राहत सामग्री वितरण गर्न जाँदा एकजना भूकम्पपीडितसँग अन्तरंग संवाद गरेँ । एउटी पीडितको दर्दनाक कथा यहाँ शेयर गर्न चाहेँ । थाहा मिडिया ग्रुप भूकम्पपीडित सहयोग अभियानको टोली राहत बोकेर ललितपुरको बुङ्मति पुग्दा दिउँसोको चार बजेको थियो । त्यहाँ चार/पाँच सय स्थानीय रहत लिन पंक्तिबद्ध थिए । हातमा कुपन बोकिरहेका । सबैको अनुहारमा एउटै तनाव थियो भने स्थानीय स्वयंसेवकहरू राहत वितरण प्रक्रिया व्यवस्थित बनाउन तल्लिन देखिन्थे ।
मेरो आँखा पर्यो अग्रपंक्तिमा उभिइरहेकी एक महिलामाथि । ४०/४२ वर्षकी लाग्ने ती महिला सेतो पहिरनमा थिइन् । सेतो कुर्ता सुरुवाल, सेतो चप्पल र सेतै पछ्यौरा । बेला–बेला लामो खुइय्याँ काढिरहेकी हुन्थिन् । थकित अनुहार । आँखा चेपचेपबाट छचल्किरहेका । सायद उनी बिहानैदेखि लाइनमा बसिरहेकी थिइन् । अग्रपंक्तिमा भएकाले उनको सुरुमै पालो आयो । राहतस्वरूप उपलब्ध गराइएको खाद्यसामग्रीसहितको बोरा कम्मरमा बोकेर उनी त्यहाँबाट निस्किएपछि मैले उनलाई पच्छ्याएँ । बाटोमै परिचय दिँदै केही सामान्य कुराकानी गरेँ र उनको घर हेर्ने इच्छा जाहेर गरेँ । ‘आउनुस्,’ उनले मतिर हेरिनन् । म पछि लागेँ । नाम रहेछ, शान्ति शाक्य । घर ललितपुर, कार्यविनायक नपा–१० । विनाशकारी भूकम्पमा उनले श्रीमान् र ससुरा गुमाएकी रहिछन् । धेरै बोल्न सकिनन् । एक त दोहोरो शोक, अर्कोतिर राहत सामग्रीको भारी । टिलपिलाइरहेका आँखाले नै धेरै कुरा बोलिरहेका थिए । रेडियो थाहा सञ्चारका रिपोर्टर रविन्द्र घिमिरे र म उनको पछि–पछि छौँ । ललितपुरका साँघुरा गल्लीहरू छिचोल्दै शान्ति शाक्यको घर गइरहेका छौँ । धरासायी भई कतिखेर ढल्ने हो ठेगान नभएका घरहरू छिचोल्दै केही मिनेटको गल्लीको यात्रापछि हामी उनको घर पुग्यौँ ।
कठै १ घर भन्नु के थियो र १ थियो त केवल इँट्टा र माटोको थुप्रो । यो त्यही थुप्रो, जहाँ उनको संसार पुरिएको थियो । श्रीमान् पुरिएका थिए । ससुरा पुरिएका थिए । भएको जे जति थियो सबै पुरिएको थियो । ‘बेलैमा उद्धार गर्न सकेको भए उनी बाँच्थे,’ शान्तिले फेरि अर्को खुइय्याँ काढिन्, ‘सबैलाई आफ्नै ज्यानको माया १ भागदौड मच्चिइरहेका बेला को आउने मेरो घर खोतल्न १’
त्यस दिन बिहानभरको कामबाट लखतरान भएर घर आएका उनका श्रीमान् ११ बजेतिर खाना खाईवरी आफ्नै कोठामा सुस्ताइरहेका थिए । देशदुनियाको खबर जान्न टेलिभिजन हेरिरहेका उनी अन्ततः आफैँ समाचार बने । मध्याह्न १२ बजे पुरिएका उनी अपराह्न चार बजे मृत भेटिए । शान्तिले पति र ससुराको प्रक्रिया पुर्याएर काजकिरियासमेत गर्न पनि पाइनन् । ‘पैसै थिएन । न कसैलाई फुर्सदै थियो । यसो पूजा गरेजस्तो गरियो । सकियो,’ शान्तिले भनिन् । शान्ति र उनका श्रीमान्ले खेतिकिसानीको काममा ज्यालादारी गरेर जीवनयापन गर्दै आइरहेका थिए । सानो घर थियो । १९ वर्षका छोरा छन् । काठको कलात्मक झ्याल र फोटोफ्रेम बनाउने काम गर्छन् । ‘आफ्नो खर्चको जोहो आफैँ गर्छ, भनौँ न १’ शान्तिले छोरातिर हेरिन् । छोरो छेवैमा झोक्राइरहेका थिए । भने, ‘घरभन्दा पनि बुबा र हजुरबा एकैसाथ गुमाउनपर्यो । पीर त्यही भो ।’ शान्ति अहिले छोरासहित माइतीमा आश्रय लिइरहेकी छिन् । माइतीमा सरेको आज आठ दिन भयो । तर, माइत पनि कति दिन बस्ने रु ‘भाइ आफ्नो हो, बुहारी आफ्नो हुन्न ।
माइतीमा पनि समस्यै छ ।’ यसो भनिरहँदा उनी आकाशतिर टोलाइरहेकी थिइन् । उनी झिसमिसेमै माइतीबाट घर भएको ठाउँमा आइपुग्छिन् । माटो–इँट्टा पन्छाउँछिन् । खाने–पकाउने भाँडाकुँडा निकाल्ने कोशिस गर्छिन् । ‘ईः आज यो भेटियो १’ उनले एउटा कुच्चिएको कचौरा देखाइन् । ओढ्ने ओच्छ्याउने त कता हो कता १
घर भएको एक टुक्रो जमिनबाहेक उनको आफ्नो भन्नु केही छैन । एक्लैको ज्यालादारीले चुलो बाल्न मुस्किल छ । निजीस्तरबाट छिटफुट राहत आइरहेको छ । राहतस्वरूप प्राप्त सामग्रीले केही दिन खान पुग्ला । तर, सरकारले एउटा त्रिपालसम्म पनि पुर्याउन सकेको छैन । ‘कहाँ बस्ने, के खाने भन्ने साह्रै पीर भो,’ उनका आँखाको अनन्त निराशा देखेर हाम्रा आँखा पनि चिसा भए । केहीबेरको कुराकानीपछि हामी फर्कियौँ । उनका एक जोर आँखाले हामीलाई परसम्म पच्छ्याइरहेका थिए ।
– पवनराज पौडेल/रवीन्द्र घिमिरे
प्रतिक्रिया