मुलुकमा महाभूकम्प गएको दुई साता बितेको छ, त्यसपछिको अवस्थालाई कसरी हेर्नुभएको छ ?
भूकम्प गएको दुई हप्ता बित्यो । जनताले अहिले पनि वैशाख १२ को मध्याह्नलाइ बिर्सन सकेका छैनन् । लगातार भूकम्पका स–साना धक्का आउने क्रम रोकिएको छैन । यसले गर्दा जनताको त्रास बाँकी नै छ । यो विपत्तिले धेरै जनताको ज्यान जानुका साथै लाखौँ घरबारविहीन भएका छन् । हजारौं राष्ट्रिय सम्पदा समाप्त भएको छ । देशका कैयौँ भागमा ज्यादै क्षति पुगेको छ । यस्तो संवेदनशील अवस्थामा पनि जनताले गरेको अपेक्षा सरकारले पूरा गर्न सकेको छैन । जनताले खुला आकाशमुनि भिजेर दिन र रात काटे र अझै काटिरहेका छन् । यो मानवीय रूपमा अत्यन्तै दुःखद् अवस्था हो । यसलाई मैले एउटा दुःखद् क्षणको रूपमा लिएको छु । अहिले पनि कैयौँ स्थानमा राहत पुगेको छैन । जनतामा आक्रोश छ । यस्तो बेला पीडामा रहेका र सामान्य अवस्थमा रहेका सबै जनतालाई एक भएर आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न हार्दिक अनुरोध गर्दछु । यो समय सत्ता पक्ष वा विपक्ष भनेर बस्ने बेला होइन । सबै एक हुनुपर्छ । जनता सबैका साझा हुन, प्रकृतिले कति बेला कसलाई दुःख दिन्छ थाहा छैन ।
महाभूकम्पका बेला व्यक्तिगत रूपमा तपाईंले कस्तो महसुस गर्नुभयो ?
म सपनामा छु वा विपनामा, छुट्याउन गाह्रो भयो । अहिले पनि त्यो त्रास समाप्त भएको छैन । एकैछिनमा हामीले आफन्त, सम्पदा, आफ्ना धेरै चिज गुमाएका छौँ । ती पीडा भूल्न गाह्रो हुँदो रहेछ । तर पनि नभुली सुखै छैन । जबर्जस्ती भुल्नुपर्छ । सारा नेपालीले भोगेका पीडा भुलेर गाँस नभएको ठाउँमा गाँस, बास नभएको ठाउँमा बास पुर्याउनुपर्छ । जहाँ जे आवश्यकता छ, ठाउँ र अवस्था हेरेर सबैले सहयोग गर्नुपर्छ । अहिले पनि गाउँ–गाउँमा जनता खुला आकाशमा बसेका छन् । वर्षाको समय आउँदै छ । समयमै उनीहरूका लागि केही गर्नुपर्छ । मन्त्री परिषद्को बैठकमा टेन्ट ल्याउने विषयमा छलफल हुँदा मैले प्रस्ताव राखेँ– नेपालमा टेन्ट बनाउने कारखाना छैन, अन्तबाट ल्याउनुभन्दा सक्दो जस्ता पाताको व्यवस्था गरौँ । अहिलेका लागि त्यही ठीक हुन्छ भन्ने लाग्छ ।
सरकारको तर्फबाट राहतका लागि अहिलेसम्म के–के भएको छ ?
कैयौँ स्थानमा अहिले पनि राहत नपुगेको समाचार सुनिँदैछ । हालसम्मको रिपोर्टले तीन लाखभन्दा बढी नागरिकको घर पूर्णरूपमा क्षति भएको छ । स्वस्फूर्त रूपमा सामाजिक संसस्थाहरूले दिने राहत व्यवस्थित नभएको सुनिँदै छ । कहीँ दोहोरो पुग्ने कहीँ एकपटक पनि नजाने गरेको सुन्नमा आएको छ । सरकारले स्थानीय प्रशासनसँग समन्वय गरेर राहत वितरण गर्न सबैलाई आग्रह गरेको छ । त्यसो गर्दा वास्तविक पीडितसम्म पुग्छ र कसैलाई दोहोरो हुने वा कसैले नपाउने अवस्था आउँदैन । सरकारले दिने राहतमा निस्पक्ष र पारदर्शी रूपमा दिनुपर्छ भनेर मातहतमा निर्देशन भएको छ । यदाकदा समस्या भए होलान्, नत्र त्यस्तो समस्या भएको छैन । केही ठाउँमा ढिला भएका होलान् तर सबै ठाउँमा पुर्याउन सरकारले कुनै कसर बाँकी राख्दैन ।
पीडितका लागि तत्काल गर्नुपर्ने काम के हो ?
वर्षाको मौसम सुरु हुने बेला भयो । भूकम्पले जर्जर पारेको भूमिमा पानी परेपछि खोलानालाले आफ्नो बाटो परिवर्तन गरेर जताततै पानि बग्न थाल्छ । त्यतिबेला अझ बढी क्षति हुन सक्छ । त्यसैले जनतालाई सुरक्षा दिने कुरामा सरकारले योजना बनाउनुपर्छ । घरबारविहीन भएका र खाना नभएका पीडितहरूका लागि गाँस र बासको व्यवस्था गर्दै अघि बढ्नुपर्छ । कैयाँैसँग शरीर ढाक्ने कपडासमेत छैन । सुत्केरी महिला केटाकेटी र वृद्धाहरूको अवस्था दयनीय छ । उनीहरूका लागि अवश्यकताअनुसार राहत प्रदान गर्नुपर्छ । यसका लागि सरकारको सम्पूर्ण शक्ति केन्द्रित हुनुपर्छ । यतिबेला कसैले पनि आफ्नो कुरा लागु गर्नेभन्दा जनतालाई बढीभन्दा बढी राहत कसरी दिन सकिन्छ भन्ने कुरामा एक हुनुपर्छ । घर बस्न नसक्ने भएकालाई पुनस्र्थापना गर्नमा जोड दिनुपर्छ । ध्वंस भएका पुरातात्विक बस्तुको निर्माण गर्नुपर्छ । यसका लागि मन्त्रिपरिषद्ले एउटा निर्णय गरेको छ । निकट भविष्यमै नेपालमा दाताहरूको सम्मेलन गर्ने र निर्माणमा सबैको सहयोग लिने भन्ने । त्यसमा सबै निर्माणकर्ता र सहयोगीहरूलाई समावेश गरिनेछ । यसलाई साकार बनाउन सबै लाग्नुपर्छ । देशबाहिर छरिएर रहेका नेपाली, जो गैरआवासीय नेपाली छन्, उनीहरूसँग मिलेर राहतका लागि आग्रह गर्नुपर्छ । नेपाल सबैको हो र यसलाई बचाउने जिम्मा सबैले लिनुपर्छ । राहत दिने कुरामा खुट्टा कमाउने र सहयोग गर्ने कुरामा पहल नगर्ने काम कसैले गर्नु हुँदैन ।
भूकम्पपीडितका लागि दिने राहतका सम्बन्धमा मन्त्रिपरिषद्का सदस्यबीचमा एकता छैन भन्ने हल्ला सुनियो । सत्य के हो ?
शुक्रबार संसद्मा प्रधानमन्त्रीले सम्बोधन गर्नुभयो । साथै सत्ता पक्ष र विपक्षका नेताहरूले पनि सम्बोधन गर्नुभयो । सबैको भावना एकै प्रकारको आयो । के सत्तापक्ष के प्रतिपक्ष, सबैले एक स्वरमा भने, राष्ट्र विपत्तिमा परेको बेला सबै एक हुनुपर्छ । आ–आफ्नो ठाउँबाट सबै जुटेर उद्धार र राहतमा लाग्ने प्रतिबद्धता गरे । यो संकटको बेला देखिएको सकारात्मक सन्देश हो जसले आपतमा नेपाली एक हुन्छन् भन्ने सन्देश पनि जान्छ । अझै पनि कैयौँ स्थानमा नागरिक बेपत्ता भएका छन् । त्यही संसद्मा गृहमन्त्रीले सम्बोधन गर्नेबित्तिकै अर्थमन्त्री उठेर किन हिँड्नुभयो ? बुभ्न सकिएन । मन्त्रिपरिषद्को बैठकमा पनि उहाँले राहतको विषयमा अरूको कुरामा सहमति जनाउनुभएन । राहतका लागि सरकारले प्याकेज बनाउनुपर्छ । एक वा दुई मन्त्रीले आफूखुसी विदेशीसँग राहत माग्ने वा व्यक्ति व्यक्तिले डिल गर्ने काम गर्नु हँदैन भन्ने कुरा उठेको थियो । जसले सक्छ उसले आफ्नो क्षेत्रमा राहत लाने हो भने पहुँच नभएका प्रभावित क्षेत्रका जनताले के गर्ने ? यो चिन्ताको विषय हो ।
अहिले पनि कयौ ठाउमा राहत नपुगेको गुनासो सुनिन्छ । धेरैजसो राहतसामग्री सुगम स्थानमा मात्र पुगेको गुनासो छ । राज्यले के गरेको छ ?
राज्यको तर्फबाट राहत वितरणमा जति प्रभावकारी हुनुपर्ने हो भएको छैन । केही ढिलासुस्ती भएकै हो । त्यसका लागि मन्त्रिपरिषद्को सदस्यको हैसियतले म पनि जिम्मेवार छु । तर, सरकारको तर्फबाट भूकम्प गएको दुई घन्टा नबित्दै तत्कालीन कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले मन्त्रिपरिषद्को आपतकालीन बैठक बोलाएर उद्धारका लागि सबै संयन्त्रलाई परिचालन हुन निर्देशन दिनुभएको हो । यस्तो विपत्तिलाई दैवीप्रकोप भन्छन् । मैले यस्तो विपत्तिलाइ प्राकृतिक प्रकोप भन्ने गरेको छु । सरकारले त्यतिबेलै विपत् व्यवस्थापन समितिको बैठक बोलाएर निर्णय गरेको थियो । भूकम्प आउनेबित्तिकै सरकारका साथै कैयौँ सरकारी संघसंस्था स्वस्फूर्त रूपमा राहत र उद्धारमा जुटे । यो सकारात्मक कुरा हो । आपत परेको बेला कसैको निर्देशन कुर्नु पर्दैन । उद्धार पहिलो कुरा हो । तर, पनि सरकारको तर्फबाट सम्भव भएको सहज स्थानमा पनि राहत वितरणमा ढिलाइ भयो, त्यो गलत हो । जति छिटो गर्नुपर्ने थियो भएन । भूकम्पपछिको पहिलो बैठकमा रहत वितरण गर्ने धेरै काम सहरी विकास मन्त्रालयले लिएको थियो– पीडितलाई आवश्यक पर्ने टेन्ट, खाना, पानीलगायतका सामग्री वितरण गर्ने । तर, उक्त मन्त्रालयले जति गर्नुपर्ने हो गर्नै सकेन । त्यसपछि उक्त काम १३ गते नै सशस्त्र प्रहरीलाई दिइयो । उनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्दैछन् । भारतमा लामो समय बस्दा देखेको अनुभवअनुसार त्यहाँ के छ भने प्राकृतिक विपत् पर्नेबित्तिकै केही रकम तत्काल निकासा गरेर राहत उपलब्ध गराइन्छ । हाम्रोमा कैयौँ अनुभवको खाँचो छ । यो विपत्तिले धेरै कुरा सिकाएको महसुस हुँदै छ । प्रक्रिया मिलाउने काम पछि गर्छन् भारतीयहरू । अर्को कुरा, सुरुमा राहतभन्दा उद्धारमा बढी केन्द्रित भइयो । यहाँ त्यो आवश्यक पनि थियो । मान्छे जीवितै उद्धार गर्न सकिन्छ कि भनेर लाग्नु ठीक पनि हो ।
उद्धारमा नेपाली सुरक्षा टोलीको भूमिकालाई के भन्नुहुन्छ ?
विपत्तिमा सहयोग गर्नेलाई नराम्रो भन्नु हुँदैन । तर, हामीले सोचेभन्दा उत्कृष्ट काम गरे नेपाली सुरक्षा निकायले उद्धारमा । परेको बेला ज्यानको बाजी लगाएर अरूलाई बचाउन सक्दा रहेछन् भन्ने प्रमाण दिए उनीहरूले । विदेशीको तुलनामा नेपालीको भूमिका कम थिएन । विदेशबाट आएका कैयौँ हेलीकप्टरले हामीलाई सहयोग गर्नेभन्दा आफ्ना नागरिक ओसार्ने काम मात्र गरे । सहयोगको नाममा विमानस्थल जाम गर्ने काम भयो जसले गर्दा सहयोग पाउनुपर्नेले चाहे जति पाउन सकेनन् । सूचना प्रवाहका नाममा हौवा फैलाउने प्रयत्न पनि भएको सुनियो । सशस्त्रले लामो समयपछि कैयौँ नागरिकको जीवितै उद्धार गरेका छन् । यो धेरै प्रभावकारी काम हो ।
राहत वितरण गर्नेभन्दा बढी चर्चा कमाउने काम भयो जस्तो लाग्दैन ?
यतिबेला जनता आहतमा छन् । जसले जहाँबाट जे सक्छ गर्नुपर्छ । तर, कैयौँ ठाउँमा राहतको नाममा प्रचार बढी गर्ने प्रवृत्ति देखिएको छ । त्यो गलत हो । भोका जनतालाई स–साना पोका दिएर फोटो फेसबुकमा हाल्दै प्रचार गर्ने काम बन्द गर्नुपर्छ । यो गलत प्रवृत्ति हो । सहयोग भावनात्मक रूपमा गर्नुपर्छ, प्रचारका लागि मात्र गर्नु हुँदैन । पवित्र मनले सहयोग गर्न ठूलो प्रचार गर्नु पर्दैन । यदि पीडितलाई राहत दिने हो भने जसले पनि स्थानीय प्रशासनलाई सूचित गरेर राहत वितरण गर्नुहोला । जहाँ नपुगेको छ त्यहाँ पुर्याउनु । सुत्केरी, महिनावारी भएका महिलाका लागि आवश्यक पर्ने सामानमा पनि सबैको ध्यान जानुपर्छ । आवश्यकता र समस्या हेरेर सहयोग गरियो भने वास्तविक राहत हुन्छ । पीडितको आवश्यकताभन्दा दिनेको सहजताको आधारमा राहत दिनुले अर्थ राख्दैन । त्यस्तो गर्दा एउटै सामान मात्र पुग्न सक्छ । मान्छेको दैनिकीमा आवश्यक हुने सबै सामान पुग्यो भने वास्तविक राहत हुन्छ । सक्नेले हातखुट्टा नकमाइकन एक भएर सहयोग गरौँ ।
राहत वितरणमा दुरूपयोगको कुरा आउन थालेको छ । त्यस्तो नहोस् भन्नेमा के गर्नुपर्ला ?
राहत वितरणमा दुरूपयोग नहोस् भन्नेमा सरकार सचेत छ । राहत दिने वा लिने कसैको रहरले हुने कुरा होइन । धेरै जनता घरबाहिर छन् । बारी र पाटाहरूमा बास छ । ती जनतालाई गाँस र ओत दिनुपर्छ भन्नेमा सरकार सचेत छ । तर, पीडितको नाममा फाइदा लिन खोज्नेहरू पनि सलवलाइरहेको पाएका छाँै । पीडितको नाममा राहत लिएर बेचेको पाइयो । यस्ता व्यक्तिलाई कारबाही गर्नुपर्छ । केही कारबाहीमा परिसकेका छन् । सरकार यस्तो क्रियाकलाप गर्नेहरूसँग सजग भएर लागेको छ । यस्ता गलत कार्यका बारेमा जनतालाई सचेत बनाउने काम सञ्चारमाध्यमको पनि हो । पीडितका नाममा राहत उठाएर व्यक्तिगत प्रयोग गरेको पाइएमा सञ्चारमाध्यमले त्यसको भन्डाफोर गर्नुपर्छ ।
राहतको नाममा आएका विदेशीले नेपालको बारेमा गलत प्रचार गरेको कुरा बाहिर आयो । यसमा के भन्नुहुन्छ ?
यस विषयमा धेरै कुरा आए । यतिबेला हामी विपत्तिमा छौँ । हामीलाई पवित्र भावनाले धेरैले सहयोग गरे । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । सरकारले सबै सहयोगीलाई धन्यवाद दिँदै आफ्नो देश फर्काएको छ । अहिले विदेशबाट आएका स्वास्थ्य टिम मात्र यहाँ कार्यरत छन् । अब उद्धार र राहतको जिम्मा नेपालका सुरक्षा निकायलाई दिइएको छ । यस बीचमा केही गलत मनशाय पनि देखियो । सूचनाको युगमा केही लुक्ने सम्भव छैन । ठूला देशको नाममा नेपाललाई गलत नजरले हेर्ने प्रवृत्ति पनि देखियो । उद्धारको नाममा जे–जस्ता कुरा बाहिर आए ती सबैको सरकारले समीक्षा गर्नेछ । आफ्नो राष्ट्रका बारेमा सबै जनता सचेत र चिन्तित छन् । यो सकारात्मक कुरा हो । नेपालको सौर्वभौमिकता रक्षार्थ सबै जनता र सरकार सचेत छन् । नेपाललाई कसैले फरक नजरले हेरे त्यो सह्य हँदैन । धेरै विदेशीले नेपालको विपत्तिमा पवित्र भावनाले सहयोग गरेका छन् । यसलाई धन्यवाद दिनुपर्छ ।
भूकम्पले नेपालको विद्युत्मा कति क्षति पुर्याएको छ ?
धेरै क्षति पुगेको छ । विस्तारै यसको डाटा आउनेछ । कैयौँ विद्युत्गृह सञ्चालन हुन सकेका छैनन् । थुपै् आयोजनाको काममा अवरोध भएको छ । कैयौँमा मेसिन बिग्रेको छ । तल्लो मस्र्याङ्दी ७० मेगावाट थियो, अहिले ६६ मेगावाट मात्र सञ्चालनमा छ । सुनकोशी, त्रिशुली, चिलिमेलगायत ठाउँमा विद्युत् अवरुद्ध भएको छ । भोटेकोशी रसुवागढीलगायतमा क्षति पुगेको छ । निर्माणाधीनमा काम रोकिएको छ । कैयौँ ठाउँमा अहिले पनि नेपालीलगायत चिनियाँ कामदार प्राविधिक हराएका छन् । पहिरोमा पुरिएको आशंका छ । उनीहरूको उद्धार हुन सकेको छैन । भूकम्पका कारण प्रसारण सिस्टममै अवरोध पुगेको छ । कति स्थानमा पोल ढलेका छन्, तार चुँडिएका छन् । सबैको विवरण निकाल्ने काम हँदैछ । सक्ने ठाउँमा निर्माण भएको छ । विद्युत्बिना केही हँदैन भनेर सबै जनशक्तिलाई केन्द्रित गरेर काम थालेका छौँ । जहाँ–जहाँ सकिन्छ ती स्थानमा विद्युत् प्रसारण गरेका छौँ । बाँकी स्थानमा पनि अवरोध हटाएर प्रसारण गर्ने प्रयासमा छौँ ।
प्राधिकरण पुरानै अवस्थामा जान कति समय लाग्ला ?
विद्युत् प्राधिकरण पुरानै स्थानमा जान ४/५ महिना लाग्छ । त्रिशुली, देवीघाटमा पानीको समस्या छ । कुलेखानीमा केही क्षति पुगेको छ । केही स्थानमा धाँजा फाटेको छ । वर्षात्मा यसले अझै क्षति पुग्न सक्छ । त्यसका बारेमा अध्ययन भएको छ । राज्यको ठूलो जनधनको क्षति भएको छ । त्यसलाई पूरा गर्न हामी लागिपरेका छौँ । यसका लागि सम्बन्धित विज्ञहरूको राय, सुझाव र सल्लाह लिने काम भएको छ । त्यसैको आधारमा काम गर्ने छौँ । भूकम्पले पुर्याएको क्षतिको विवरण र अध्यन गरेर काम गर्ने योजनमा छौँ । भइरहेका निर्माणाधीन आयोजनामा धेरै क्षति पुगेको छ । विद्युत् प्राधिकरणको मात्र होइन निजी क्षेत्रको प्रसारण लाइनमा समेत असर पुगेको छ । भोटेकोशीमा रहेको सानीमाको आयोजनाले वैशाख १८ गतेबाट प्रसारण गर्ने तयारीमा थियो । त्यसमा धेरै क्षति पुगेको छ । सरकारी र निजी गरेर १ सय ७१ विद्युत् आयोजनमा क्षति पुगेको छ ।
जनतामा रहेको त्रास र यो समस्यालाई कसरी समाप्त पार्न सकिन्छ ?
यतिबेला राष्ट्र विपत्तिमा छ । जनता मानसिक रूपमा त्रसित र पीडित छन् । यो अवस्थाबाट जनतालाई माथि उठाउनका लागि सञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्नुपर्छ । कतै–कतै राहतको नाममा जनतालाई आहात पुर्याउने काम भएको सुनिन्छ । त्यो बन्द गर्नुपर्छ । यतिबेला जनतालाई राहत, उद्धार र पुनर्वासको आवश्यकता छ । सौर्य दैनिक पत्रिकाले जनतालाई सही सूचना प्रवाह गर्नुका साथै जनतामा एकताको सन्देश दिन सकोस् । अब रोएर होइन, एक अर्कासँग हातेमालो गरेर अघि बढ्नुपर्छ । पीडालाई भुलेर सहयोग र निर्माणमा सबै एक भएर लागौँ भन्न चाहन्छु ।
– चमिना भट्टराई
प्रतिक्रिया