले दलीय कार्यगत एकताको महत्व सुझाइदिएकोे छ । राष्ट्रिय सरकार आवश्यकताको अन्तरदलीय बहस सुरु गराएको छ । नेपाली राजनीति पुनर्निर्माण र संरचनात्मक रूपान्तरणतिर मुखरित भएको छ । जो समृद्ध समाज, राजनीति, अर्थतन्त्र र संस्कृतिका प्राथमिक शर्त हुन् ।
राहतजस्तै उस्तै–त्यस्तै अभियानले विभिन्न राजनीतिक दल, नेता, कार्यकर्ता तहगत राजनीतिक प्रभुत्व निर्माण र विस्तारलाई थप बलियो बनाएको छ । आफ्नो क्षेत्रमा केन्द्रीय वा स्थानीय नेताको अगुवाइमा भएका राहत वितरण यसका दृष्टान्त हुन् । प्रमुख राजनीतिक दलले आफ्ना कार्यकर्तालाई भूकम्प प्रभावित जिल्लामा अस्थायी बास निर्माण गर्न खटाइनुले दल र जनसाधारणबीच सम्बन्ध नवीकरण गर्नेछ ।
समाजको वस्तुगत पुनर्संरचना
ठूला अस्पताल, महत्वपूर्ण प्रशासनिक सेवाक्षेत्र, शिक्षण संस्था, स्थल अनि हवाई यातायातको सुविधा समाजका विभिन्न ईकाइगत वितरण अभ्यास र शैलीको महत्वलाई यसले वस्तुगत बनाइदिएको छ । महत्वपूर्ण सेवाक्षेत्र वा साधनको सहज पहुँच नहुँदाका अप्ठ्यारा र क्षति भोग्न र देख्न सक्ने बनाएको छ । विपत्तिजन्य क्षति जति हृदयविदारक छन् त्यति यही अप्ठ्यारोमा जन्मिएका सुधार वा पुनरावलोकनमा देखिएको सरकारी, दलीय वा नागरिकस्तरको चासो उल्लेख्य छ । यही चासोले बाटो, सडक, घर र भवनको संरचना निर्माणमा हुने कडाइले सामाजिक न्याय र समानतालाई संस्थागत गराउन सक्दछ ।
वस्तुगत धार्मिक परावर्तन
भूकम्पीय विपत्तिले धार्मिक नेता, समूह वा सम्प्रदायलाई राहत वितरणमार्फत वस्तुगत जनहितमा पेस गराएको देखियो । यसले धार्मिक मूल्यमान्यताको यथास्थितिवादमा रूपान्तरण गराउँदैछ । यथास्थितिमा हरेक विपत्ति नराम्रो हो । यसले मानिसलाई थप अप्ठ्यारो र संकटमा धकेल्छ । तर, अप्ठ्यारोमा नवनिर्माण, आविष्कार वा सिर्जनाको खोजी गर्न, पूर्ववत् अवस्थामा फर्किन विभिन्न निकायबाट स्वस्तिशान्ति भएको छ । यसले मानसिक रूपमा टुटेका आत्मविश्वासलाई जगाएको छ ।
प्राकृतिक विपत्तिजन्य क्षतिलाई मानवजीवनका अन्य पक्षजस्तै एउटा महत्वपूर्ण सत्य मानेर चर्चा गर्दा यसले मानिसको जीवनका अर्थतन्त्र, राजनीति, सामाजिक, धार्मिक वा सांस्कृतिक पक्षमाथि पार्ने प्रभावबारे बुझ्न सकिने हो । विपत्तिले जति विनाश गरेको छ त्योभन्दा महत्वपूर्ण निर्माण र सिर्जनाको सम्भावनालाई उद्घाटित गरेको छ । यस्ता विपत्तिसँग जोडिएका विविध पक्षीय सम्बन्धलाई संश्लेषण गरेर विश्लेषण गर्दा मात्र विपत्तिले निम्त्याएको शोक र खोसेको आशालाई शक्ति र सम्भावनामा परिणत गर्ने हो ।
भूकम्प गएको करिब एक महिना बितिसक्दा पनि राज्य, राजनीतिक दल, सरकार, विभिन्न संघसंस्था क्षति वा नोक्सानीको चर्चामा अल्झिएको देखियो । इतिहास दोहोरिन्न भन्ने हेक्का राखिएन । क्षतिको चर्चा वा मूल्यांकनले विगतलाई दुरुस्तै फर्काउन्न । अर्को १२ वैशाख दोहोरिन नदिन तत्काल राज्यले बलियो रूपमा प्रभावकारी कानुन निर्माण गरी कडा रूपमा कार्यान्वयन गर्नुको कुनै विकल्प छैन ।

प्रतिक्रिया