एनपिएल अक्सन : ‘ए’ र ‘बी’ क्याटोगोरीका खेलाडी गोलाप्रथाबाट छानिए, आठै टोलीको स्क्वाड पूरा

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सिजनका लागि भएको खेलाडी अक्सनमा क्याटोगोरी ‘ए’ र ‘बी’ का खेलाडीमध्ये केहीको टुंगो गोलाप्रथाबाट लागेको छ । समान रकममा १ भन्दा बढी टोलीले बोली लगाएपछि ८ खेलाडीलाई गोलाप्रथाको माध्यमबाट टोली छनोट गरिएको हो । क्याटोगोरी ‘ए’ का खेलाडी रुपेश सिंहलाई विराटनगर किंग्सले आफ्नो टोलीमा भिœयाएको छ । रुपेशका लागि पोखरा एभेन्जर्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले समान १५ लाख रुपैयाँको बोली लगाएका थिए । गोलाप्रथाबाट विराटनगर उनको नयाँ गन्तव्य बनेको हो ।

त्यस्तै, राष्ट्रिय टोलीका खेलाडी आशिफ शेखलाई लुम्बिनी लायन्सले २० लाख रुपैयाँको उच्चतम मूल्यमा अनुबन्ध गरेको छ । आशिफमाथि चितवन राइनोजबाहेक सबै टोलीले रुचि देखाएका थिए । अन्ततः गोलाप्रथाबाट उनी लुम्बिनी पुगेका हुन् । क्याटोगोरी ‘ए’ कै अर्जुन घर्तीलाई पोखरा एभेन्जर्सले १५ लाख रुपैयाँमा प्राप्त गरेको छ । अर्जुनमाथि जनकपुर बोल्ट्स र पोखराले बोली लगाएका थिए । तृतराज दास पनि १५ लाख रुपैयाँको बोलीपछि गोलाप्रथाबाट जनकपुर बोल्ट्समा पुगेका छन् । उनलाई जनकपुर र लुम्बिनी लायन्सले दाबी गरेका थिए ।

विवेक यादवलाई चितवन राइनोजले १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । उनीमाथि विराटनगर, पोखरा, चितवन र जनकपुरले बोली लगाएका थिए । ४ टोलीबीच प्रतिस्पर्धा भएपछि गोलाप्रथाबाट चितवनले उनलाई पाएको हो । क्याटोगोरी ‘बी’ का खेलाडीमध्ये दीपक बोहोरा १० लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्समा पुगेका छन् । उनलाई सुदूरपश्चिम र पोखरा एभेन्जर्सले दाबी गरेका थिए । शुभ कंसाकार पनि १० लाख रुपैयाँमा कर्णाली याक्समा पुगेका छन् । उनलाई लुम्बिनी, विराटनगर र कर्णालीले बोली लगाएका थिए ।

किशोर महतो १० लाख रुपैयाँमा लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । आकाश त्रिपाठी र नरेन साउद भने ५–५ लाख रुपैयाँमा क्रमशः लुम्बिनी लायन्स र विराटनगर किंग्स पुगेका छन् । यसैगरी क्याटोगोरी ‘सी’ बाट पनि ठुलो संख्यामा खेलाडी बिक्री भएका छन् । यस समूहमा १२४ खेलाडीले नाम दर्ता गराएका थिए भने २२ खेलाडीले अक्सनमार्फत टोली पाएका छन् । बलर गौतम केसी र कृष्ण पौडेल २ लाख रुपैयाँमा क्रमशः चितवन राइनोज र काठमाडौंँ गोर्खाज पुगेका छन् ।

अलराउन्डर प्रतीक श्रेष्ठ विराटनगर किंग्समा, विशाल सुस्लिङ र आशुतोष पाण्डे जनकपुर बोल्ट्समा न्यूनतम २ लाख रुपैयाँमा अनुबन्ध भएका छन् । सोनु देवकोटालाई काठमाडौँ गोर्खाजले २ लाख रुपैयाँमा लिएको छ भने मौसम ढकाल ३ लाख रुपैयाँमा चितवन राइनोज पुगेका छन् । ब्याटर सुजन थपलियाले ४ लाख २५ हजार रुपैयाँ पाउँदै विराटनगर किंग्समा स्थान बनाएका छन् । जारी अक्सनमा उनी क्याटोगोरी ‘सी’ का खेलाडीमध्ये सबैभन्दा बढी मूल्यमा बिक्री हुने खेलाडी बनेका छन् ।

अक्सनबाट नबिकेका केही खेलाडीलाई पनि टोलीहरूले ‘विस लिस्ट’ बाट समेटेका छन् । चितवन राइनोज, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र काठमाडौँ गोर्खाजले आवश्यक खेलाडी समेट्दै आफ्नो कोटा पूरा गरेका छन् । यससँगै एनपिएलमा सहभागी आठै टोलीले आगामी प्रतियोगिताका लागि आफ्नो खेलाडी समूह पूरा गरेका छन् । अक्सनले यस सिजनको प्रतिस्पर्धा अझ रोचक बन्ने संकेत गरेको छ ।

प्रतिक्रिया