भूकम्पपछिका अनेक आयाम

dr-pradip-dhakalनेपालको इतिहासकै सबैभन्दा पीडादायी र त्रासदीपूर्ण प्राकृतिक विपत्तिको हामी आम नेपालीले सामना गरिरहेका छौँ । यसपालीको भूकम्प अर्थात् वैशाख १२ गते आएको भूकम्प यसबाट प्रभावित क्षेत्रका आमनागरिकलाई जस्तै मेरा लागि पनि फरक अनुभव रह्यो ।
मैले यसपाली मैदानमा ओर्लेर काम गर्ने क्रममा देशको युवा जमात निकै सक्रिय पाएँ । प्रहरी र सेनाको सक्रियताको मैले खुलेर सम्मान गरेँ । सुरुका दिनहरूमा सहयोगी हातहरू निस्वार्थी थिए । मानवीयताको दरिलो उपस्थिति थियो । मित्र राष्ट्रहरूबाट आइरहेको सहयोग पनि उल्लेखनीय थियो । सुरुका दिनमा मैले ती सहयोग किन र कसरी आइरहेका छन् भन्ने तर्प कुनै तर्क नै नगरी केवल मानव जीवन बच्नुपर्छ भन्ने सोचमा नै अडिग रहेँ । एक मानव भएर अर्को मानवलाई विपत्को समयमा स्वाभाविक सहयोग हुनुपर्छ भन्ने मान्यतामा म दृढ रहेँ ।
हुन त यो कसैलाई एउटा अवसर बनेको होला, कुनै सञ्चार गृहलाई यो एउटा आपूm स्थापित हुने राम्रो समय बनेको होला, पेसेवर सेवकहरूलाई सेवा गर्ने अवसर मिलेको होला । तथापि यसले एउटा सकारात्मक सन्देश पनि दिएको छ, हामी नेपाली देशको विषम परिस्थितिमा एक हुन्छौँ । हामी नेपाली परेको बेलामा एक–अर्कालाई भरपुर सहयोग गर्छौं । हामी कुनै राजनीतिक पार्टी, धार्मिक आस्थाभन्दा माथि उठेर मानिस बन्न सक्दछौँ भन्ने स्पष्ट सन्देश दिएको छ ।
मानवीय सहयोगको कुनै मूल्य हुदैन
सहयोग भनेको कुनै पुरस्कार प्राप्तिका लागि वा सम्मान पाउनका लागि गरिनु हुँदैन । सहयोग स्वाभाविक रूपमा आउनु पर्दछ । एक मानवले आपूजस्तै अर्को मानवको आवश्यकता र दुःखमा साथ र सहयोग दिनु नै मानवता हो । यो मानवको स्वभाव हो । यही मानवको गुण हो । आफ्नो स्वाभाविक चरित्रका कारण नै एक मानवले अर्को मानवलाई साथ र सहयोग दिन्छ । तर, त्यो सहयोगको मूल्य खोज्ने परिपाटी र मानवीय सहयोग र साथको मूल्य खोज्ने परिपाटीले मानवतालाई कमजोर पारिदिन्छ ।
अहिलेको यस घडीमा जो जसले आफ्नो कार्य गरे, मानवीय कर्तव्य पालना गरे त्यो स्वाभाविक प्रक्रिया हो । यही मानवता हो । यसमा कसैले पुरस्कार पाउने र कसैले सम्मान पाउने प्रक्रिया हुनुहुँदैन ।
हरेक व्यक्ति राष्ट्र हो
राज्य कहाँ छ ? सरकार कहाँ छ ? भनेर प्रश्न गर्ने समय हामीसँग थिएन र छैन पनि । राज्यबाट अपेक्षा स्वाभाविक हो । तर, राज्यसत्ताका अधिकारीहरू स्वयं अलमलमा परिरहेको अवस्थामा जो जसले जहाँबाट सक्छ त्यही विन्दुबाट कार्य गर्नु अनिवार्य छ । नेपाल प्रहरी र सेनाले भूकम्प आएपश्चात् तत्कालै मैदानमा ओर्लिएर कार्य गरे । विभिन्न व्यक्ति, संघसंस्थाहरू स्वतः स्पूmर्त रूपमा मानवीय सेवाका लागि अगाडि बढे । अनि सबैले राज्यको खोजी गरे । राज्यले भन्यो प्रहरी, सेना र हरेक व्यक्ति नै राज्य हो ।
सायद, राज्यले सत्य नै भनेको थियो होला । तर, जनताको सेवा गर्छौं, देशको रक्षा गर्छौं भनेर जनताको अभिमतबाट सत्तामा गएका राजनीतिक पार्टीहरू र तिनका नेताहरू यतिसम्म लाचार भए कि मन्त्रीको भेषमा पीडितसमक्ष पुग्दा पीडितहरूले नै लखेटेपछि स्वतः स्पूmर्त रूपमा मानवीय सेवाका लागि अगाडि आएका व्यक्ति र संस्थाहरू सरकारमार्पत् नै काम गर्नुपर्ने नीति बनाए । तर, सरकारप्रति विश्वास नै नभएका आम नेपाली त्यसलाई बेवास्ता गर्दै मानवीय सेवामा लागिरहे । अन्ततः सरकारले आफ्नो निर्णय नै फिर्ता लिनुपर्‍यो ।
अहिले केही राजनीतिक दलका नेताहरू बेल्चा र घन लिएर गाउँगाउँ पुगिरहेका छन् । तर, कताकता उनीहरूको यो काम पाखण्डताको पराकाष्ठा र सत्ता प्राप्तिको लालसा नबनोस् भन्नेमा ती पार्टीका इमानदार कार्यकर्ताहरू सचेत हुनु जरुरी छ । राजनीतिक पार्टीहरूको संयन्त्र गाउँगाउँसम्म भएकोले पुनर्निर्माण र पुनव्र्यवस्थापनको काम बढी प्रभावकारी रूपमा हुन सक्दछ । तर, आज गरेको कामलाई भजाएर सत्ताको राग अलाप्ने प्रवृत्ति पुनः दोहा¥याए भने त्यो उनीहरूको जनताप्रतिको बेइमानी मात्र हुन्छ ।
आपूलाई ठूला भनाउने राजनीतिक पार्टी र तिनका नेता, कार्यकर्ताहरू सुरुका दिनमा आफ्नो राजनीतिक पार्टीको नाम उच्चारण गरेका थिएनन् । सबै नेपाली थिए । जोगाउने र बचाउने काममा सबै व्यक्तिगत तवरबाट नै अगाडि आइरहेका थिए । बिस्तारै बिस्तारै राजनीतिक शक्तिहरू पुनःस्थापनाका लागि अगाडि बढिरहेका छन् । तर, यो कार्यलाई उनीहरूले आफ्नो लाज बचाउने र सत्ताको खेलमा लाग्नका लागि जनताबाट स्वीकृति लिने रूपमा प्रयोग नगरुन् भन्नेमा आम जनता सचेत हुनैपर्छ ।
हरेक मानव एक सेवक हो
उद्धार र राहतका कार्य गर्ने क्रममा मलाई राजनीतिक पार्टीको खोल ओढ्न पटक्कै मन लागेन । म संलग्न पार्टी अखण्ड नेपालका सम्पूर्ण साथीलाई आआफ्नो तर्पmबाट कार्यक्षेत्रमा खटिन आग्रह गरेँ । पार्टीको नाम अगाडि ल्याउन सकिन्छ, पार्टीको माध्यमबाट अभैm राम्ररी सेवा गर्न सकिन्छ भन्ने तर्कलाई मैले अस्वीकार गरेँ । अहिलेको समय राष्ट्रिय एकता र मानवताको विगुल बजाएर कार्य गर्ने समय हो भन्ने कुरामा हामी सचेत हुनैपर्छ । राहत र उद्धारका क्रममा कुनै पार्टी, जाति तथा सम्प्रदायको झन्डा ओढ्नु भनेको मानवताको दोहोलो काढ्नु हो । हामी सबै मानव हौँ र हाम्रो धर्म मानवता हो ।
यस्तो बेलामा म कुनै पार्टीको सचिव थिइनँ । शान्ति अनुसन्धान केन्द्रको निर्देशक थिइनँ, एसिया–प्रशान्त शान्ति अनुसन्धान संस्थाको महासचिव पनि थिइनँ । म कुनै देशको नागरिक पनि थिइनँ । म कुनै जात, धर्म, सम्प्रदाय, राजनीतिक पार्टी, देशभक्त केही पनि थिइनँ । फगत म एक मानव थिएँ । एक मानवले अर्को मानवलाई स्वाभाविक सहयोग गर्नु बाहेक अरू कुनै ध्येय थिएन ।
भूकम्पको दोस्रो दिनमा खुला चौरमा सबैसँग एउटै पालमुनि बस्दा एउटा शिशुलाई मैले निकै नै रोइरहेको देखेँ । उनकी आमाको दूध आइरहेको थिएन । अनि उक्त बच्चालाई पानी पिलाएर शान्त पार्न खोजेको देखेपछि मेरो मनमा असह्य वेदना भयो । मैले आफ्नो सानो छोरो दिव्यमलाई सम्झिएँ । अनि मैले तत्कालै निर्णय गरेँ कि ऊजस्तै बच्चाहरूलाई म दूधको कमी हुन दिन्नँ । अनि, तत्कालै मैले मेरा साथीहरूलाई खबर गरेँ र कार्यक्षेत्रमा उत्रिएँ ।
नेपाली जनता शक्तिशाली छन्
यो भूकम्पले आम नेपाली नागरिक शक्तिशाली छन् भन्ने तथ्यलाई अभैm बलियो बनाइदिएको छ । राहत र उद्धारको कार्यमा उदासीन र क्षमता नभएका देशका गृहमन्त्रीलाई लखेट्नेदेखि लिएर हाम्रो दुःखलाई गलत ढंगले र हामी नेपाली भनेका त साह्रै नै दरिद्र र अरूको आसमा बसिरहेका भन्ने भूmटो प्रचार गर्ने भारतीय सञ्चार माध्यमलाई सामाजिक सञ्जालका माध्यमबाट धपाउनुले आम नेपाली देशलाई आवश्यक पर्दा एक हुन्छन् भन्ने दरिलो सन्देश विश्वसामु पुगेको छ । अहिले त राज्य एकातिर आम नेपाली अर्कोतिर रहेर काम गरेको देखियो, जसमा आम नेपालीको कार्य राज्यको कार्यभन्दा पनि बढी प्रभावकारी देखियो ।
देशको स्वाभिमानका रक्षक नेपाली जनता
यही बीचमा भारत र चीनमध्ये कुनै एकले नेपाललाई लिन्छ भन्ने आवाजहरू पनि सुनिए । छिमेकी देशहरू पनि यहाँको असहज अवस्थामा खेलेर आफ्नो प्रभाव बढाउन सकिन्छ भन्ने सोचमा पनि रहेका होलान् । तर, आम नेपाली सचेत छन् र सदियौँदेखि जोगाउँदै आएको स्वाभिमानलाई जुनसुकै मूल्यमा पनि जोगाउँछन् भन्ने सन्देश विश्व समुदायले पाइसकेको छ । यस्ता विषम परिस्थितिमा विश्वका अन्य देशमा आम जनता एकअर्कालाई सहयोग गर्न छाडेर लुटपाट, चोरी, डकैतीमा लाग्ने गरेका कयौँ उदाहरणलाई पाखा लगाउँदै राज्यले के गर्ने भन्ने निक्र्योल गर्न नसकिरहेका बेलामा आम नेपाली एकअर्कालाई सहयोग गर्दै, जीवन रक्षा गर्दै हिँडिरहेको देखेको विश्व समुदायले नेपाली स्वाभिमान नेपाली जनताले नै जोगाउँछन् भन्ने सन्देश पाएका छन् ।
विश्वको ध्यान हाम्रो देशमा रहिरहेको थियो । हाम्रै देशका केही कपूतहरू देशको सार्वभौमसत्तामाथि धावा बोलिरहेका थिए । मेरा केही विदेशी साथीहरूले देशको सार्वभौमसत्ता छिमेकी देशले कमजोर पारिदिन सक्दछन् भन्ने मनसाय व्यक्त गर्दा मैले निर्धक्क भनिदिएँ, ‘मेरो देशको स्वाभिमानलाई आफ्नो स्वार्थको तराजुमा तौलिनेहरूलाई के थाहा हाम्रा पुर्खाले आर्जेको गौरव र स्वाभिमानको धरातल कमजोर छैन भनेर । जबसम्म यो शीर बाँकी रहन्छ तबसम्म मेरो देशको स्वाभिमान झुक्नेछैन । अनि मेरो शीरजस्तै लाखौँ स्वाभिमानी नेपालीको शीर जबसम्म ठडिइरहन्छ तबसम्म मेरो देशको सार्वभौमसत्ता कायम रहिरहने छ । एक दुई जना दासहरूले कोहोलो हाले, मालिक भक्तिको राग अलाप्दै देशको स्वाभिमानमाथि औँला ठड्याउँदैमा हामी आत्तिनु पर्दैन ।’
अहिलेको भूकम्पले हामी नेपालीहरू आफ्नो समस्याको समाधान आपै समाधान गर्न सक्छौँ, दुःख र विपत्मा हामी सबै नेपाली एकजुट हुन सक्छौँ भन्ने प्रष्ट देखाएको छ ।
निष्कर्षमा भन्नुपर्दा, यो विपत्को घडीमा देशले धेरै धनजन गुमाएको छ । अहिले घर मात्र भत्किएका छैनन् मन पनि भत्किएका छन् । लाखौँ बालबालिकाको मन विचलित बनेको छ । अब, ती टुटेका र विचलित मनलाई जोड्ने कार्यमा पनि लाग्नु छ । विस्थापितलाई राहत दिएर सामान्य जीवनमा फर्काउन देशका जिम्मेवार निकायहरू सक्रिय हुनैपर्छ । हिजोका दिनदेखि नै देशको नीतिनिर्माण बनाउँदा होस् वा कुनै पनि कार्य गर्दा होस् आफ्नो व्यक्तिगत फाइदा हेरेर भ्रष्टाचार गर्नेहरू नै राज्यसत्तामा बहाल भइरहेको अवस्थामा यिनीहरूले फेरि पनि नीतिगत भ्रष्टाचार गर्न नसकून् र राहतका लागि आएको सहयोगमा र्‍याल चुहाउन नपाउन् भन्नेमा नागरिक समाज पनि सतर्क हुनैपर्छ । अनि, आम नागरिक पनि अबका दिनमा देश र जनताको मर्म बुफ्ने राजनीतिक व्यवस्थाको स्थापना गर्नेतर्पm चनाखो हुनैपर्छ ।
अनि जुन किसिमको नेपाली मन, नेपाली एकता देखिएको छ यसलाई अक्षुण्ण राख्दै नेपाललाई विश्वसामु एक प्रेमपूर्ण, मानवतायुक्त र आध्यात्मिक शक्तिले भरिपूर्ण देशको रूपमा स्थापित गर्नु छ । अहिले विश्व समुदायले नेपाली प्रेम र मानवताको भावनाको उच्च मूल्यांकन गरेको छ । यसलाई कायम राख्दै हामीले हाम्रो देशको समग्र मुहारलाई सुन्दर बनाउनु छ । यस दिशामा सम्पूर्ण पक्ष आआफ्नो तर्पबाट लाग्न सकौँ । यही नै मंगलकामना ।

प्रतिक्रिया