
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (वालेन) नेतृत्वको संघीय सरकारको कार्यशैलीमाथि नेपाली कांग्रेसका सभापति गगन थापाले कडा टिप्पणी गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले विधि, प्रक्रिया र कानुनी शासनलाई बेवास्ता गरी पपुलिजम, लोकप्रियतावादको भरमा मात्र राज्य सञ्चालन गर्न खोजिएको आरोप लगाए ।
सभापति थापाले नेतृत्वकर्ताहरू जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने काममा भन्दा सामाजिक सञ्जालमा आफ्नो पक्षमा कति लाइक आउँछ भन्ने कुरामा बढी केन्द्रित भएको दाबी गरे । परिणाम दिने बहानामा कानुनी प्रक्रिया र विधि मिच्ने प्रवृत्ति बढेको भन्दै उनले यसलाई २०७४ सालको निर्वाचनपछिको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारको कार्यशैलीसँग तुलना गरे ।
काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीहरूमा चलाएको डोजर प्रसंगलाई जोड्दै थापाले मेयर वालेन शाहको कदमप्रति असन्तुष्टि जनाए । राज्यले कुनै पनि कदम चाल्दा कानुनी प्रक्रिया र मानवीय संवेदनालाई लत्याउन नहुने भन्दै उनले कानुनी शासन कमजोर बनाउने प्रयास गरिए सशक्त रूपमा खबरदारी गर्ने चेतावनी दि ए।
हचुवाको भरमा संविधान संशोधन जस्ता गम्भीर विषयहरू अगाडि बढाए मुलुक फेरि अर्को संकटमा फस्ने भन्दै थापाले समावेशीता र भाषाको संवेदनशीलतालाई बुझ्न सचेत गराए। यसका साथै, परराष्ट्र नीतिका सन्दर्भमा राष्ट्रिय सहमति बनाउनुको साटो क्षणिक वाहवाहीका लागि मात्र काम भइरहेको र देशमा आर्थिक संकुचन हटाउन नेतृत्व असफल भएको आरोप समेत उनले लगाए ।
प्रतिक्रिया