असी वर्षको अन्तरालमा आएको विनाशकारी भूकम्पको त्रास, शोक र पीडाबीच आज देश ६० वर्षको राजनीतिक संघर्ष र त्यागपछि प्राप्त गणतन्त्रको आठाँै वार्षिकोत्सव मनाउने क्रममा छ । राजनीतिक परिवर्तनका लागि आन्दोलन हुन थालेको सात दशकसम्म विभिन्न आरोह र अवरोहपछि दोस्रो जनआन्दोलनको बलमा नेपालमा गणतन्त्र स्थापना भयो । आठ वर्षको यो अवधिमा आजकै दिन (जेठ १५ गते) वर्षमा एकपटक विभिन्न खालका कार्यक्रम गर्नेबाहेक अहिलेसम्म गणतन्त्रले नागरिकसामु अन्य तात्विक अन्तरहरू भने दर्ज गर्न सकेको देखिँदैन । सरकारी वेतनभोगी कर्मचारीले एक दिन सार्वजनिक बिदा पाउने र सरकारी सेवा प्रवेशको व्यग्र इच्छा राख्नेहरूलाई गणतन्त्र दिवस कहिले पर्छ भन्ने सामान्य ज्ञानको प्रश्न आउन सक्ने सम्भावनाबाहेक अन्य प्रकारका आमनागरिकका लागि भने यो दिनले कुनै महत्वकांक्षी र ठोस सपना देखाउन सकेन, आशाहरूलाई व्यवहारमा उतार्न सकेन ।
राजनीतिक परिवर्तन र संक्रमणको बीचबाट गुज्रनुपरेकाले पनि गणतन्त्रले आशातीत सफलता तथा प्रगति नागरिकलाई दिन नसकेको हुनसक्छ । गणतन्त्रको बहालिसँगै आमनागरिकमा विशाल आशा र अपेक्षा भने अवश्य थिए । देशमा विद्यमान असमानता, अशान्ति, अनिश्चयको सम्पूर्ण दोष लाग्दैै आएको राजत्रन्तको समूल अन्त्यपछि दूर सभ्यता र प्रगतिका नयाँ उचाइ प्राप्त हुने अनि विकास तथा नागरिक जीवनमा सर्वपक्ष्ीाय उन्नयनको उभार मिल्ने आशा थियो । तर, नागरिक आज निराश छन् । सरकार तथा दल नागरिकप्रति कमै उत्तरदायी छन् । पात्र, प्रवृत्ति दुवै र स्वार्थ पनि नबदलिएको यो गणतन्त्रले खाली स्वाङ मात्र बदलेको देखिन्छ । आमनागरिक जीवनलाई सुन्दर रूपमा सजावट र सशक्तीकरण गर्न दिनुपर्ने परिवर्तन दिन मात्र होइन, देशमा भीमकाय प्राकृतिक विपत् पर्दासमेत सशक्त अभिभावकत्व प्रदान गर्न सकेको देखिएन् ।
पुराना पार्टीले आपूmलाई फेर्न सकेनन्, नयाँलाई गणतन्त्र कमाई खाने भाँडो भयो । गणतन्त्रसँगै मूलधारको राजनीतिमा उदाएको एमाओवादी यसको ज्वलन्त उदाहरण हो । प्रचण्डको आर्थिक आड मानिएका व्यापारी अजय सुमार्गीको नाममा काठमाडौंको तीनकुनेदेखि माइतीघरसम्म मात्र करिब तीन रोपनी जग्गा भएको समचार सुनिन्छ । ती सबै जग्गा २०६४ पछि खरिद गरेका प्रमाण छन् रे । प्रचण्ड दक्षिण एसियाकै सबैभन्दा सौखिन नेतामा गनिन्छन् । यसरी केही नेतालाई सौखिन जीवन, असमानान्तर विलाशिता दिए पनि नागरिकको आशा र अपेक्षालाई सार्थक बनाउने क्रममा गणतन्त्र निकै निरीह बन्दै छ ।
विख्यात राजनीतिकर्मी अब्राह्म लिंकनले नागरिकका लागि, नागरिकले नागरिकद्वारा नै गरिने उच्चतम शासन व्यवस्थाको कल्पना गरेका थिए । हाम्रो गणतन्त्रले उनको परिभाषा र त्यसको अन्तर्यको एक प्रतिशत सार्थकता पनि देखाउन सकेन ।
विन्सटन चर्चिलले चाहिँ गणतन्त्रलाई संसारको सबैभन्दा खराब शासन व्यवस्था हो तर योभन्दा अर्को उत्तम कुनै शासन व्यवस्था हुँदैन भन्ने गर्थे । हामी राणातन्त्र, प्रजातन्त्र हँुदै लोकतन्त्र अनि गणतन्त्रसम्म आइपुगेका छाँै । तर, आज हाम्रो समाज भने अहिले यी नागरिकमैत्री र उच्च सम्भावनाका पद्घति भनिएका लोकतन्त्र अथवा गणतन्त्रभन्दा कतै इतिहाँसले जर्बजस्त खराब देखाउन खोजेका अन्य व्यवस्था नै ठीक त थिएनन् भन्ने दुविधातिर अग्रसर हुन खोजेको देखिन्छ ।
गणतन्त्र केही लोभीका लागि राम्रो भए पनि आम लोकका लागि खासै रौनकको भएन । गणतन्त्र ठूलाबडाले मनोमानी गर्ने र नागरिकलाई बेसहारा बनाउने माध्यम बन्दै छ । विभिन्न कारणले गणतन्त्रलाई कमजोर सावित गरिरहेछ । गणतन्त्रमाथिको अपुरो र अपूर्ण बुझाइ यसको मुख्य समस्या हो ।
हामीले परिवर्तनलाई खाली एकोहोरो रूपमा हे¥यौँ, गणतन्त्रलाई एउटा घेरामा मात्र राख्यौँ तर यसका विशेष तीन पक्ष हुन्छन् । ऐ हेवुड, म्याक्स वेभर, रोर्वट डाल, फ्रान्सिस फुकोयामा जस्ता राजनीतिशास्त्रीका पछिल्ला अनुसन्धानात्मक निष्कर्षले समेत लोकतन्त्रलाई कुनै एउटा ठोस धारणा नभई विभिन्न आयामको समिष्ठ रूप मानेको छ । जसरी एउटा मानिसलाई सफतलताको उचाइ चुम्न, शारीरिक, मानसिक, बैद्घिकलगायत पक्षको आवश्यकता रहन्छ । त्यसैगरी, गणतन्त्र सफल हुन पनि विभिन्न तीन आयामको उत्तिकै गहन प्रत्याभूति हुनुपर्छ । हामीले राजनीतिकबाहेक अन्य दुई आयामको सशक्त सवलीकरण गर्न नसकेकै कारण हाम्रो गणतन्त्र आज कमजोर छ । पद्घतिको नाम बदलिए पनि पात्र, प्रवृत्ति र प्रहार बदलिएन । हाकिमहरू बदलिए पनि हुकुम र हैकम बदिलएन, खुकुरी बदलिए पनि धार बदलिएन । बनावट बदलिए पनि व्यथा, विपत्ति तथा बुझाइ बदलिएन । दल बदलिए तर दलदल बदलिएन, नेतृत्व बदलियो तर दुर्भाग्य ! नियत बदलिएन । प्रमुख तिन आयामो सुन्दर समिश्रण मात्रले गणतन्त्रको सुगन्ध र सुवासको पैmलावट हुनेमा हामी खाली राजनीतिक आयामकैपछि मात्र घुमिरहेका छौँ, जसले गणतन्त्रलाई शिथिल बनाउँदै छ ।
राजनीतिक आयाम
राजनीतिक गतिविधिको सघनता गणतन्त्रको एउटा प्रमुख पक्ष हो । देशमा गणतन्त्र चलायमान रहेको आभाष दिलाउन विभिन्न राजनीतिक गतिविधिको प्रशस्त पुनरावृत्ति हुनुपर्छ । हामीकहाँ राजनीतिक गतिविधि प्रशस्त भएका छन् । संविधानमा नागरिकका लागि अधिकार किटान गरिएका छन् । चुनाव भइरहन्छ । नारा जुलुस भाषण धर्ना पनि भइरहेका छन् । राजनीतिक दल गठन र विघटन पनि नियमित छन् । राजनीतिक हिसाबले त क्रान्तिका नयाँ÷नयाँ दृश्य देखिन्छन् । २००७, ०१७, ०४६, ०६२, ०६५ सालमा क्रान्ति भए । पाँचपटक त नयाँ संविधान लेखिएको छ । आज संसारका कुनै पनि देश र नागरिकले पाउने वैयतिक स्वतन्त्रता हामीलाई प्राप्त छ । हाम्रो राजनीतिक आयाम निकै सघन छ । गाउँ चोकसम्म राजनीतिका गफ हुन्छन् । सरकार गठन र विघटन नियमित छन् । सरकारी कर्मचारीदेखि विश्वविद्यालयसम्म राजनीतिक पार्टीका संगठन छन् । एउटै अफिसभित्र दर्जनौँ मजदुर संगठन बनाउनेका नेताले संसारका मजदुर एक हाँै भनेर अतिसयोक्ति पनि प्रदर्शन गर्न भ्याएकै छन् । बन्द, हड्ताल चक्काजाम, तोडफोड त हाम्रा पर्याय नै बन्दै आएका छन् । यसरी हेर्दा राजनीतिक गतिविधि प्रशस्त भएका छन् । राजनीतिक आयामका हिसाबमा हाम्रो गणतन्त्र सतप्रतिशत सफल छ ।
आर्थिक आयाम
तर, खाली राजनीतिक परिघटनाको सघनताले मात्रै गणतन्त्रको आधार दरिलो बनाउँदैन । देशलाई कमजोर कि अब्बल बनाउने भन्ने कुरा त्यहाँको आर्थिक विकासले जनाउँछ । राजनीतिकसँगै आर्थिक परिवर्तन सशक्त बने मात्र नागरिकले उक्त व्यवस्थाप्रति सम्मान र आदर देखाउँछन् । नागरिलाई प्रशस्त र यथेष्ठ आर्थिक उपार्जन अनि वित्तीय सवलताको प्रत्याभूति भए मात्र शासन दीर्धकालीन हुन्छ । तर, हाम्रो गणतन्त्र यहीँनेर निकै नराम्ररी चुक्यो ।
दिनहुँ १५०० को हाराहारीमा मानिस विदेश जान बाध्य छन् । यही समय भारतले ठूलो आर्थिक प्रगति ग¥यो । हामीले गलत र बेथितिको पर्यायका रूपमा उदाहरण दिने विहार नमुना राज्य र अर्थतन्त्र हँुदै छ । हाम्रै छिमेकका मलेसिया, माल्दिभ्स, थाइल्यान्ड, सिंगापुर, भियतनाम, ताइवान आज उदीयमान अर्थतन्त्र भएका छन् । विश्व बजारले उनीहरूलाई बाघ–अर्थतन्त्रका नामले सम्बोधन गर्छ । २० वर्ष पहिले हाम्रोभन्दा चार गुणा कमजोर मुद्रा विनिमय दर भएको थाइल्यान्ड आज हामीभन्दा चार गुणा नै मजबुत छ । २० वर्ष पहिले दक्षिण कोरिायली नेपालमा काम गर्न आउँथे । उनीहरूको आयस्तर हाम्रोभन्दा कम थियो । आज हामी एक हजार डलर प्रतिव्यक्ति आयभन्दा तल छौँ । उनीहरू लगभग ५० हजार डलरको हाराहामीमा छन् । सामयिक आर्थिक प्रगति तथा राज्य नागरिकप्रति उत्तरदायि रहेकै कारण इजरायल, न्युजिल्यान्ड, बेलायतजस्ता देशमा संविधान नभए पनि नागरिक सन्तुष्ट छन् । बहराइन, कुवेतमा आजसम्म निर्वाचन नभए पनि नागरिकको गुनासो छैन । तर, जतिचोटि शासन बदलिए पनि, शक्ति परिवर्तन भए पनि नागरिक र देशको आर्थिक स्थिति नबदलिएका कारण हाम्रो गणतन्त्र कमजोर बनेको छ, नागरिकको आस्था र प्रेम गुमाएको छ । यो शताब्दीको गणतन्त्र भनेकै विकास गणतन्त्र हो भनेर व्याख्या गर्न थालिएको छ । तर, हाम्रो गणतन्त्रले गरिबी र आर्थिक अभाब झन् चरम बनाउँदै छ । आर्थिक परनिर्भरता अझ सघन बन्दै छ ।
सामाजिक र नैतिक आयाम
गणतन्त्रका समयमा केही सामाजिक परिवर्तनहरू भए । बेथिति, जातीय, धार्मिक कट्टरताहरूमा केही परिवर्तन आए । तर, अपवादबाहेक नेतृत्वदेखि नागरिकसम्म कसैमा पनि सही नैतिकताको निर्माण भएन । अपराधजन्य सोच र घटना बढिरहेका छन् । युवा विदेश जान, शिक्षित भनिने वर्ग विदेशमा गएर रैतिसरह बाँचेर भए पनि अर्काको दास हुन सहमत छन् । अविभावकको मानसिकतासमेत बरु अरूको गोठालो भएर वा भेडा चराएरै भए पनि विदेश बसेको छ भन्नेमा आत्मरति अनुभव गर्दछ । देशमा बस्नु भनेको अयोग्य भएकाले कतै जान नसकेको रूपमा चित्रित हुन थालेको छ । सरकारी क्षेत्र घूसखोरीमा चुर्लुम्म छ, निजी क्षेत्र शोषणले ग्रस्त । जुनसुकै मान्यतामा आफ्नो फाइदा अथवा अरूप्रतिको दायित्व र जिम्मेवारी बहनबाट पन्छिने प्रवृत्ति आज निकै मौलाएको छ । नामको मात्र नभई कामको परिवर्तन, बोली नभई व्यवहारको परिवर्तन गणतन्त्रको आशा थियो तर सपनाहरू अधुरै छन् । मानव नैतिकतारहित केबल मेसिन वा यन्त्रमानव बन्दै छन् । प्रचारबाजी र स्वार्थ मौलाएका छन् । फेसबुकमा राख्नका लागि एक पाकेट मात्र चाउचाउ दिएर पनि राहत दिएको दुहाइ दिनेहरूदेखि आपै घर भत्काएर पनि राहत लिन लाइन बस्नेसम्म नागरिक छन् । अर्कोतिर राहतमा पनि राजनीति गर्ने दल र नेता । नेतृत्वदेखि नागरिकसम्म नौतिकताको विशाल खडेरी छ ।
उपसंहार
यदि, राजनीतिकसँगै अन्य आयामको पनि सबल सशक्तीकरण भएको भए सायद आज हाम्रो गणतन्त्र पनि विश्वमा उदाहरणीय बन्थ्यो तर राजनीतिकबाहेक अन्य पक्षहरू कमजोर भएका कारण यो गणतन्त्र र यसका आकांक्षाहरू एक दन्त्य कथा बन्दै छन् । गणतन्त्र चुक्दै छ, सपना झुक्दै छन् ।
प्रतिक्रिया