महिना हो पुस । त्यो जमानामा म अलि व्यस्त, कारण चेलाचेलीको सम्मान र समाजको विश्वास । १८ घन्टा व्यस्त, अंग्रेजी, गणित, भूगोल, विज्ञानलगायत सबै विषयको गुरु । प्रवेशिका परीक्षा आएपछि भात खान बिर्सने मान्छे म । बको ध्यान– रिजल्ट राम्रो ल्याउने । पसिना खेर नजाने । जिल्लाले पत्याएको । फागुन १२ गते पुरस्कार थापेँ । विद्यालय सञ्चालक समितिले पुरस्कारसहित तीन ग्रेड थप्यो । ‘आनन्द सर’ मेरो छुट्टै परिचय । ‘म आनन्द सरसित पढ्न पाए मात्र ट्युसन पढ्छु, नत्र…’ विद्यार्थीको माग । यस्तो थियो दिनचर्या । मेरो लागि अमेरिका, जापान, युरोप, अस्ट्रेलिया सबै कल्याण नगर । कल्याण नगरमै मेरो कल्याण ।
‘बास्तोला बुढा सारै भाग्यमानी, यस्तो पो पुत्र !’ गाउँलेको चियागफ ।
भूकम्पले साम्यवाद लागू गरेझैँ रुघाले मलाई पनि छोडेन । ज्वरो आयो । तातो पानी पेलेर सन्चो हुन्थेँ । यसपाली भएन । हत्तपत्त म अस्पताल जान्नँ । औषधि खान्नँ । जीवनमा चार ठाउँ जान नपरोस् भन्छु– अस्पताल, जेल, पुलिस थाना र अदालत । पछिल्ला तीन ठाउँमा आजसम्म जानु परेको छैन नै । ‘ए बा, अटेर नगर्नुहोस्, एक चोटी जानुहोस् अस्पताल’ छोरी पूजाको अनुरोध । ‘तेरो बाउलाई सम्झा !’ उनको गुनासो । परिवार पूरै एकजुट । शनिबार पारेर गएँ म क्लिनिक । भिड । साँझको समय । मलाई हतार छैन । शनिबारको पत्रिका हेर्छु । शारदा शर्मा, विमल निभा, राजेन्द्र विमल, सरुभक्त, नारायण ढकाल, रोशन शेरचन आदिको सिर्जना पढ्छु ।
प्रगतिशील साहित्यका बारेमा निनु र घनश्याम ढकालको गन्थन निरस लाग्छ । म साहित्य जान्दिनँ तर पढ्छु । निषेध र कित्ताकाट मलाई प्रीतिकर लाग्दैन ।
‘आनन्द बास्तोला’ कसैले मेरो नाम लिन्छ । ‘ए… पालो आएछ…।’
पत्रिका टेबलमा छोडेर म डाक्टरको कोठामा प्रवेश गर्छु, ‘मे आइ कम इन ?’ भन्दै । ‘एस, प्लिज ।’ ‘सुदर्शन रिजाल’ डाक्टरको नाम । ‘अरे, उही त होइन ?’
‘होइन होइन, नाम उही कति–कति’ मनमनै । डाक्टरको अनुहार देख्न
पाएको छैन ।
फरक्क फर्किएँ डाक्टर । अरे उही मोरो । चिनेन । अनुहार सपाट । डम्म दाह्री । डाक्टर नभएर दार्शनिक हो जस्तो । अब एकछिन् यसको अन्तर्वार्ता लिन्छु । मूलाले चिनेन । चिनोस् पनि कसरी ? २०३२ सालपछि २०६५ मा भेट भो । मेरो पुरानो फोटो मै चिन्दिनँ ।
‘डाक्टर साहेबको घर ?’ पुलुक्क हे¥यो । यो अप्रत्यासित प्रश्न, सायद । ‘हजुर, म…मेरो घर कल्याण नगर ।’
‘एसएलसी कुन साल ?’
‘२०३२’
‘फस्ट बोई को थियो ?’
‘होइन, हजुर किन मेरो बारेमा यति चासो राख्नुहुन्छ ? हजुर को हो ?’
‘अरे सुसु, तँ यति भुलक्कड ! राम्रोसित हेर, चिन, म को हुँ ?’
‘हे भगवान्, आनन्दे, तँ…’ त्यसपछि उसले कुर्सी छोड्यो । अंकमाल गर्यो । सोफामा बसियो । चिया मगायो । ‘३३ वर्षसम्म कता गुमनाम यार ? किन यस्तो हुलिया ? तँ स्वयं दीर्घरोगी झैँ देखिन्छस् ।’ उसको अनुहारको उज्यालो गायब भयो । लामो सास फेर्यो । ‘भाइ आनन्द, डाक्टरहरूको जिन्दगी वास्तवमा बडो तनावमा हुन्छ । यो देशको ठूला–ठूला डाक्टरहरूको श्रीमती टाप कसेका छन्, त्यो पनि ४०/५० लाख बोकेर । हामी गुरुहरूसित पैसा छैन, अरू छ । डाक्टरसित पैसा छ, अरू छैन ‘एकपटक साहित्यकार दाजु निर्मोही व्यासले भन्नुभएको थियो, ‘कतै…।’
‘आनन्द, आज यो रोगी डाक्टरको उपचार तिमीले गर्नु । फुर्सद छ नि ?’ बोल्न थाल्यो मेरो सेकेन्ड बोई ।
‘पढाइ मेरो पनि कमजोर होइन । तर, तेरो अघाडि म फुच्चे । गणित र अंग्रेजीमा तेरो ९० कट्ने, म ७० तल । यही भएर तँ एक को एक रोल नम्बर, म दुई । मेरो बा अति सानुरागी, बाहुन भएर पनि । बा पनि रहनुभएन, सम्पत्ति पनि खत्तम । मेरो सपना अलि बेग्लै । सहर, महल, कार, मेरो गन्तव्य । तँ मास्टर, म डाक्टर । हो म डाक्टर को खुशी ? को सुखी ? आनन्द, पाँच वर्ष विदेश बसेँ । एउटा खुड्किलो पार भयो । राम्रो प्रमाणपत्र र ज्ञान लिएर स्वदेश आएँ । राजधानीमा नियुक्ति । व्यस्त जिन्दगी । जोडी चाहियो । साहुकै छोरी जुर्यो । राम्री । एमए । तीनतले घर, आठ अंकको बैँक ब्यालेन्स, कार । सपना पूरा भयो । एक महिना हनिमुन– युरोप । संसार रमाइलो लाग्यो । म डुबेँ स्मिताको प्रेममा । सात महिना बित्यो । सात मिनेट जस्तो लाग्यो । एक दिन, त्यो दिन, त्यो कालो दिन, उप्, (पानी पिउँछ) अचानक मेरो टाउको दुख्यो । अस्पतालबाट तीन बजे अपराह्न घर आएँ । गाडी राखेँ । भित्र आफ्नै बेडरुममा पुग्न हतार । तर ढोका बन्द छ । बाहिर नौलो एक जोर जेन्सको जुत्ता । बोलाएँ । बल्ल–बल्ल ढोका खुल्यो । भित्र…
आनन्द छोडेँ मैले राजधानी । त्यो त निम्फो । प्यासी नदी रहिछ । न मार्न सकेँ न मर्न सकेँ । अत्यधिक भौतिक अनुरागको परिणाम थियो त्यो । सहर र दौलतसित घिन लाग्यो, दुर्गममा गएर २० वर्ष सेवा गरेँ । आमाको कारणले यसपाली यहाँ आउन बाध्य भएँ । भन आनन्द, ‘को सुखी ? को खुशी ? केमा छ आनन्द ?’
के भन्ने ? म जिल्ल । आफ्नो रोग बिर्सिएँ । उसले कर्तव्य पूरा ग¥यो । फिस लिने कुरा आएन । औषधि पनि किन्न दिएन ।
‘सुसु, दोस्रो विवाह…?’
‘आनन्द, आमाबाहेक हरेक नारीमा स्मिता देख्न थाले…।
मान्यो सुदर्शनले । दोस्रो बिहे गर्यो एउटी ४२ वर्षे दलित महिलासित । (भरतपुर)
प्रतिक्रिया