खेल विश्लेषकहरूका अनुसार यो खेलमा दुवै टोलीको मिडफिल्ड संघर्ष निर्णायक बन्न सक्छ । प्रतियोगिताभर पोर्चुगल र स्पेन दुवैले औसत ६० प्रतिशतभन्दा बढी बल आफ्नो नियन्त्रणमा राख्दै आएका छन्

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ अन्तर्गत सबैभन्दा आकर्षक प्रतिस्पर्धामध्ये एकमा परम्परागत इबेरियन प्रतिद्वन्द्वी पोर्चुगल र स्पेन सोमबार अमेरिकाको एटी एन्ड टी स्टेडियममा नेपाली समयअनुसार मंगलबार बिहान १२ः४५ बजे आमनेसामने हुँदै छन् । दुवै टोली उत्कृष्ट लयमा रहेकाले यो खेललाई प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक नकआउट भिडन्तका रूपमा हेरिएको छ । पोर्चुगलले अन्तिम ३२ को खेलमा क्रोएसियालाई २–१ ले पराजित गर्दै कठिन परिस्थितिबाट अन्तिम १६ मा स्थान सुरक्षित गरेको थियो । यता, युरोपेली च्याम्पियन स्पेनले अस्ट्रियामाथि ३–० को सहज जित निकाल्दै आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको थियो । क्रोएसियाविरुद्धको खेलमा पोर्चुगलले अन्तिम समयमा ठुलो दबाब झेलेको थियो ।
निर्धारित समयको अन्त्यतिर जोस्को ग्भार्डियोलले गोल गरेपछि खेल अतिरिक्त समयमा पुग्ने संकेत देखिएको थियो । तर भिडियो पुनरवलोकन र बल सेन्सर प्रविधिको प्रयोगपछि उक्त गोल अफसाइड ठहर गरियो । बल रेनाटो भेइगा र मारियो पासालिच हुँदै ग्भार्डियोलसम्म पुगेको क्रममा इगोर माटानोभिचको टाउकोमा बल लागेको पुष्टि भएपछि रेफ्रीले गोल अस्वीकार गरेका थिए । यस निर्णयसँगै पोर्चुगलको बेन्चमा रहेका खेलाडी र प्रशिक्षक टोलीले राहतको सास फेरे । खेलको अन्तिम समयमा बेन्चमा बसेका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि आफ्नो टोलीको जितसँगै विश्वकप जित्ने सपना अझै जीवित राख्न सफल भए । अर्कोतर्फ, क्रोएसियाका अनुभवी कप्तान लुका मोड्रिचको विश्वकप यात्रा भने यही चरणमा समाप्त भयो ।
क्रोएसियामाथिको जितसँगै पोर्चुगलले ६० वर्ष पुरानो एउटा इतिहास पनि परिवर्तन गरेको छ । सन् १९६६ पछि पहिलोपटक विश्वकपमा पछि परेको अवस्थाबाट पुनरागमन गर्दै जित निकाल्न पोर्चुगल सफल भएको हो । यद्यपि पछिल्ला केही ठुला प्रतियोगितामा अन्तिम १६ पोर्चुगलका लागि सुखद् बन्न सकेको छैन । सन् २०१० र २०१८ को विश्वकपमा टोली यही चरणबाट बाहिरिएको थियो भने युरो २०२० मा पनि अन्तिम १६ बाटै यात्रा टुंगिएको थियोे । त्यसपछि विश्वकप २०२२ र युरो २०२४ मा भने टोली क्वार्टरफाइनलसम्म पुगे पनि त्यसभन्दा अगाडि बढ्न सकेन । उता स्पेनले पनि यसपटक नकआउट चरणमा आफ्नो पुरानो कमजोरी सुधार गरेको छ । अस्ट्रियाविरुद्धको ३–० को जितसँगै स्पेनले सन् २०१० को विश्वकप फाइनलमा नेदरल्यान्ड्सलाई हराएपछि पहिलोपटक विश्वकपको समूह चरणबाहिरको खेलमा जित हासिल गरेको हो ।
स्पेनको जितमा मिकेल ओयारजाबाल नायक बने । उनले २ गोल गरे भने पेड्रो पोरोले १ गोल थपे । ओयारजाबालले पछिल्ला १६ अन्तर्राष्ट्रिय खेलमा २३ गोलमा प्रत्यक्ष योगदान दिँदै उत्कृष्ट लय कायम राखेका छन् । साथै, स्पेनले विश्वकपको नकआउट चरणमा सन् १९९४ पछि पहिलोपटक एकै खेलमा २ भन्दा बढी गोल गर्न सफल भएको छ । स्पेन लगातार ३ विश्वकप खेल जित्दै अन्तिम १६ सम्म आइपुगेको छ । टोलीको आक्रमण प्रभावशाली रहे पनि सबैभन्दा धेरै प्रशंसा भने रक्षापंक्तिले बटुलेको छ । प्रशिक्षक लुइस दे ला फुएन्तेको टोली हालसम्म प्रतियोगितामा गोल नखाने २ टोलीमध्ये एक हो । सह–आयोजक मेक्सिकोसँगै स्पेनले पनि विपक्षीलाई गोल गर्ने कुनै अवसर दिएको छैन ।
अस्ट्रियाविरुद्धको खेलमा स्पेनले विपक्षीलाई एउटा पनि ‘सट अन टार्गेट’ गर्न दिएको थिएन । विश्वकपको नकआउट चरणमा यस्तो घटना सन् २०१४ को अर्जेन्टिना र जर्मनीबीचको फाइनलपछि पहिलोपटक दोहोरिएको हो । यही कारणले स्पेनलाई विश्वकप उपाधिको प्रमुख दाबेदारका रूपमा समेत हेरिएको छ । इतिहासलाई हेर्दा पनि स्पेनको पल्ला केही भारी देखिन्छ । दुवै टोलीबीच हालसम्म ४१ पटक प्रतिस्पर्धा हुँदा स्पेनले केवल ७ खेलमा मात्र हार बेहोरेको छ । यद्यपि पछिल्लो भेटमा भने पोर्चुगल विजयी भएको थियो । २०२४–२५ नेसन्स लिगको फाइनलमा पोर्चुगलले पेनाल्टी सुटआउटमार्फत स्पेनलाई हराउँदै उपाधि जितेको थियो ।
टोलीको पछिल्लो प्रदर्शनलाई हेर्दा पोर्चुगलले विश्वकपमा १ बराबरी, २ जित र अर्को बराबरीपछि पुनः जित निकाल्दै राम्रो लय कायम राखेको छ । सबै प्रतियोगिताको पछिल्लो प्रदर्शनमा पनि टोलीले ४ जित र २ बराबरीको नतिजा निकालेको छ । यता स्पेनले विश्वकपमा १ बराबरीपछि लगातार ३ जित हात पारेको छ भने सबै प्रतियोगितामा पनि टोलीले पछिल्ला ६ खेलमध्ये ४ जित र २ बराबरी निकालेको छ । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजसँग अन्तिम १६ को खेलअघि सबै खेलाडी उपलब्ध छन् । त्यसैले उनले विजयी टोलीमा ठुलो परिवर्तन गर्ने सम्भावना कम देखिएको छ । ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोलाई पनि सुरुआती टोलीबाट बाहिर राख्ने सम्भावना नरहेको बताइएको छ । क्रोएसियाविरुद्ध गोल गरेपछि उनलाई समयअघि नै प्रतिस्थापन गरिएको थियो, जसप्रति उनी केही असन्तुष्ट देखिएका थिए । तर आगामी खेलमा उनी फेरि टोलीको अग्रपंक्तिको नेतृत्व गर्ने अपेक्षा गरिएको छ ।
गोन्कालो रामोसले पनि पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । विश्वकपमा उनले औसत प्रत्येक ३७ मिनेटमा गोल वा गोलका लागि सहयोग गर्दै आएका छन्, जुन ५ वा सोभन्दा बढी गोल योगदान दिने पोर्चुगिज खेलाडीमध्ये उत्कृष्ट अनुपात हो । यद्यपि स्पेनविरुद्ध उनी फेरि बेन्चबाट मैदान प्रवेश गर्ने सम्भावना बढी छ । पोर्चुगलको सुरुआती टोलीमा दायाँ विङको स्थानका लागि पेड्रो नेटो, बर्नार्डो सिल्भा र फ्रान्सिस्को कोन्सेइसाओबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अन्य स्थानमा भने प्रशिक्षक मार्टिनेजले परिवर्तन नगर्ने संकेत दिएका छन् । स्पेनका प्रशिक्षक लुइस दे ला फुएन्तेका लागि पनि अधिकांश खेलाडी उपलब्ध छन् । लामिन यामाल, पेड्रो पोरो, डानी ओल्मो र आयमेरिक लापोर्टले शुक्रबारको प्रशिक्षण पूर्ण रूपमा नगरे पनि उनीहरूलाई गम्भीर चोट नरहेको बताइएको छ । उनीहरूको शारीरिक अवस्था व्यवस्थापन गर्ने उद्देश्यले मात्र प्रशिक्षणको भार घटाइएको थियो ।
तर येरेमी पिनो र निको विलियम्स भने चोटका कारण यस खेल गुमाउने सम्भावना छ । दुवै खेलाडी आगामी चरणसम्म फिट हुन सक्ने अपेक्षा गरिए पनि पोर्चुगलविरुद्ध मैदान उत्रिने सम्भावना न्यून छ । यदि पेड्रो पोरो पूर्ण रूपमा तयार नभए मार्कोस लोरेन्तेले उनको स्थान लिन सक्ने विकल्प प्रशिक्षकसँग हुनेछ । सम्भावित सुरुआती टोलीमा पोर्चुगलले डियोगो कोस्टा, जोआओ कान्सेलो, रुबेन डियास, रेनाटो भेइगा, नुनो मेन्डेस, भिटिन्हा, जोआओ नेभेस, पेड्रो नेटो, ब्रुनो फर्नान्डेस, राफाएल लियाओ र क्रिस्टियानो रोनाल्डोलाई उतार्ने सम्भावना छ । यता स्पेनले उनाई सिमोन, पेड्रो पोरो, पाउ कुबार्सी, आयमेरिक लापोर्ट, मार्क कुकुरेया, रोड्री, पेड्री, लामिन यामाल, डानी ओल्मो, एलेक्स बेएना र मिकेल ओयारजाबाललाई सुरुआती टोलीमा राख्ने अपेक्षा गरिएको छ ।
खेल विश्लेषकहरूका अनुसार यो खेलमा दुवै टोलीको मिडफिल्ड संघर्ष निर्णायक बन्न सक्छ । प्रतियोगिताभर पोर्चुगल र स्पेन दुवैले औसत ६० प्रतिशतभन्दा बढी बल आफ्नो नियन्त्रणमा राख्दै आएका छन् । त्यसैले बल नियन्त्रण र मिडफिल्डको लडाइँले खेलको परिणाम निर्धारण गर्न महŒवपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ । यद्यपि प्रतियोगिताभर स्पेनको रक्षापंक्ति अत्यन्तै बलियो देखिएको छ । विपक्षीलाई गोल गर्ने अवसर नै नदिने उनीहरूको शैलीले पोर्चुगलको आक्रमणलाई कठिन चुनौती दिने अपेक्षा गरिएको छ ।
विशेषगरी रोनाल्डोको विश्वकप यात्रालाई रोक्ने क्षमता स्पेनसँग रहेको धेरै विश्लेषकहरूको विश्वास छ । त्यसैले अन्तिम १६ को यस बहुप्रतीक्षित प्रतिस्पर्धामा स्पेनलाई हल्का अग्रता दिइएको भए पनि पोर्चुगलसँग अनुभवी खेलाडी र निर्णायक क्षणमा खेलको दिशा बदल्ने क्षमता रहेकाले समर्थकहरूले अत्यन्त प्रतिस्पर्धात्मक खेलको अपेक्षा गरेका छन् । मंगलबार बिहान ५ः४५ मा हुने अर्को खेलमा सहआयोजक अमेरिकाले बेल्जियमको सामना गर्नेछ । यो खेल पनि प्रतिस्पर्धात्मक हुने आकलन गरिएको छ ।
प्रतिक्रिया