अर्जेन्टिनालाई इजिप्टको चुनौती

कोलम्बिया र स्विट्जरल्यान्ड पनि क्वार्टरफाइनल दौडमा

अर्जेन्टिनाले अन्तिम ३२ को खेलमा प्रतियोगिताको नयाँ टोली केप भर्डेमाथि अपेक्षाभन्दा निकै कठिन जित निकाल्यो । यसका बाबजुद, हाल अर्जेन्टिना लगातार ८ खेलमा विजयी हुँदै उत्कृष्ट लयमा छ । यस अवधिमा टोलीले प्रत्येक जितमा कम्तीमा २ गोल गरेको छ

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण झन् रोमाञ्चक बन्दै गएको छ । अन्तिम १६ अन्तर्गत नेपाली समयअनुसार मंगलबार राति र बुधबार बिहान हुने २ महŒवपूर्ण खेलमा साविक विजेता अर्जेन्टिनाले इजिप्टको चुनौती सामना गर्नेछ भने अर्को खेलमा स्विट्जरल्यान्ड र कोलम्बिया क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । फुटबल समर्थकहरूको विशेष ध्यान अर्जेन्टिना र इजिप्टबीच हुने खेलमा केन्द्रित छ, जहाँ विश्व फुटबलका २ महान स्टार लियोनेल मेसी र मोहम्मद सलाह आमनेसामने हुनेछन् ।

अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा हुने अर्जेन्टिना र इजिप्टबीचको खेललाई यस चरणकै सबैभन्दा आकर्षक प्रतिस्पर्धाका रूपमा हेरिएको छ । एकातर्फ साविक विश्वविजेता अर्जेन्टिना उपाधि रक्षा अभियानलाई निरन्तरता दिन चाहन्छ भने अर्कोतर्फ इजिप्ट इतिहास रच्दै पहिलोपटक विश्वकपको क्वार्टरफाइनल पुग्ने लक्ष्यमा छ । अर्जेन्टिनाले अन्तिम ३२ को खेलमा प्रतियोगिताको नयाँ टोली केप भर्डेमाथि अपेक्षाभन्दा निकै कठिन जित निकाल्यो । खेलमा अर्जेन्टिनाले २ पटक अग्रता बनाए पनि केप भर्डेले दुवै पटक बराबरी गर्दै खेललाई अतिरिक्त समयमा पुर्याएको थियो । अतिरिक्त समयको १११औँ मिनेटमा डियोनी बोर्जेसबाट भएको आत्मघाती गोल अर्जेन्टिनाका लागि निर्णायक बन्यो र टोली कठिन संघर्षपछि अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।

खेलभर केप भर्डेले अर्जेन्टिनाको पोस्टमा १६ पटक प्रहार गर्दै साविक विजेतामाथि ठुलो दबाब सिर्जना गरेको थियो । यद्यपि अनुभव र संयमताका कारण अर्जेन्टिनाले अन्ततः जित हात पार्न सफल भयो । विश्वकप इतिहासमा अतिरिक्त समयमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीमध्ये अर्जेन्टिना अग्रस्थानमा रहँदै आएको छ । अतिरिक्त समयमा पुगेका १२ खेलमध्ये उसले १० खेल जितेको तथ्यांकले पनि त्यसलाई पुष्टि गर्छ । हाल अर्जेन्टिना लगातार ८ खेलमा विजयी हुँदै उत्कृष्ट लयमा छ । यस अवधिमा टोलीले प्रत्येक जितमा कम्तीमा २ गोल गरेको छ । उत्तर अमेरिकामा जारी प्रतियोगितामा पनि अर्जेन्टिनाले ४ खेलमा ११ गोल गर्दै आफ्नो आक्रामक शक्ति प्रदर्शन गरिसकेको छ । यदि इजिप्टलाई पराजित गर्न सफल भएमा अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड वा कोलम्बियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकपको अन्तिम १६ चरणमा अर्जेन्टिनाको इतिहास पनि प्रभावशाली छ । पछिल्ला ९ खेलमध्ये ७ खेल जितेको अर्जेन्टिनाले केवल सन् १९९४ र २०१८ मा मात्र यस चरण पार गर्न सकेको थिएन । त्यसैले टोली उच्च आत्मविश्वासका साथ मैदान उत्रने अपेक्षा गरिएको छ । यता इजिप्टले भने यस संस्करणमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । ९२ वर्षपछि पहिलोपटक विश्वकपको अन्तिम १६ मा स्थान बनाएको इजिप्टले यसअघि सन् १९३४ मा विश्वकप खेलेको थियो, तर त्यसबेला प्रतियोगिताको स्वरूप फरक थियो । यसपटक भने समूह चरण पार गर्दै नकआउटमा पुग्नु आफैँमा ठुलो उपलब्धि मानिएको छ । अन्तिम ३२ को खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्को इतिहास रच्यो । निर्धारित समय र अतिरिक्त समय बराबरीमा सकिएपछि भएको पेनाल्टीमा इजिप्टका सबै खेलाडी सफल भए ।

कप्तान मोहम्मद सलाहले अत्यन्तै आत्मविश्वासका साथ पनेन्का शैलीमा पेनाल्टी गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । अस्ट्रेलियाका ह्यारी साउटर र लुकास हेयरिङ्टनले पेनाल्टी गुमाएपछि इजिप्ट विजयी बन्न सफल भयो । खेलपछि सलाह भावुक बनेका थिए । उनको आँखाको आँसुले यो उपलब्धि इजिप्टका लागि कति महŒवपूर्ण थियो भन्ने स्पष्ट देखाएको थियो । अब भने इजिप्टलाई अर्को कठिन चुनौतीको सामना गर्नुपर्नेछ । साविक विश्वविजेता अर्जेन्टिनाविरुद्ध सफल हुन टोलीले विशेषगरी आफ्नो रक्षापंक्तिमा सुधार गर्नुपर्ने देखिन्छ । किनभने इजिप्टले पछिल्ला लगातार ६ खेलमा गोल खाएको छ । अर्जेन्टिना र इजिप्टबीच हालसम्म केवल एकपटक मात्र भेट भएको छ । सन् २००८ मा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इजिप्टलाई २–० ले पराजित गरेको थियो । त्यस खेलमा सर्जियो अगुएरो र निकोलस बुरडिसोले गोल गरेका थिए भने लियोनेल मेसी चोटका कारण अनुपस्थित थिए । यसपटक भने मेसी पूर्णरूपमा फिट रहेको र सलाहसँगको प्रत्यक्ष प्रतिस्पर्धाका लागि तयार रहेको बताइएको छ ।

अर्जेन्टिनाको टोलीमा केही खेलाडीको फिटनेसलाई लिएर चिन्ता देखिएको छ । केप भर्डेविरुद्धको कठिन खेलपछि नाहुएल मोलिना, एन्जो फर्नान्डेज र फाकुन्डो मेडिनाले पूर्ण अभ्यास गर्न सकेका छैनन् । मेडिनाको समस्या सामान्य मांसपेशी दुःखाइ भएको बताइएको छ । आवश्यक परे निकोलस टालियाफिकोले उनको स्थान लिन सक्छन् । अर्का विंगर निको गोन्जालेजको एंकलमा समस्या देखिएकाले उनको खेल्ने सम्भावना पनि निश्चित छैन । लियोनेल मेसीले भने अर्को ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन् । अन्तिम ३२ को खेलमा गोल गरेसँगै उनी दुई फरक विश्वकपमा ७–७ गोल गर्ने पहिलो खेलाडी बने । साथै विश्वकपको नकआउट चरणमा सबैभन्दा धेरै १२ गोलमा प्रत्यक्ष योगदान दिने खेलाडीको कीर्तिमान पनि उनले बनाएका छन् ।

इजिप्टको टोलीमा पनि केही प्रमुख खेलाडी चोटका कारण अनिश्चित छन् । लेफ्ट ब्याक करिम हाफेज अस्ट्रेलियाविरुद्धको खेलमा ८०औँ मिनेटमा मैदान छाडेका थिए । उनको अवस्थाबारे विभिन्न रिपोर्ट आएका छन् । केहीले सामान्य थकान भनेका छन् भने केहीले ह्यामस्ट्रिङमा समस्या रहेको बताएका छन् । यदि उनी खेल्न नसके अर्जेन्टिनाका कप्तान मेसीलाई रोक्न इजिप्टलाई ठुलो कठिनाइ हुनेछ । अर्का डिफेन्डर मोहम्मद अब्देलमोनेम पनि एंकलको चोटका कारण अझै पूर्ण रूपमा फिट छैनन् । यद्यपि निलम्बनपछि मिडफिल्डर मोहानाद लाशिन पुनः टोलीमा फर्किनेछन् ।

यसैबीच, विश्वकपको अर्को अन्तिम १६ खेलमा बुधबार बिहान १ः४५ बजे स्विट्जरल्यान्ड र कोलम्बिया आमनेसामने हुँदै छन् । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेसमा हुने यो खेल पनि निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । स्विट्जरल्यान्डले प्रतियोगिताको सुरुआत कतारसँग १–१ को बराबरीबाट गरेको थियो । तर त्यसपछि टोलीले उत्कृष्ट पुनरागमन गर्दै लगातार ३ खेल जितेको छ । समूह चरणमा बोस्निया–हर्जेगोभिनामाथि ४–१ को प्रभावशाली जित निकालेपछि स्विट्जरल्यान्डले आयोजक क्यानडालाई २–१ ले पराजित गर्दै समूह विजेता बनेको थियो । अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले हरायो । युवा मिडफिल्डर जोहान मान्जाम्बीले ब्रिल एम्बोलोलाई गोलका लागि उत्कृष्ट पास उपलब्ध गराउँदै टोलीको जितमा महŒवपूर्ण भूमिका खेले । प्रशिक्षक मुराट याकिनले युवा खेलाडीहरूलाई दिएको अवसर सफल सावित भएको छ ।

यद्यपि स्विट्जरल्यान्डका लागि केही चोटका समस्या पनि छन् । मिडफिल्डर मिसेल एबिस्चर मांसपेशीको समस्याबाट पूर्ण रूपमा निको भइसकेका छैनन् । डिफेन्डर लुका जाक्वेज पनि चोटकै कारण टोलीसँग नियमित अभ्यास गर्न सकेका छैनन् । उनीहरू अनुपस्थित भए ग्रानिट झाका र रेमो फ्रयुलरले मिडफिल्ड सम्हाल्ने अपेक्षा गरिएको छ भने म्यानुएल आकान्जी र निको एल्भेडीले रक्षापंक्ति नेतृत्व गर्नेछन् । कोलम्बियाले भने यस विश्वकपमा निकै प्रभावशाली प्रदर्शन गरेको छ । पछिल्ला ६ खेलमध्ये ५ खेल जितेको टोली एक खेलमा मात्र बराबरीमा रोकिएको छ । समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेले पनि त्यस खेलमा अतिरिक्त समयमा गरेको गोल अफसाइड भएपछि कोलम्बिया जितबाट वञ्चित भएको थियो ।

अन्तिम ३२ मा घानामाथि १–० को जित निकाल्दै कोलम्बिया क्वार्टरफाइनल नजिक पुगेको हो । खेलको सुरुमै स्ट्राइकर जोन कोर्डोबा घाइते भएपछि टोलीलाई झट्का लागेको थियो । उनको ह्यामस्ट्रिङमा गम्भीर चोट लागेकाले बाँकी विश्वकप गुमाउने निश्चित भएको छ । उनको स्थानमा मैदान प्रवेश गरेका लुइस सुआरेजले निर्णायक गोलका लागि सहयोग गर्दै टोलीलाई जित दिलाएका थिए । त्यसैले स्विट्जरल्यान्डविरुद्ध पनि उनी सुरुआती टोलीमा रहने सम्भावना बलियो छ । कोलम्बियाको अर्को ठुलो बलियो पक्ष भनेको उसको रक्षापंक्ति हो । टोलीले पछिल्ला ३ खेलमा लगातार क्लिनसिट राखेको छ । यस विश्वकपमा उसले केवल १ गोल मात्र खाएको छ, जुन प्रतियोगिताको पहिलो खेलमा उज्बेकिस्तानविरुद्ध आएको थियो ।

विश्लेषकहरूको अनुमानअनुसार अर्जेन्टिनाले इजिप्टलाई ३–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउन सक्ने सम्भावना बढी देखिएको छ । इजिप्टले केही चुनौती प्रस्तुत गरे पनि अर्जेन्टिनाको आक्रमण र अनुभव निर्णायक बन्न सक्ने अपेक्षा गरिएको छ । त्यसैगरी स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । तर कोलम्बियाको सन्तुलित प्रदर्शन, उत्कृष्ट रक्षापंक्ति र लुइस डियाजको आक्रमणकारी क्षमता निर्णायक बन्न सक्ने भएकाले कोलम्बिया २–१ को झिनो अन्तरले विजयी हुँदै अन्तिम ८ मा पुग्ने सम्भावना व्यक्त गरिएको छ । यसरी विश्वकप २०२६ को नकआउट चरणमा मंगलबार हुने यी दुवै खेलले प्रतियोगिताको आगामी यात्राको दिशा तय गर्नेछन् । फुटबल समर्थकहरू मेसी र सलाहको बहुप्रतीक्षित भिडन्तसँगै स्विट्जरल्यान्ड र कोलम्बियाबीचको रोमाञ्चक प्रतिस्पर्धाको प्रतीक्षामा रहेका छन् । यी २ बीचको खेलसँगै विश्वकपमा अन्तिम १६ का खेल सकिनेछन् ।

०००

छोटो विश्राम र फिटनेस समस्याले अर्जेन्टिना चिन्तित, स्कालोनी असन्तुष्ट

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले जारी विश्वकपको खेल तालिकाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । केप भर्डविरुद्ध अतिरिक्त समयमा ३–२ को कठिन जित निकालेपछि उनले खेल तालिका अत्यधिक असन्तुलित रहेको भन्दै खेलाडीहरूको रिकभरी समयमै ध्यान नदिइएको गुनासो गरेका हुन् । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले उक्त रोमाञ्चक खेलमार्फत अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । तर अब टोलीले मंगलबार इजिप्टसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । केप भर्डविरुद्ध १२० मिनेटसम्मको कडा खेल खेलेको अर्जेन्टिनालाई पुनः मैदानमा उत्रिन करिब साढे ३ दिन मात्र विश्राम पाएको छ । यसले टोलीको शारीरिक र मानसिक तयारीमा थप दबाब सिर्जना गरेको प्रशिक्षक स्कालोनीको भनाइ छ ।
त्यसमाथि मियामी क्षेत्रमा आएको आँधीका कारण शनिबार बिहान तय गरिएको प्रशिक्षण सत्रसमेत रद्द गर्नुपरेको थियो, जसले तयारीमा अझ अवरोध उत्पन्न गरेको बताइएको छ । खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै स्कालोनीले भने, ‘हामीलाई सुरुमा ६ दिनको विश्राम मिलेको थियो, तर त्यसपछि खेलहरू बीचको समय घट्दै गयो । अहिले त साढे ३ दिन मात्र विश्राम छ, जुन यस्तो उच्चस्तरको प्रतियोगितामा अत्यन्तै कठिन अवस्था हो । सबैभन्दा बढी रिकभरी आवश्यक पर्ने बेला कम समय दिनु बुझ्न गाह्रो छ ।’

(260706) — NEW JERSEY, July 6, 2026 (Xinhua) — Erling Haaland of Norway scores with a shot during the round of 16 match between Brazil and Norway at the 2026 FIFA World Cup at the New York New Jersey Stadium, the United States, July 5, 2026. (Xinhua/Zhang Chen)

विश्वकपको तालिका क्रमिक रूपमा सन्तुलित हुनुपर्ने भए पनि त्यसो नभएकोमा उनले आश्चर्यसमेत व्यक्त गरे । यद्यपि अब परिस्थितिलाई स्वीकार गर्दै अघि बढ्नुबाहेक विकल्प नभएको पनि उनले बताए । केप भर्डविरुद्धको खेल अर्जेन्टिनाका लागि निकै चुनौतीपूर्ण बनेको थियो । निर्धारित ९० मिनेटमा बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो, जहाँ अर्जेन्टिनाले ३–२ को जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गर्यो । स्कालोनीको यो प्रशिक्षकको रूपमा १००औँ खेल पनि थियो, जसलाई उनले कठिन जितसँगै स्मरणीय बनाए । कप्तान लियोनल मेसीले पनि खेलको शारीरिक कठिनाइबारे टिप्पणी गरेका छन् । उनले विपक्षी खेलाडीहरूको लगातार दबाबका बीच खेल्नुपरेको अनुभव सुनाउँदै खेलपछि दर्शकहरू जर्सी र सेल्फी माग्न आइपुग्ने अवस्थालाई रमाइलो शैलीमा उल्लेख गरेका थिए ।

तर छोटो विश्रामका कारण अर्जेन्टिना टोलीभित्र फिटनेस समस्या पनि देखिन थालेको छ । डिफेन्डर फाकुन्डो मेडिना मांसपेसी बाउँडिएर मैदान छाड्न बाध्य भए भने मिडफिल्डर एन्जो फर्नान्डेज पनि अन्तिम समयमा क्र्याम्पको समस्याबाट प्रभावित भए । अतिरिक्त समयमा निको गोन्जालेजको घुँडानजिकको भागमा चोट लागेपछि टोलीको मेडिकल विभाग चिन्तित बनेको छ । स्कालोनीले खेलाडीहरूको अवस्थाबारे बोल्दै एन्जो फर्नान्डेज सामान्य क्र्याम्पपछि ठिक रहेको बताए । फाकुन्डो मेडिनाले अट्याकिङ भूमिकामा अतिरिक्त मिहिनेत गर्नुपरेको र त्यसले उनलाई असर गरेको उनले उल्लेख गरे । साथै, टोलीका लागि निको टाग्लियाफिको बेन्चमा उपलब्ध हुनु ठुलो राहत भएको र उनी पूर्ण रूपमा तयार रहेको पनि प्रशिक्षकले स्पष्ट पारे ।

०००

हालान्डको २ गोलमा ब्राजिल स्तब्ध, इंग्ल्यान्डसँग नर्वेको क्वार्टरफाइनल भेट

एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले ५ पटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहासमै पहिलोपटक फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । अन्तिम १६ अन्तर्गत नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको न्युयोर्कस्थित न्यू जर्सी स्टेडियममा भएको खेलमा हालान्डले दोस्रो हाफमा २ गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाए । खेलको सुरुआतदेखि नै दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए ।

चौथो मिनेटमै प्याट्रिक बर्गले गोल गरे पनि अफसाइडका कारण त्यसले मान्यता पाएन । पहिलो हाफमा ब्राजिलले अग्रता लिने उत्कृष्ट अवसर पाएको थियो । ब्रुनो गिमारेसले पाएको पेनाल्टी अवसरलाई नर्वेका गोलरक्षकले शानदार बचाउ गरेपछि खेल गोलरहित बराबरीमा रह्यो । दोस्रो हाफमा लामो समयसम्म दुवै टोलीले गोल गर्न नसके पनि ७९औँ मिनेटमा एन्ड्रियास स्केल्डेरुपको सटिक क्रसमा हालान्डले हेडमार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाए ।

त्यसपछि ९०औँ मिनेटमा उनले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि नर्वे २–० ले अघि बढ्यो । हालान्डका दुवै गोलमा स्केल्डेरुपले नै असिस्ट गरेका थिए । इन्जुरी समयको १०औँ मिनेटमा ब्राजिलले दोस्रो पेनाल्टी पाएको थियो । लियो ओस्टिगार्डले कासेमिरोलाई फाउल गरेको निर्णयपछि प्राप्त अवसरलाई वैकल्पिक खेलाडी नेयमारले गोलमा परिणत गरे पनि त्यो केवल सान्त्वना गोलमा सीमित रह्यो । यससँगै ब्राजिल सन् १९९० यता पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुग्न असफल भएको छ ।

हालान्डले प्रतियोगितामा आफ्नो गोल संख्या बढाउँदै सर्वाधिक गोलकर्ताको दौडमा अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका किलियन एम्बाप्पेसँग बराबरी गरेका छन् । यता, अर्को अन्तिम १६ को खेलमा इंग्ल्यान्डले सह–आयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको छ । मेक्सिको सिटीस्थित एज्तेका स्टेडियममा भएको रोमाञ्चक खेलमा इंग्ल्यान्डले एक खेलाडी कम हुँदा पनि उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै जित हात पारेको हो ।

जुड बेलिङघमले ३६औँ र ३८औँ मिनेटमा लगातार २ गोल गर्दै इंग्ल्याण्डलाई बलियो अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर जुलियन क्विनोनेसले मेक्सिकोका लागि १ गोल फर्काए । दोस्रो हाफको ५४औँ मिनेटमा डिफेन्डर जरेल क्वान्सा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इंग्ल्यान्ड १० खेलाडीमा सीमित भयो । त्यसको केही मिनेटपछि कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई ३–१ को अवस्थामा पुर्याए । ६९औँ मिनेटमा राउल जिमिनेजले पनि पेनाल्टीमा गोल गर्दै मेक्सिकोलाई खेलमा फर्काउने प्रयास गरे ।

खेलको अन्तिम समयमा मेक्सिकोले लगातार दबाब सिर्जना गरे पनि इंग्ल्यान्डका डिफेन्डर जोन स्टोन्स र ड्यान बर्नले मजबुत रक्षापंक्ति कायम राखे । गोलरक्षक जोर्डन पिकफोर्डले पनि महŒवपूर्ण बचाउ गर्दै टोलीको जित सुरक्षित गरे । अब क्वार्टरफाइनलमा इतिहास रच्दै पहिलोपटक अन्तिम ८ मा पुगेको नर्वेले जुलाई १२ मा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । दुवै टोली सेमिफाइनल यात्राका लागि आमनेसामने हुँदा विश्व फुटबलले अर्को रोमाञ्चक प्रतिस्पर्धा हेर्ने अपेक्षा गरिएको छ ।

०००

ट्रम्पको हस्तक्षेपपछि फिफाले फुकायो बालोगनको प्रतिबन्ध, चर्कियो विवाद

विश्वकप फुटबलमा अमेरिकी स्ट्राइकर फोलारिन बालोगनसँग सम्बन्धित ‘रेड कार्ड’ प्रकरणले ठूलो विवाद सिर्जना गरेको छ । बोस्निया र हर्जगोभिनाविरुद्धको अन्तिम ३२ को खेलमा उनलाई दिइएको रातो कार्डपछि सुरु भएको विवादले अन्ततः फिफाको निर्णयमै परिवर्तन ल्याएको बताइएको छ । खेलको क्रममा सुरुमा रेफ्री राफेल क्लाउसले कुनै गम्भीर फाउल नदेखे पनि भिडियो सहायक रेफ्री (भिएआर) को हस्तक्षेपपछि बालोगनलाई सिधै रातो कार्ड दिइएको थियो । सो निर्णयलाई धेरै फुटबल विश्लेषकहरूले अत्यधिक कठोर भएको भन्दै आलोचना गरेका थिए ।

बालोगन, जसले यस विश्वकपमा तीन गोल गरिसकेका छन्, अमेरिकी टोलीका प्रमुख खेलाडी मानिन्छन् । विवाद चर्किँदै जाँदा फिफाले आफ्नो अनुशासन संहिताको ‘धारा २७’ प्रयोग गर्दै प्रतिबन्धलाई अस्थायी रूपमा निलम्बन गरेको बताइएको छ । यस निर्णयपछि बालोगनले बेल्जियमविरुद्धको अन्तिम १६ को महत्वपूर्ण खेल खेल्न पाउने भएका थिए । फिफाको अनुसार, उक्त रातो कार्डलाई एक वर्षको प्रोबेसनमा राखिनेछ, जसअन्तर्गत भविष्यमा पुनः यस्तै घटना दोहोरिएमा मात्र प्रतिबन्ध लागू हुनेछ ।

यस घटनासँगै राजनीतिक हस्तक्षेपको चर्चा पनि चुलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफाका अधिकारीहरूसँग सम्पर्क गरेर निर्णयमा प्रभाव पारेको भन्ने दाबी सार्वजनिक भएपछि विषय थप संवेदनशील बनेको हो । यद्यपि ह्वाइट हाउसले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन । बेल्जियम फुटबल संघले भने फिफाको निर्णयप्रति कडा आपत्ति जनाउँदै यसलाई फेयर प्लेविरुद्धको कदम भनेको छ । उसले कानुनी विकल्पहरू खोज्ने चेतावनी समेत दिएको छ । यो प्रकरणले खेल मैदानभन्दा बाहिरको राजनीति र निर्णय प्रक्रियाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको निष्पक्षतामाथि प्रश्न उठाएको छ ।

प्रतिक्रिया