
काठमाडौँ । नबिल बैंक लिमिटेडले वातावरणीय क्षेत्रमा पनि उल्लेखनीय योगदान दिएको छ । बैंकले वातावरणीय क्षेत्रमा गरेको लगानीमार्फत १ लाख १२ हजारभन्दा बढी रोजगारी सिर्जना भएको हो । बैंकले नवीकरणीय ऊर्जामा ५१ अर्ब ८३ करोड रुपैयाँ, स्वच्छ यातायातमा १० अर्ब २८ करोड रुपैयाँ, कृषि क्षेत्रमा ५४ अर्ब २८ करोड रुपैयाँ, सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) मा ४५ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको उल्लेख गरेको जनाएको छ ।
बैंकका अनुसार महिला तथा महिला उद्यमी वित्तपोषणमा ४८ अर्ब ६० करोड रुपैयाँ, पर्यटन क्षेत्रमा ११ अर्ब ८ करोड रुपैयाँ तथा डिडिएसएल कर्जाअन्तर्गत ५ अर्ब ८४ करोड रुपैयाँ लगानी भइसकेको छ । उक्त लगानीमार्फत १ लाख १२ हजारभन्दा बढी रोजगारी सिर्जना भएको र त्यसमध्ये ३१ प्रतिशत महिलाको सहभागिता रहेको बैंकले जनाएको छ ।
यसैगरी, ५ वर्षमा बैंकले २५ करोड ६० लाख रुपैयाँ सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत खर्च गरेको छ, भने नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (एसइइ)मार्फत १ हजार ५७७ उद्यमीलाई तालिम प्रदान गरिसकेको छ ।
नवीकरणीय ऊर्जा आयोजनामा गरेको लगानीमार्फत ४ वर्षको अवधिमा करिब ३९ हजार ४५०.६८ टन कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुगेको दाबी गरिएको छ । साथै, डिजिटाइजेसन र स्वचालित प्रणालीमार्फत वार्षिक २ लाख ६२ हजार ८०४ लिटर पानी बचत र करिब २० मेट्रिक टन कागजको बचत भएको बैंकले जनाएको छ ।
बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (इएसआरएम) प्रणालीलाई आफ्नो व्यवसाय तथा जोखिम व्यवस्थापन प्रक्रियामा समावेश गरेको छ । बैंकमा कार्यरत कुल जनशक्तिमध्ये ३९.१५ प्रतिशत महिला रहेको उल्लेख गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले ५० जना महिलाले बैंकका विभिन्न शाखा तथा रणनीतिक व्यवसाय इकाइ (एसबियु)को नेतृत्व गरिरहेको बताए ।
वृक्षारोपण गरी मनाइयो साताव्यापी नबिल ग्रिन विक
नबिल बैंक लिमिटेडले वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६ समापन गरेको छ । दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही १५ असारदेखि सुरु ‘नबिल ग्रिन विक’ साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरी आइतबार समापन गरिएको हो ।
नबिल दिगो बचत खाता तथा दिगो बैंकिङको वार्षिकोत्सवका अवसरमा काठमाडौँको टोखा नगरपालिका–२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपिएको बैंकको भनाइ छ । नबिल बैंक तथा लुम्बिनी वल्र्ड पिस फोरम नेपालको सहकार्यमा भएको कार्यक्रममा काठमाडौँको टोखा नगरपालिका–२ का वडा कार्यालयले संरक्षण गर्ने गरी वृक्षारोपण सम्पन्न गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले बैंकले दिगो बैंकिङप्रतिको आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले वृक्षारोपण गरिएको बताए । ग्रिन विकअन्तर्गत सञ्चालन भएको वृक्षारोपण तथा अन्य वातावरण संरक्षणका क्षेत्रमा साझेदार संस्था, स्थानीय सरकार तथा समुदायको दीर्घकालीन सहकार्य भएकोमा सिइओ ज्ञवालीले खुसी व्यक्त गरे ।
प्रतिक्रिया