स्वामी रामदेवलाई खुलापत्र

ramdevश्रद्धेय स्वामीजी ! म नेपालको एक मुटुरोग विशेषज्ञ हुँ । तपाईंंले टेलिभिजनको आस्था च्यानलमार्फत प्रदर्शन गर्नु हुने योग र प्राणायाम मैले पनि हेर्ने गरेको छु । मलाई अत्यन्तै मन पर्छ तपाईंका प्रस्तुतिहरू । मैले औषधि खुवाइराखेका धेरै नै मुटुका रोगीले तपाईंको प्रदर्शन हेर्ने

गरेका छन् । धेरै नै संख्यामा मुटुका रोगीले मलाई प्रश्न सोध्ने गरेका छन् ‘स्वामी रामदेवले सिकाएको प्राणायाम गर्दै छु, अब औषधि खान छोडे कसो होला ।’ प्रश्न सोध्ने सबैलाई मैले ‘प्राणायाम गर, औषधि पनि खाऊँ’ भनेर सम्झाउने गरेको छु । २–४ जना मेरा बिरामीहरूले मलाई नसोधी तपाईंंको प्रस्तुतिबाट अत्यन्तै प्रभावित भएर खाइराखेको ब्लड प्रेसरको औषधि खान छोडेछन् । औषधि छाडी प्राणायमा मात्र गरेको ७ दिनमै एक जनाको ब्रेन हेमरेज भएछ अनि अर्को एक जनाको हृदयघात भएर ज्यान गयो ।
उनीहरूका नातेदार आएर मेरो अगाडि तपाईंंको प्रस्तुतिबारे आक्रोशपूर्वक नकारात्मक टिप्पणी गरे । मेरो चित्त साह्रै दुख्यो । आखिर तपाईंं योगशास्त्रलाई चिकित्साशास्त्रको मूलधारमा ल्याउन यत्रो त्याग, तपस्या गरी रहनुभएको छ, लाखौँ मानिसले तपाईंंले सिकाएको प्राणायाम गरेर स्वास्थ्य लाभ गरेका छन् तैपनि तपाईंंको प्रस्तुतिप्रति नकारात्मक टिप्पणी गर्नेहरू पनि रहेछन् यहाँ । यसबारे तपाईंंलाई जानकारी होस् भनेर यो खुला पत्र लेख्ने आँट गरेको हुँ । गल्ती भए क्षमा पाउँ महाराज !
मलाई राम्ररी थाहा छ ती मेरा रोगीहरू तपाईंंले सिकाएको प्राणायाम गरेर मरेका होइनन् । उनीहरूलाई कडा ब्लड प्रेसर थियो । तीनथरी औषधि खाएर मुस्किलले उनीहरूको ब्लड प्रेसर नियन्त्रणमा आएको थियो । प्राणायाम सुरु गरे तापनि औषधि खान छाड्न नहुने हो उनीहरूले । यो कुरा उनीहरूले बुझ्न सकेनन् । उल्टो तपाईंंले प्रस्तुत गरेको चमत्कारिक योग चिकित्सा पद्धतिबाट प्रोत्साहित भएर उनीहरूले औषधि खान बन्द गरेका हुन् । ज्यानै गयो स्वामीजी उनीहरूको ।
हाम्रो उद्देश्य रोगमुक्त गर्ने हो, ज्यानै जाओस् भन्ने त पक्कै होइन । यस कारण तपाईंंलाई मेरो विनम्र अनुरोध छ, आफ्नो प्रस्तुतिमा एकदुईवटा कुराहरू थपिदिनुस् अनि एक दुईवटा कुराहरू घटाइदिनुस् । तपाईंंको प्रस्तुति हेरेपछि, प्रवचन सुनेपछि रोगीहरू, योग र प्राणायामप्रति आकर्षित हुन्छन्, यसबाट चमत्कारै पो हुने रहेछ, रोग पुरै निर्मूल हुने रहेछ भनी ढुक्क हुन थाल्दछन् । यसका साथै रोगीहरूको एलोप्याथी औषधिप्रति नकारात्मक धारण बन्न थाल्दछ ।
जस्तै औषधिहरू अप्राकृतिक हुन, क्यामिकलबाट बनाइएका हुन्, साइड इफेक्टहरू धेरै हुन्छ, एकपटक सुरु गरेपछि सधैँ खाइरहनुपर्छ, रोग नियन्त्रण गर्ने मात्रै हो, निर्मूल पार्न सक्ने होइन, महँगा हुन् आदि इत्यादि । रोग पनि निर्मूल नहुने, साइड इफेक्ट पनि गर्ने अनि पैसा पनि धेरै खर्च हुने डाक्टरी औषधि किन खानुप¥यो, पैसै नलाग्ने, रोग निर्मूल पार्ने योग, प्राणायम गरे भइहाल्यो नि भन्ने निष्कर्ष निकाल्नेतर्फ धेरै नै रोगीहरू उत्साहित हुन्छन् । यसैको फलस्वरूप उनीहरूले औषधि खान बन्द गर्छन् अनि तपाईंंको अगाडि पलेटी कसेर बसी कपाल भाती, प्राणायम गर्न थाल्दछन् । अनि केही दिनमै औषधि छाडेको नतिजा निस्कन्छ मृत्यु । स्वामीजीलाई मैले बताएका यस्ता घटनाहरूका बारे थाहा छ कि छैन कुन्नि । थाहा छैन भने मेरो यो विनम्र अनुरोध छ कि तपाईंंले योग र प्राणायमको उपयोगिताको प्रचार गर्दा रोगीले खाइराखेको औषधि डाक्टरको सल्लाहविना छुटाउनेतर्फ प्रोत्साहित गरी दिनुभएन ।
उच्च रक्तचाप भएका रोगीहरूले मात्र होइन, चिनीरोग र वाथ मुटुका रोगीहरूले समेत औषधि छाडी प्राणायाम गर्न थालेपछि रोग निर्मूल हुन्छ भन्ने विश्वास लिएको मैले फेला पारेँ । एक जना मेरा महिला रोगी चिनी रोगद्वारा पीडित, जसको आकस्मिक हृदयाघात भएर बाइपास सर्जरीसमेत भइसकेको छ, उनले सबै औषधिहरू छाडी नियमित रूपमा व्यायाम, खानपानमा नियन्त्रण, प्राणायाम, ध्यान अनि तपाईंंले सिकाउनुभएअनुसार एक सय ग्राम तिते करेला, एक सय ग्राम काँक्रो वा लौका र एक सय ग्राम गोलभेडाको रस बनाई दुई गिलास पानीमा मिसाई दैनिक पिउने गरिछन् । सुरुका दिनहरूमा निकै नै फुर्ति आएछ र स्वस्थ्य अनुभव गरिन् उनले । छाती दुख्ने गरेको समेत ठिक भएछ । तर ३–४ महिनापछि दम बढ्ने र हात, खुट्टा, मुख सुन्निने, पिसाब कम हुने भएछ । उनी म कहाँ दौडिएर आइन् । सबै परीक्षण गरी हेर्दा हार्ट फेलिएर र किड्नी फेलिएर सुरु भइसकेको रहेछ, ब्लड सुगर बढेर ४०० पुगेछ । रिपोर्ट सुनाएपछि उनीले छानाबाट खसेको अनुभव गरिन् अनि टाउकोमा हात राखी हत्तेरिका राम राम भनिन्, श्रद्धेय महाराज, मैले प्राणायामले बेफाइदा गर्‍यो भन्न खोजेको होइन ।
योग र प्राणायाम स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक चिजहरू हुन् तर यसबाट मात्र रोग निर्मूल हुँदो रहेनछ भन्ने आफ्ना बिरामीहरूको अनुभव तपाईंंसमक्ष पु¥याउने प्रयास गरेको मात्र हुँ । अब एउटा अत्यन्तै रोचक र अचम्मको घटना महाराजलाई जानकारी गराउन गइराखेको छु । घटना एक महिनाअगाडिको हो । नेपालको चितवन जिल्लामा बेलाबखत मुटुका रोगीहरूको परीक्षण गर्न जाने गरेको छु । नेपालमा टेलिभिजन गाउँगाउँमा पुगेको छ । आस्था च्यानल पनि जहाँतहीँ हेर्न पाइँदो रहेछ । चितवन जिल्लाको भरतपुर वडा नम्बर १२ मा एकजना ९ वर्षका बालक छन् । उनलाई जन्मौटे मुटुको रोग छ । उनको मुटुमा प्वाल छ, जसलाई हामी जस्ता डाक्टरहरूले वेंट्रिकुलर सेप्टल डिफेक्ट भन्ने गर्दछौँ । मैले एक वर्षअगाडि मुटुको भिडियो ईको गरेर हेर्दा प्वाल १.६ से.मी. नापको थियो, अनि मुटुभित्रको चाप ५० मि.मि. थियो । मैले तत्काल अप्रेसन गरेर प्वाल टाल्नु पर्छ । नत्र पछि ढिलो भएमा अप्रेसन गर्न मिल्दैन अनि ज्यान खतरामा पर्छ भनेको थिएँ । अप्रेसन खर्च एक लाख रुपैयाँ लाग्छ । काठमाडौंको सहिद गंगालाल अस्पतालमा लगिहाल भनेर चिठ्ठीसमेत लेखिदिएको थिएँ । पैसा नपुगे नेपाल हृदय रोग निवारण प्रतिष्ठानको केन्द्रीय कार्यालय वा ललितपुर हार्ट क्लिनिक पुल्चोकमा आउनू, सक्दो सहयोग गरुँला पनि भनेको थिएँ । एक लाख रुपैयाँ लाग्छ भन्ने सुन्नेबित्तिकै बिरामीको बाबुको निदारमा चिटचिट पसिना आएको मैले आफ्नै आँखाले देखेको थिएँ । एक वर्षको अन्तरालपछि उनले छोरालाई लिएर म कहाँ फेरि जँचाउन आएका थिए, गएको महिना म चितवन गएको बेलामा । मैले इको गरेँ फेरि उनको मुटुको जाँच गरेँ । मुटुको प्वाल जस्ताको तस्तै थियो, मुटुभित्रको चाप भने ८० मि.मि. पुगिसकेको रहेछ साथै राइट टू लेफ्ट सन्ट भइसकेको रहेछ जुन अप्रेसन गर्न नमिल्ने अवस्था हो । मैले बाबुचाहिँलाई गाली गरेँ किन छोराको अप्रेसन नगराएको भनेर । उनको उत्तर सुनेर म मात्र होइन, तपाईंं पनि चकित पर्नुहुनेछ महाराज !
उनले भने, ‘मेरो छोराले दैनिक ३ पल्ट स्वामी रामदेव महाराजले भन्नुभएको छ कपालभाती प्राणायाम गरेको खण्डमा जस्तो सुकै मुटुको रोग पनि ठिक हुन्छ रे । म गरिबले अप्रेसन गर्न कहाँबाट एक लाख रुपैयाँ जुटाउने र । पहेँलो धोती लगाउने, छाती पेट देखाएर कपालभाती प्राणायाम सिकाउने डाक्टर योगीले सिकाएको उपचार गर्न एकपैसा पनि खर्च नहुने रै’छ । त्यसकारण छोरालाई दैनिक एक पल होइन बिहान, दिउँसो र बेलुका ३०–३० मिनेट कपालभाती प्राणायाम गराउँछु । अब तपाईंले मुटुको भिडियो गरेर मेरो छोराको मुटुको प्वाल टालियो कि टालिएन भनिदिनुप¥यो ।’ स्वामीजी अब तपाईंंले नै भनिदिनुस्, मैले के उत्तर दिने ? एक वर्षअगाडिसम्म अप्रेसन गराएको भए पूर्णरूपले निको हुने यो जन्मौटे मुटुको रोग व्यायाम, प्राणायामको बाटोमा अन्धो भएर लाग्दा अप्रेसन गर्न नमिल्ने अवस्थामा पुग्यो । अब यो बच्चाको अप्रेसन कुनै पनि सर्जनले गर्दैन किनकि यो अवस्थामा यस्तो रोगको अप्रेसन सफल हुँदैन ।
यस्ता संवेदनशील र जटिल कुराहरू आधुनिक चिकित्सा प्रणालीको विकासबाट थाहा हुन् सकेको हो । योगशास्त्रमा जन्मौटे मुटुको रोगीको मुटुभित्रको चाप नाप्ने र राइट टु लेफ्ट सन्ट नाप्नेबारे कतै उल्लेख गरिएको छैन । हुन त म आधुनिक चिकित्साशास्त्रको विद्यार्थी भएको हुनाले योगशास्त्रका कुरा मैले थाहा नपाएको पनि हुनसक्छ । तपाईंंले सिकाउने गरेको विद्यामा यी कुराहरू छन् भने बताइदिनुपर्‍यो महाराज !
मुटुको प्वाल कपालभाती प्राणायामले होइन, अस्पतालमा गएर जतिसक्यो चाँडो चक्कु, सियो धागोले टाल्नुपर्छ भनेर आफ्ना भक्त रोगीहरूलाई भनिदिनुप¥यो । नत्र भने म जस्तो डाक्टर र मुटुको प्वाल कपालभाती प्राणायामद्वारा टालिन सक्छ भन्ने विश्वासमा दैनिक तीनपल्ट कपालभाती प्राणायाम गर्ने ती बालक जस्ता मुटुरोगीहरूले दुःख पाउने भए । बिन्ती छ, हामी जस्ताको कल्याण गरिदिनुप¥यो महाराज ! श्रद्धेय स्वामीजी, मैले डाक्टरी पास गरेपछि हिप्पोक्रेटिक शपथ खाएको छु । रोगीलाई गलत बाटो देखाउने छैन, निस्वार्थ सेवा गर्नेछु भनी प्रण गरेको छु । मलाई आफ्नो बाटोमा हिँड्न मद्दत गर्नोस् महाराज !
तपाईंंको भक्त
डा. प्रकाशराज रेग्मी
(मुटुरोग विशेषज्ञ, ललितपुर)
साभार : नेपाल हर्ट फाउन्डेसन

प्रतिक्रिया