कांग्रेसको १५औँ महाधिवेशनमा डिजिटल प्रविधिको प्रयोग गरिने, स्वयंसेवकको रोस्टर तयार पारिँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री र पेपरलेस बनाउने निर्णय गरेको छ । ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा वरिष्ठ अधिवक्ता एवं समितिका संयोजक प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले आगामी महाधिवेशनमा डिजिटल प्रविधि वा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) लाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको हो ।

बैठकले निर्वाचन प्रक्रिया सुरु भइसकेपछि लागू हुने निर्वाचन आचारसंहितालाई पूर्ण रूपमा पालना गर्न केन्द्रीय कार्यसमितिसहित पार्टीका सबै तह र निकायहरूलाई आग्रह गरेको छ । महाधिवेशनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि समितिले यसअघि निर्वाचन समितिमा रहेर काम गरिसकेका पूर्व संयोजकहरू, सदस्यहरू र निर्वाचन अधिकृतहरूको अनुभव, राय तथा सुझावलाई समेत समेट्ने जनाएको छ ।

यसैगरी, समितिले काठमाडौं उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका १५ वटै निर्वाचन क्षेत्र, महानगरपालिका र नगरपालिकाहरूमा महिला कानुन व्यवसायीहरूलाई निर्वाचन अधिकृतको रूपमा प्राथमिकताका साथ खटाउने निर्णय गरेको छ ।

निर्वाचन कार्यलाई थप व्यवस्थित बनाउन कानुन व्यवसायी तथा अन्य पेशागत समूहहरूलाई स्वयम्सेवकको रूपमा सहयोग गर्न आह्वान गर्दै रोस्टर तयार गरिने र उनीहरूलाई आवश्यक अभिमुखीकरण (ओरियन्टेसन) प्रदान गरेर मात्रै निर्वाचन अधिकृतको जिम्मेवारी दिइने समितिले उल्लेख गरेको छ । समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्ति अनुसार यी निर्णयहरू जानकारीका लागि केन्द्रीय कार्यसमिति समक्ष पेस गरिने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया