नेदरल्यान्ड्समा विश्वकप लिग–२ खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरेको छ । यही जुलाई २१ देखि नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित क्रिकोणत्कम शृङ्खला खेल्न जाने नेपाली टोलीको आइतबार बिदाइ गरिएको हो ।

क्यानले आइतबार एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । उक्त शृङ्खलाअघि नेपालले जर्सी गएर अभ्यास पनि गर्ने छ । आइतबार बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले गत वर्ष स्कटल्यान्डमा गरेको जस्तै प्रदर्शन दोहोर्‍याउने र हालको लयलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

‘प्रतिस्पर्धा बढ्दो क्रममा छ, हामी फेरि पनि युरोप टुरमा राम्रो प्रदर्शन गर्न सक्छौं जस्तो लाग्छ, टिमलाई धेरै शुभकामना छ’ खड्काले भने । ‘हाम्रो आगामी केही महिना निकै व्यस्त छ, लिग २ को शृङ्खला पनि छ, एनपीएल पनि आयोजना गर्नु छ’ खड्काले थपे ।

यस्तै नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले तयारी राम्रो भएको बताएका छन् । ‘हामी पछिल्लो एक साता फिटनेसमा केन्द्रित छौँ, हामी यो टुरमा धेरै महत्व दिएका छौँ, विश्वकप खेल्नका लागि बाँकी शृंखला महत्वपूर्ण छन् र हामी राम्रो प्रदर्शन गर्ने छौँ’, रोहितले भने ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीलाई शुभकामना दिए । नेपाली क्रिकेट टोलीले लिग २ को शृंखला अघि जर्सीमा गएर अभ्यास एक दिवसीय खेल पनि खेल्ने छ ।

जर्सीमा नेपालले तयारी क्याम्पसँगै दुई अभ्यास एकदिवसीय खेल्ने क्यानले जनाएको छ । पहिलो अभ्यास खेल जुलाई १३ अनि दोस्रो खेल जुलाई १५ मा हुने क्यानले जनाएको छ ।

लिग– २ को खेलअघि कन्डिशन मिल्दोजुल्दो हुने गरी जर्सीमा खेल्न लागिएको हो । नेपालले केही साताअघि मात्र दुई घरेलु शृंखला खेलेको थियो । ८ खेलमध्ये नेपालले ६ खेलमा जित हासिल गरेर लिग २ अंकतालिकामा स्थान सुधार समेत गरेको थियो ।

नेपाली टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख ईशान पाण्डे, आरिफ शेख गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् । त्यसैगरी रिजर्भ खेलाडीहरूमा सहाब आलम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री र सन्दीप जोरा रहेका छन् ।

प्रतिक्रिया