चिन्तन र नेतृत्वमा पनि नवनिर्माण

keshav_prasad.bhattarai१२ वैशाख २०७२ को भूकम्पपछि नेपाल चौबाटोमा छ । नेपालको पुनर्निर्माण वा नवनिर्माणका सवाल उठिरहेका छन् । तर, त्यो भनेको भौतिक संरचना मात्र नभएर हाम्रा समग्र किाससम्बन्धी दर्शन, सोच, दृष्टि, नीति, कार्यक्रम र नेतृत्व समेतको नवनिर्माण हो, भनेर बुझ्नुपर्छ ।
त्यो नगर्ने हो भने नवनिर्माण वा पुनर्निर्माण केही पनि सम्भव छैन ।
सन् १९९७–९८मा यो पंक्तिकार प्रशिक्षार्थीको रूपमा इजरायलमा थियो । आवास कोठाको झ्यालबाट ठीक अगाडि आलुखेती गरिएका बारीका ठूला–ठूला पाटा थिए । एक दिन बिहान ऊ झ्यालबाट उक्त रहरलाग्दो आलुबारी हेरिरहेको थियो । एकजना व्यक्ति कारमा आए, बारीनजिकै सडकमा आफ्नो कार रोके, एकछिन नियालेर आलुका ड्याङ्तिर हेरिरहेका उनी हतारहतार आलुबारीमा पसे, पर पुगेर आलुको ड्याङ्बाट एउटा झार टिपेर ल्याए र झारपात राख्ने भाँडोमा हाले, अनि कार स्टार्ट गरेर बाटो लागे । पंक्तिकार उक्त बारीनजिक गयो, दुई/चार पाटालाई निकैबेर नियालेर हे¥यो । सबै पाटामा आलुका बोट मात्रै थिए । घाँस वा झारको फिर्को पनि थिएन ।
खेती त यो पो ∕ मनमा आयो ।
मरुभूमि राष्ट्र इजरायलमा खेतीपाती र फलपूलका विशाल फार्म छन् । रुखबिरुवा टन्न छन् । एक थोपा पनि पानी खेर नजाओस् भनेर हरेक रुखबिरुवाका फेदमा जमिनबाट चार इन्च जति मुनि पाइप बिछ्याइएको छ । त्यही पाइपबाट नियमित रूपमा त्यहाँका सबै बोटबिरुवा र रुखका लागि नियमित रूपमा पानी छोडिदोरहेछ । प्रशिक्षण अवधिभर पानीको अभाव अनुभव नै गरिएन । तर, हरेक ठाउँको धाराको पानी एक थोपा पनि खेरा नजाओस् भनेर पानी भुइँमा खस्नेबित्तिकै जमिनमुनिबाट पाइपमार्पmत कहीँ जम्मा हुने अनि त्यसलाई प्रशोधन गरेर खेतीपाती वा अन्य प्रयोजनका लागि उपयोग हुने व्यवस्था गरिएको रहेछ । पानी र पर्यावरण जीवन हो, सुख र संवृद्धिको आधार हो । त्यसैले पानीको अधिकतम सदुपयोग तथा पर्यावरणको रक्षा भयो भने इजरायल बन्दोरहेछ ।
इजरायल स्थापना हुनुभन्दा अढायी दशकभन्दा अघि पहिलोपटक स्वतन्त्र इजरायल राष्ट्रको सपना देख्ने त्यहाँको हिस्ताद्रुत नामक एउटा ट्रेड युनियन थियो । सुरुमा हिस्ताद्रुतले नै यहुदीलाई बृहत् रूपमा संगठित गर्दै लगेको थियो । पछि, जब यहुदीका राजनीतिक संगठन निर्माण भए र हिस्ताद्रुतको मिसनलाई बोके, हिस्ताद्रुत श्रमिक गतिविधिमै फर्कियो । आज पनि हिस्ताद्रुत त्यहाँ अत्यन्त सम्मानित र प्रतिष्ठित छ । ऊ राजनीतिक दलहरूको आदर्श र प्रेरणा हो, झोले संगठन होइन ।
कसैलाई प्रतिनिधित्व नगर्ने, कसैप्रति उत्तरदायित्व नभएका र राजनीतिक दलका पछाडि पद, अवसर र लाभका लागि लपलप गर्दै हिँड्ने कथित बौद्धिक तथा पेसागत समुदाय र नागरिक अगुवाले त्यहाँ नागरिक समाजलाई प्रतिनिधित्व गर्दैनन् । हिस्ताद्रुत जस्तै ट्रेड युनियनले त्यहाँ त्यो काम गर्दछन । त्यसैकारण इजरायल संसारसामु उच्च साहस स्वाभिमानका साथ उभिएको छ ।
धेरै नेपालीको भ्रमण र श्रम गन्तव्य बनेको संयुक्त अरब अधिराज्यका सात अधिराज्यमध्येको एक दुबई तेलले होइन व्यापारले संवृद्ध भएको हो । तेलले उसको कूल गार्हस्थ उत्पादनमा पाँच प्रतिशत मात्र योगदान गर्दछ । १९७१ सम्म दुबई अत्यन्त गरिब मुलुक थियो । त्यहाँका स्वर्गीय अमिर शेख रसिदले अत्यन्त चौडा सडक, ठूला हवाई मैदान र बन्दरगाह निर्माणका परियोजनाहरू अघि बढाए । ती सबैलाई जोड्ने गतिला संरचना बनाए । राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार र व्यवसायलाई प्रोत्साहन गर्ने आकर्षक नीति घोषणा गरे । बलिया कानुनी संरचनाहरू खडा गरे, परिणाम आजको दुबई हो । मरुभूमि राष्ट्र भएकाले पानीका कुनै प्राकृतिक स्रोत छैनन् तर अत्यन्त खर्चिलो प्रविधि उपयोग गरेर पनि समुद्रको नुनिलो पानीलाई प्रशोधन गरी सबैका लागि पर्याप्त पानी उपलब्ध गराइएको छ ।
मिसन, भिजन र नेतृत्व
राष्ट्रको नेतृत्व गर्नु भनेको जनताको सुख, संवृद्धि र सुरक्षाका लागि निरन्तरको छटपटी बोक्नु हो, उनीहरूका लागि उन्नत शिक्षा, संस्कार, स्वास्थ्य, रोजगारी र आवास सुविधा उपलव्ध गराएर स्वाभिमानी नागरिक र स्वाभिमानी राष्ट्र बनाउने सपना देख्नु र त्यो सपनालाई विपनामा रूपान्तरण गर्ने भविष्य दृष्टि, इच्छा शक्ति र क्षमता हो ।
त्यसका लागि राष्ट्र र समाजसँग पनि अत्यन्त साहसिक, सिर्जनशील र उत्पादक चिन्तन प्रणाली आवश्यक हुन्छ । आधुनिक विश्वमा पुँजी, सम्पत्ति र शक्ति भनेको निरन्तर नयाँ विचार, नयाँ सम्भावनाको खोजी गर्न समर्थ मस्तिष्क हो । त्यस्तै मस्तिष्कले मात्र सबै असम्भवलाई सम्भव बनाउन, सम्भवलाई आविस्कार गर्न, तिनलाई सुनिश्चित गर्ने मार्गमा आइपर्ने सबै समस्या र चुनौतीविरुद्ध लड्न सक्छ । सबैका लागि सुलभ आधुनिक वैज्ञानिक शिक्षा त्यस्तो उर्बर मस्तिष्कको बीज शक्ति हो । तर, हाम्रो शिक्षासँग त्यो तागत छैन त्यसैले त्यो अभाव हामी र हाम्रो नेतृत्वको चिन्तन र क्षमतामा नराम्ररी रूपान्तरण भएको छ । अर्को कुरा, जनताको जीवनस्तरमा सुधार र प्रगति नल्याउने राजनीतिक परिवर्तन अर्थहीन राजनीतिक आडम्बर मात्रै हुन् ।
चीन र चिनियाँ जनताका लागि माओकोभन्दा देंग सियाओ पेंगको योगदान सार्थक रह्यो । एउटा रूढ साम्यवादी परम्परामा दीक्षित मुलुकको गतिहीन अर्थतन्त्रलाई आधुनिक आर्थिक मूल्य र प्रणालीमा रूपान्तरण गर्नु देंगका लागि कम जोखिम र साहसको काम थिएन । यो उनको व्यक्तिगत र राजनीतिक जीवनका लागि अर्को ठूलो संकटमा रूपान्तरण हुनसक्थ्यो । तर, यो जोखिम साहसबेगर आधुनिक, संवृद्धि र शक्तिशाली चीनको उदय सम्भव थिएन । एउटा रोचक र सार्थक प्रसंग यहाँ मननीय हुन आउँछ ।
चिनियाँ अधिकारीको आग्रहअनुसार १९८७ मा विश्व बैंकले प्रमुख र सफल अर्थतन्त्रका अनुभव र अभ्यास आदानप्रदान गर्न एउटा सम्मेलन आयोजना गरिदिएको थियो । सम्मेलनमा सबै सहभागीले उदार अर्थतन्त्रलाई व्यवस्थापन गर्ने क्रममा आफ्ना अनुभव सुनाइसकेपछि सम्बन्धित चिनियाँ मन्त्रीले आफ्नो मुलुकको सुधार कार्यक्रमको खाका प्रस्तुत गरे । सो सम्मेलनमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व पूर्वप्रधानमन्त्री तथा तत्कालीन योजना आयोगका अध्यक्ष डा. मनमोहन सिंहले गरेका थिए । स्मरणीय छ, त्यतिखेरसम्म भारत आर्थिक उदारीकरणको युगमा प्रवेश गरिसकेको थिएन । चिनको सुधारको खाका प्रस्तुत भइसकेपछि डा. सिंहले चिनियाँ मन्त्रीलाई सोधे, ‘के यसले चिनमा ठूलो असमानता ल्याउँदैन ?’ उत्तर आयो, ‘हो ल्याउँछ तर हामीले त्यो खोजेकै हो ।’
एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा ‘हामीले असमानता खोजेकै हो’ भन्न सक्ने साहस चिनियाँ नेतृत्वसँग थियो । त्यसको पछाडि रहेको एउटा अकाट्य मान्यताअनुसार चीनको लक्ष्य त सबैलाई संवृद्ध बनाउने नै थियो । तर, मुलुकका सबै भागमा बस्ने सबै मानिसलाई एकैपटक संवृद्धि दिन सकिँदैन । त्यसैले कसैलाई पहिला संवृद्ध हुने अवसर नदिनु भनेको सबैलाई सधैँका लागि गरिब बनाइरहनु हो । कुनै भू–भागलाई र कसैलाई पहिला संवृद्ध हुने अवसर दिने त्यसपछि त्यही संवृद्धि क्रमशः वरपर विस्तार हुँदै सबैतिर संवृद्धि पुग्छ भन्ने चीनको मान्यता थियो । ठूलो असमानताले अझ ठूलो संवृद्धिका लागि अभिप्रेरणा र उद्यमशीलता निर्माण गर्छ भन्ने पनि चिनियाँ मान्यता थियो ।
समानता भनेको गरिबीको समान वितरण होइन । त्यसैले जहाँ संवृद्धि पु¥याउन सजिलो हुन्छ, पहिला त्यहाँ पु¥याउने र त्यहाँको संवृद्धिले अर्को क्षेत्रका मानिसलाई संवृद्धि आर्जन गर्न थप मिहिनेत र परिश्रम गर्ने, आपूmभित्र उद्यमशीलता जगाउने र आफ्ना सन्तानलाई राम्रो शिक्षादीक्षा दिन निरन्तर अभिप्रेरित गर्दछ भन्ने धारणाले त्यहाँ काम गरेको थियो ।
दुर्भाग्य ! हाम्रो नेतृत्वसँग साहस छैन । हाम्रा लागि सपना, ऊर्जा, उत्साह र क्षमता छैन । त्यही अभावले गर्दा हामी नेतृत्वविहीन छौँ, अभाव र गरिबीमा बाँचिरहेका छौँ । निश्चय नै भूकम्प हाम्रो अधिनमा थिएन तर भूकम्पले गरेका कतिपय त्रासदीय क्षतिमा नेतृत्वको अभाव र अक्षमता पनि रूपान्तरण भएकै थियो । ०४६ मा प्रजातन्त्रको पुनस्र्थापना भएको अढायी दशक भइसक्यो । ०६२÷६३ को जनआन्दोलन भएको पनि एक दसक पुग्न लाग्यो । यति अवधिमा संसारका धेरै मुलुकले अथाह सम्बद्धि आर्जन गरिसक्दा हामी भने आर्थिक रूपमा जर्जर, दीनहीन र टाट पल्टने स्थितिमा छौँ । हाम्रा लागि एउटा मान्य राजनीतिक प्रणालीको प्रारम्भिक मार्गचित्र पनि तयार गर्न सकेका छैनौँ ।
उता, मुलुकको राजनीतिक नेतृत्वहरू आफ्नो अभावबाट उत्पन्न आफ्नै राजनीतिक भविष्यको असुरक्षाबाट मुक्ति पाउन अनेकौँ राजनीतिक फरेबको जञ्जाल निर्माण गरेर त्यसैभित्र आफ्नो सुरक्षा खोजिरहेका छन् । यसबाट उनीहरू आपैमाथि र मुलुकको भविष्यमाथि झन् ठूलो संकट आमन्त्रण गरिरहेका छन् । हाम्रो राजनीतिक नेतृत्व र हामी सबै नागरिकले यथार्थ धरातलमा उभिएर राष्ट्र र जनताका लागि साझा सपना देख्न र त्यो सपनालाई सार्थक बनाउन साहस र दृढता देखाएर उभिन नसकुन्जेल देश उठ्दैन, कसैले उठाइदिन सक्दैन । त्यसैले नवनिर्माण भौतिक संरचनाको मात्र होइन हाम्रो र हाम्रो नेतृत्वको चिन्तनमा पनि गर्ने कि ?

प्रतिक्रिया