केही मानिस साँच्चै दरिला रहेछन्

Punya-Prasad-Prasaiसात सय झोलामा ट्याग लगाइसकिएको थियो । दुई हजार मानिस अवलोकन गर्दै थिए । कम्तिमा १२ हजारले अवलोकन गर्ने अनुमान थियो । भयानक भूकम्पको झट्का लाग्यो । अचानक भूकम्पको झड्का लाग्नासाथ भृकुटीमण्डपमा चलिरहेको बृहत् पुस्तक प्रदर्शनीमा कोलाहल मच्चियो । मानिसहरू आत्तिनु स्वभाविकै थियो । यो स्थान सुरक्षित छ जहाँ हुनुहुन्छ त्यही बस्नुस् भनेर कराएँ । कसैले पत्याएनन् । मेरो बुबा मेचमा बस्नुभएको थियो उहाँले पनि पत्याउनुभएन, भाग्नुभयो, लडेर चोट लाग्यो । बहिनी जोडले रुन थालिन् । बहादुर केटी भएर पनि रुने हो रोएर अरूलाई नअत्ताउ भने, उनी पनि मानिनन् रोएको रोएकै गरिन् ।
भागदौडले किचिएर केटाकेटी घाइते या मृत्यु हुनसक्थे, फेरि कराएँ, नभाग्नुस् जहाँ हुनुहुन्छ त्यही बस्नुस् यो ठाउँ सुरक्षित छ । ओमले पनि कराउनमा साथ दिइरहेका थिए । हामी बसेको माथि छानामा जस्ता लगाएको छैन हल्का पाल र प्लास्टिक मात्र हो त्यसैले सुरक्षित छ । तर, मानिस आपतमा परिणामको ख्याल गर्दो रहेनछ, न त कहाँ छु भनेर सोच्दो नै रहेछ बस भाग्न मात्र चाहँदो रहेछ । सबै भागे तर केही मानिस बस्न पनि थाले । हल्लिरहेको थियो फोन लगाएँ घरमा, अहँ लागेन । ६ वर्षे छोरा सम्यकको बानी थियो दराज छेउमा सुतेर टिभी हेर्ने । उसको चिन्ता भयो । आँखा कम देख्ने आमा पनि अर्को तलामा हुनुहुन्थ्यो । फोन नलागेपछि छिटो घर पुग्ने विचार आयो । अप्पु डराइरहेकी थिइन् । बिलिङ गर्ने अरू बहिनीहरूको पनि उही हालत थियो । फोन नलागे पनि फेसबुक काम लाग्यो उनीहरूले फेसबुकबाट घरमा म्यासेज गरे । मैले उनीहरूलाई तिमीहरू सबै विरंगना रहेछौ काउन्टर सम्हाल भनेँ । उनीहरू बसे । केही आतिएकालाई घर पठाइदिएँ । यम दाईलाई यहाँ सम्हाल्नु म घर पुग्छु भनेँ ।
गार्डलाई यहाँ विचार पुर्‍याउनु भनेर ड्राइभरलाई गाडी निकाल्न लगाएँ । विनिता एकदमै छोरो सम्यकको चिन्ता गरिरहेकी थिइन् । हामी घरतिर लाग्यौँ । ड्राइभरलाई तिमी एकदमै राम्रो चालक हौँ मानिसहरू आतिएका छन् एकदम ध्यानले चलाउ है भने । भृकुटी मण्डपबाट निस्कनासाथ विध्वंश देखिन थाल्यो । रेडक्रसको अगाडिको पर्खाल ढलेको थियो । सञ्जय भाइको याद आयो उनी गोदाम गएका थिए । बुक ढलेर किच्न सक्थ्यो । समय हेरे, विश्वास लाग्यो उनी गोदामबाट निस्किसकेको हुनुपर्छ । बाटोमा विध्वंश देखिन थालेपछि अझ चिन्ता बढ्यो । कति गरे पनि फोन लागेन तर झापाबाट फोन आयो, उता प्रभाव परेको रहेनछ यता सबै ठिक छ भन्दिएँ तर कमलपोखरीको सिटी सेन्टर चर्केको देखेपछि आफ्नो घर पनि निकै अग्लो नै भएकाले चिन्ता झनै बढ्यो । धरहरा त लडिसकेको थियो । मित्रपार्कमा पुगेपछि एक घाइते भेटिए, हालत खराब थियो । घर पुग्नुभन्दा पहिला उनलाई ओम हस्पिटल पुर्‍याउने काम गर्‍यौँ । उडन्तेले ओम हस्पिटल पनि लडेर धुलो भएको छ के त्यहाँ लगेको भनेका थिए । तर, घाइतेको उपचारका लागि ओम हस्पिटल उही पुरानो चालले खडा थियो । हस्पिटल अव्यवस्थित थियो सबै आतिएका तर पनि डाक्टर र नर्स महान् हुन् उनीहरू आफ्नो चिन्ता हुँदाहुँदै पनि घाइतेको उपचारमा खटिएका थिए ।
अब त्यस बेलासम्म पनि फोन नलागेपछि विनिता घर चाँडो पुग्न हुटहुटी लगाउन थालिन् । हामी हानियौँ । सिन्धुपाल्चोक घर रहेका मेरा ड्राइभर भूपाल तामाङको फोन बज्यो । उनको घर लडेर माटोमा मिलेछ । सँगै फोन गर्नेले भने, सिन्धुपाल्चोकमा सग्ला घर एउटा पनि छैन । यो महाविपत्ति हो भन्ने अब मात्र मलाई लाग्यो । उफ्, मेरो छोरो, सबै मानिस सडकमा आइसकेका थिए । मलाई लाग्यो गाडीबाट भन्दा म दौडेँ भने छिटो पुग्छु । गौरीघाट पुगेपछि गाडीले गति लियो । घर लडेको ड्राइभरको हालत खराब भइसकेको थियो । चिन्ता गर्न थाले । सम्झाएँ, सबै परिवार सकुशल हुनुहुँदो रहेछ चिन्ता नगर अब नयाँ घर बन्छ, सकेको सहयोग म पनि गरौँला मलाई लाग्छ सरकारले पनि सहयोग गर्ला । के गर्छ सरकारले पहिला भूकम्प आउँदा मानिसलाई पाँच हजार दिएर झारा टारेको हैन ।
आउँदै गर्दा थाहा भयो जोरपाटी बाहुन डाँडाको ६ तले घर लडिसकेको थियो । तर, यहाँसम्ममा मैले बाटोमा नलडेका र लडेका घर हेरेर के अनुमान लगाएँ भने, मेरो घर लडेको छैन । घर पुगेँ, मेरो घर खडा थियो र घर बाहिर गाउँका सबै मानिस निस्केका थिएँ । मैले आमा र छोरालाई देखेँ, अनि हाँसिरहेकी बहादुर बुहारी सीतालाई देखेँ । उनैले सम्हालेर आमा र मेरो सम्यकलाई घरबाट निकालेकी थिइन् । छोराले सुनायो, बाबा म रेलिङ समाएर ओर्लें तर आयुष दादा आतिएर कुद्ने भएर लड्नुभयो । छोरो बिस्तारै बुहारी सीता भएको ठाउँमा गएछ । उसलाई सम्हालेपछि बुहारी सीताले आमालाई डोर्‍याएर तल झारिछन् तर त्यसैबेला माथि छतमा भाउजु कराएको आवाज आएपछि उनी माथि चढिछ्न । भूकम्पको धक्काले भाउजू छतमा रहेको बेला ढोका लागेछ र थुनिनु भएछ । आतिएर भाउजू ढोकामा लातले हानेको हान्यै । हल्लिएर सीताले निकै बेर ढोका खोल्न सकिनछिन् ।
बुहारी सीता एक टिचर हुन् । आपत्मा सम्हाल्न सक्ने उनको क्षमता देखेर हरेक टिचरहरूप्रति म नतमस्तक भएँ । अब बहिनी र ज्वाइँको खबर लिन बाँकी थियो । फोन त लागेकै थिएन । उसैबेला खबर आयो मेरै घर नजिकको पसले पर्खालले च्यापिएर मरेछन् । अनि एकै छिन् अर्को खबरले मुटु हल्लायो, मेरो घर अगाडिका मारवाडीका छोरा काष्ठमण्डपमा ब्लड डोनेसन गर्न गएको बेला ब्लड दिँदा दिँदै मरेछन् । सबै गाउँले रुँदै गर्दा उनी मृतकका बाबु भने गाउँलेलाई भन्दै थिए, तपार्इंहरू कोही नरुनुस् । फोन नलागेकाले बहिनीको घर पुगेर खबर बुभेmँ । सबै सकुशल थिए । उनीहरूको घरमाथि राखिएको एनसेलको टावर भने हल्लिरहेको थियो । पर्खाल छेउमा बसेकालाई नबस्नुस् बरु बीचबाटोमा बसेर छेउबाट गाडी जान दिनुहोस् भन्दै पुनः भृकुटीमण्डपमा बृहत् पुस्तक प्रदर्शनीमा गएँ ।
बीचमा काकाको फोन आयो । बुहारी र विनिताको माइतीबाट पनि फोन आयो अब मेरा सबै परिवार सकुशल थिए । तर, मेरो देशको कहालीलाग्दो क्षति भइसकेको थियो । हजारौँ मानिस मरिसकेका थिए अब प्रदर्शन स्थगन गर्नुको विकल्प थिएन । केही मानिस आत्तितएर पुस्तक लगिएछ भनेर बुझाउन आइरहेका थिए । तर, राती भृकुटीमण्डपका सबैले हाम्रो पुस्तक प्रदर्शनीमा सेल्टर लिए । सांग्रिला पब्लिकेसनका अध्यक्ष मणिजीले पनि त्यहीँ सेल्टर लिनुभयो । जेहोस् पुस्तक पढाउन नसके पनि यो महाविपत्तिको बेला हामीले लगाएको पुस्तक प्रदर्शनी हलले धेरै मानिसलाई पानीबाट भने जोगायो । साँझ मलामी गएँ । दुःखी ड्राइभरलाई दुःख दिन मन लागेन बेलुका मारवाडीको मलामी आपँैmले गाडी कुदाएर गएँ । कम्तीमा पचास लासहरू जलिरहेका थिए । हामीले एउटा सानो बालक जलिसकेपछि पालो पायौँ । मलामीविहीन लास थिए सबै । हामी पनि जम्मा १० जना मात्र थियौँ । मर्दा मलामी चाहिन्छ भन्थे तर मानिस एक्लाएक्लै जलिरहेका थिए । रुने मानिस पनि थिएनन् ।
भोलिपल्ट थाहा भयो, यो प्रदर्शनीमा हराएका पुस्तकको हिसाब लगाउँदा लाखौँ घाटा भएको थियो मलाई साथै प्रदर्शनी स्थगनको घाटाको त कुनै हिसाबै छैन तथापि, मेरो परिवारमा मानवीय क्षति भएको थिएन । परिवारका सदस्य गुमाउनेको दाँजोमा यो भौतिक क्षति केही होइन जस्तो लाग्यो मलाई । परिवारको चिन्ता परेको त्योे क्षण सम्झँदा अहिले पनि यस्तो लाग्छ मलाई । विनिताले मलाई सम्झाएकी हुन् या आपँैmलाई भन्दै थिइन्, सम्पत्ति त गयो हामी त बाँचेका छौ नि जीवन रहे धन त कमाइहालिन्छ नि । आफ्नो परिवार मात्र नभनी आज आर्मी, सशस्त्र र प्रहरीहरू खटिरहनुभएको छ । उसैगरी डाक्टर र नर्सहरू पनि । तर, नेपाल बन्द भनेर ससानो कुरामा सडकमा टायर बाल्ने र नेपाल बन्द गर्ने राजनीतिक दलको भातृ संगठन भने कतै देखिएनन् । सबैको मुटु दरो नहुन पनि सक्छ । तर, के चाहिँ हो रहेछ भने केही मानिस साँच्चै नै दरिला हुँदा रहेछन् ।

प्रतिक्रिया