
काठमाडौँ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) करिब ८ प्रतिशत योगदान रहेको घरजग्गा कारोबारमा सुधार भएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागअन्तर्गत मूल्य महाशाखाले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ प्रतिवेदनअनुसार घरजग्गा कारोबारमा सुधार देखिएको हो । प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२÷०८३ को तेस्रो त्रैमासमा देशभरको घरजग्गा कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको हो । क्षेत्रफलमा १.६० प्रतिशत र राजस्वमा २३.७२ प्रतिशतले सुधार आएको छ । लिखत पारित अन्तर्गतको कारोबार संख्या ०.६२ प्रतिशतले बढेको छ, भने राजीनामा कारोबार १२.१७ प्रतिशतले वृद्धि भएको छ ।
घरजग्गा किनबेच भएको कुल क्षेत्रफल पनि १.६० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो क्षेत्रफल १०.८४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा देशभर १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ, जुन अघिल्लो वर्षको १ खर्ब ७ करोड रुपैयाँको तुलनामा करिब ८४ प्रतिशत बढी हो ।
राष्ट्र बैंकका अनुसार घरजग्गा कारोबारबाट संकलित राजस्व २३.७२ प्रतिशतले बढेको छ, भने पुँजीगत लाभकर संकलन ३१.४२ प्रतिशतले वृद्धि भएको छ । आवासीय घरजग्गा कर्जासहित बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा ५.५५ प्रतिशतले बढेको छ ।
घरजग्गा कारोबार बागमतीमा बढ्यो, मधेसमा घट्यो
प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा घरजग्गाको कारोबार संख्या सबैभन्दा धेरै ३३.०१ प्रतिशतले बढेको छ, भने मधेस प्रदेशमा ४.७९ प्रतिशतले घटेको छ । कारोबार भएको कुल क्षेत्रफल गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.८४ प्रतिशतले बढेको छ, भने मधेस प्रदेशमा ९.३३ प्रतिशतले घटेको छ ।
७ वटै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य बढेको देखिएको छ । बागमती प्रदेशमा कारोबार मूल्य १३१.५२ प्रतिशतले बढेको छ, भने मधेस प्रदेशमा सबैभन्दा कम २२.६७ प्रतिशतले वृद्धि भएको छ । प्रतिवेदनअनुसार सातै प्रदेशमा २.५ देखि १० आनासम्मका प्लटहरूको कारोबार सबैभन्दा बढी भएको छ ।
सबैभन्दा धेरै कारोबार काठमाडौँमा
राष्ट्र बैंकको प्रतिवेदनअनुसार महानगरपालिकामध्ये काठमाडौँ महानगरपालिकामा घरजग्गा कारोबार संख्या सबैभन्दा धेरै १०८.४२ प्रतिशतले बढेको छ । त्यसपछि पोखरा महानगरपालिकामा ८२.१५ प्रतिशत, ललितपुरमा ७३.८१ प्रतिशत, वीरगन्जमा ३१.०७ प्रतिशत, भरतपुरमा २९.२१ प्रतिशत र विराटनगरमा २७.९२ प्रतिशतले वृद्धि भएको छ । काठमाडौँ महानगरपालिकामा कारोबार भएको क्षेत्रफल ११९.८९ प्रतिशतले बढेको छ भने कारोबारको कुल मूल्य २२३.१२ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया