युरोपेली टोलीको दबदबा कायम, दक्षिण अमेरिकी विरासतको निरन्तरता

अन्तिम ३२ चरणपछि उपाधि दाबेदारको चित्र स्पष्ट,

अन्तिम ३२ बाट ७ युरोपेली टोली अन्तिम १६ मा पुगेका छन् । फ्रान्स, इंग्ल्यान्ड, बेल्जियम, स्पेन, पोर्चुगल, स्विट्जरल्यान्ड र नर्वेले आफ्नो स्थान सुरक्षित गरेका हुन्

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण सुरु भएसँगै प्रतियोगिताले वास्तविक रोमाञ्चक मोड लिएको छ । समूह चरणमा भएको सामान्य गल्ती सुधार्ने अवसर अब कुनै पनि टोलीसँग छैन । अन्तिम ३२ (राउन्ड अफ ३२) का खेलहरू सम्पन्न भएपछि अन्तिम १६ टोलीको टुंगो लागेको छ भने उपाधि दाबेदारका रूपमा केही टोली अझ मजबुत देखिएका छन् । युरोपेली टोलीहरूको प्रभावशाली प्रदर्शन, दक्षिण अमेरिकी टोलीहरूको निरन्तरता, अफ्रिकी राष्ट्रहरूको संघर्षपूर्ण खेल र आयोजक राष्ट्रहरूको सफल यात्राले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको छ ।

अन्तिम ३२ बाट ७ युरोपेली टोली अन्तिम १६ मा पुगेका छन् । फ्रान्स, इंग्ल्यान्ड, बेल्जियम, स्पेन, पोर्चुगल, स्विट्जरल्यान्ड र नर्वेले आफ्नो स्थान सुरक्षित गरेका हुन् । समूह चरणमा खेलाडीलाई पर्याप्त विश्राम दिने रणनीति अपनाएको नर्वेले त्यसको लाभ नकआउट चरणमा उठाउँदै उत्कृष्ट प्रदर्शन गरेको छ । यस रणनीतिले नकआउट चरणमा ताजगी र ऊर्जा कायम राख्न महत्वपूर्ण भूमिका खेलेको देखिएको छ । उत्तर तथा मध्य अमेरिकी क्षेत्र (कन्काकाफ) का तीन आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडाले पनि अन्तिम १६ मा स्थान बनाएर घरेलु समर्थकलाई खुसी बनाएका छन् । सन् २०१४ पछि पहिलोपटक कन्काकाफका ३ टोली एकैपटक यस चरणमा पुगेका हुन् । यस्तै दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया र पाराग्वेले यात्रा जारी राखेका छन् ।

यस चरणको सबैभन्दा ठुलो आश्चर्यजनक नतिजामध्ये पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्नु रह्यो । विश्वकप इतिहासमा पहिलोपटक जर्मनी पेनाल्टी सुटआउटमा पराजित भएको हो । निर्धारित समय र अतिरिक्त समयसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा पाराग्वेले संयमित प्रदर्शन गर्दै अन्ततः ऐतिहासिक सफलता हात पारेको हो । भिडियो सहायक रेफ्री (भिएआर) को निर्णयका कारण जोनाथन टाहको गोल रद्द भएपछि जर्मनी थप दबाबमा परेको थियो । फ्रान्स भने प्रतियोगिताको सबैभन्दा सन्तुलित र आक्रामक टोलीका रूपमा देखिएको छ । उस्मान डेम्बेले, डेजिरे डुए, किलियन एमबाप्पे र माइकल ओलिसे सम्मिलित अग्रपंक्तिले विपक्षी रक्षापंक्तिलाई लगातार दबाबमा राखेका छन् । स्विडेनविरुद्ध ३–० को सहज जितमा ब्राड्ली बार्कोलाले पनि उत्कृष्ट प्रभाव छाडेका थिए ।

प्रशिक्षक डिडिएर डेसाँसँग धेरै गुणस्तरीय आक्रमणकारी खेलाडी उपलब्ध हुनु अहिले फ्रान्सको सबैभन्दा ठुलो शक्ति बनेको छ, यद्यपि सबै खेलाडीलाई सन्तुष्ट राख्नु उनको चुनौती पनि बन्न सक्छ । बेल्जियमले सेनेगलविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै आफ्नो यात्रा बचायो । खेलको सुरुआतमा २–० ले पछि परेको बेल्जियमले युरी टिलेमान्स र रोमेलु लुकाकुको गोलमार्फत खेल बराबरीमा ल्यायो । अतिरिक्त समयमा टिलेमान्सले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै टोलीलाई अन्तिम १६ मा पुर्याए ।

इंग्ल्यान्डले पनि डिआर कंगोविरुद्ध सहज जित निकाल्न सकेन । कडा प्रतिस्पर्धाबीच कप्तान ह्यारी केनले निर्णायक २ गोल गर्दै टोलीलाई २–१ को जित दिलाए । पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दा भिएआर प्रविधिको प्रयोग पुनः चर्चामा रह्यो । क्रोएसियाको बराबरी गोल अत्यन्तै सूक्ष्म स्पर्शका आधारमा रद्द भएपछि पोर्चुगलले अन्ततः जित सुरक्षित गर्यो । विश्व फुटबलका परम्परागत शक्तिशाली राष्ट्रहरूको प्रदर्शन भने यसपटक निराशाजनक देखिएको छ । इटाली विश्वकपमै छनोट हुन नसकेको अवस्थामा जर्मनी पनि अपेक्षाविपरीत प्रारम्भिक नकआउट चरणबाटै बाहिरिएको छ । केही वर्षअघि पुनरुत्थानको संकेत देखाएको जर्मनी यसपटक पनि असफल भएपछि टोलीमाथि थप दबाब बढेको छ । प्रशिक्षक जुलियन नागेल्समनले लगातार तेस्रो ठुलो प्रतियोगितामा प्रारम्भिक चरणबाट बाहिरिनु जर्मन फुटबलका लागि गम्भीर चेतावनी भएको बताएका छन् । उनको पदत्यागपछि नयाँ प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया पनि सुरु भएको छ ।

अफ्रिकी टोलीहरूले खेलभन्दा बढी जिते मन

अफ्रिकी टोलीहरूले भने नतिजाभन्दा पनि आफ्नो प्रदर्शनमार्फत समर्थकको मन जितेका छन् । केप भर्डेले उपाधि दाबेदार अर्जेन्टिनालाई अतिरिक्त समयसम्म संघर्ष गर्न बाध्य पार्दै प्रतियोगिताकै स्मरणीय खेल प्रस्तुत गर्यो । अन्ततः १११औँ मिनेटमा भएको आत्मघाती गोलका कारण केप भर्डे पराजित भए पनि टोलीको प्रदर्शनको व्यापक प्रशंसा भइरहेको छ । अल्जेरिया, आइभरी कोस्ट, घाना, डिआर कंगो, सेनेगल र दक्षिण अफ्रिका अन्तिम ३२ बाट बाहिरिए पनि उनीहरूले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए । अर्कोतर्फ इजिप्ट र मोरक्कोले बलियो रक्षात्मक रणनीति अपनाउँदै क्रमशः अस्ट्रेलिया र नेदरल्यान्ड्सलाई पराजित गरे । मोरक्कोका गोलरक्षक यासिन बोनुले पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई अर्को चरणमा पुर्याउन महत्वपूर्ण भूमिका खेले भने इन्जुरी समयमा इस्सा डियोपले गरेको गोल निर्णायक बन्यो ।

गोल्डेन बुटको प्रतिस्पर्धा पनि निकै रोमाञ्चक बनेको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले केप भर्डेविरुद्ध गोल गर्दै प्रतियोगितामा आफ्नो गोल संख्या ७ पुर्याएका छन् । यो समाचार तयार पार्दासम्म फ्रान्सका किलियन एमबाप्पेले स्विडेनविरुद्ध २ गोल गर्दै कुल ६ गोल पुर्याएका छन् र लगातार दोस्रोपटक गोल्डेन बुट जित्ने लक्ष्यतर्फ अघि बढिरहेका छन् । नर्वेका एर्लिङ हालान्ड र इंग्ल्यान्डका ह्यारी केनको खातामा समान ५–५ गोल रहेका छन्, जसले आगामी चरणहरूमा प्रतिस्पर्धालाई अझ रोचक बनाउने निश्चित छ । आयोजक राष्ट्रहरूले घरेलु मैदानको फाइदा पनि भरपुर उपयोग गरेका छन् । मेक्सिकोले एस्टाडियो अज्टेकामा आफ्नो अपराजित यात्रा कायम राख्दै अन्तिम १६ मा प्रवेश गरेको छ । टोलीले लगातार ४ खेलसम्म कुनै गोल नखाई प्रभावशाली रक्षात्मक प्रदर्शन गरेको छ । अमेरिकाले पनि घरेलु समर्थकमाझ बोस्निया एन्ड हर्जेगोभिनालाई २–० ले हराउँदै उत्साहजनक प्रदर्शन गर्यो ।

यद्यपि फरवार्ड फोलारिन बालोगुन रातो कार्डका कारण आगामी खेलमा अनुपस्थित रहनेछन् । क्यानडाले पनि दक्षिण अफ्रिकाविरुद्ध अन्तिम समयमा स्टेफन एउस्टाकियोको निर्णायक गोलमार्फत कठिन जित निकाल्दै अर्को चरणमा स्थान बनाएको छ । अब क्यानडाले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम ३२ का खेलहरूले विश्वकप २०२६ को प्रतिस्पर्धा अझ रोमाञ्चक बन्ने संकेत दिएका छन् । अब अन्तिम १६ का खेलमा प्रत्येक गल्ती महँगो पर्ने भएकाले टोलीहरूले अझ संयमित र रणनीतिक खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । उपाधि होडमा फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड र ब्राजिललाई बलियो दाबेदार मानिए पनि विश्वकपमा कुनै पनि टोलीलाई कमजोर आँक्न नसकिने तथ्य यस चरणले पुनः प्रमाणित गरेको छ । (एजेन्सीको सहयोगमा)

यस्तो छ अन्तिम १६ समीकरण

पाराग्वेविरुद्ध फ्रान्स

ब्राजिलविरुद्ध नर्वे

क्यानडाविरुद्ध मोरक्को

मेक्सिकोविरुद्ध इंग्ल्यान्ड

पोर्चुगलविरुद्ध स्पेन

अर्जेन्टिनाविरुद्ध इजिप्ट

अमेरिकाविरुद्ध बेल्जियम

स्विट्जरल्यान्डविरुद्ध कोलम्बिया

०००

ब्राजिल र इंग्ल्यान्डको वास्तविक शक्ति परीक्षण हुँदै, चुनौती दिँदै नर्वे र मेक्सिको

फुटबल विश्वकपको नकआउट चरणमा सोमबार हुने अन्तिम १६ का २ महत्वपूर्ण खेलले विश्वभरका समर्थकको ध्यान तानेका छन् । ५ पटकको विश्व विजेता ब्राजिलले बलियो लयमा रहेको नर्वेको सामना गर्नेछ भने सह–आयोजक मेक्सिकोले घरेलु समर्थकको साथमा सन् १९६६ को विजेता इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । विशेषगरी ब्राजिल र नर्वेबीचको खेललाई यस चरणकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एक मानिएको छ । ब्राजिलले समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ३–० ले पराजित गर्दै राम्रो लय समातेको देखिए पनि जापानविरुद्धको अन्तिम १६ को खेलको पहिलो हाफमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको थिएन । त्यस खेलमा जापानले ब्राजिललाई दबाबमा राखेको थियो । यद्यपि दोस्रो हाफमा ब्राजिलले खेलमा सुधार गर्दै आफ्नो अनुभव र गुणस्तर देखाएको थियो ।

ब्राजिलको रक्षापंक्ति गाब्रियल, मार्किन्होस र गोलरक्षक एलिसनजस्ता अनुभवी खेलाडीले सम्हाले पनि टोलीको प्रदर्शन पूर्ण रूपमा विश्वसनीय देखिएको छैन । यही कमजोरीलाई नर्वेले उपयोग गर्न सक्ने विश्लेषण गरिएको छ । नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्ड उत्कृष्ट लयमा छन् । उनले आइभरी कोस्टविरुद्ध निर्णायक गोल गर्दै प्रतियोगितामा आफ्नो पाँचौँ गोल पूरा गरेका थिए र गोल्डेन बुटको दौडमा पनि बलियो दाबेदारी प्रस्तुत गरेका छन् । विश्लेषकहरूका अनुसार नर्वेको आक्रामक खेलशैलीले ब्राजिललाई कडा चुनौती दिन सक्छ । यद्यपि अनुभव, व्यक्तिगत क्षमता र ठूला प्रतियोगिताको दबाब सामना गर्ने बानीका आधारमा धेरै विशेषज्ञले ब्राजिललाई नै जितको दाबेदार मानेका छन् । केही विश्लेषकले भने नर्वेले उलटफेर गर्न सक्ने सम्भावना पनि औँल्याएका छन् ।

यता मेक्सिको र इंग्ल्यान्डबीचको खेल पनि उत्तिकै आकर्षक हुने अपेक्षा गरिएको छ । यो खेल मेक्सिको सिटीस्थित प्रतिष्ठित अज्टेका रंगशालामा हुनेछ, जहाँ घरेलु समर्थकको साथ र समुद्री सतहबाट करिब २ हजार २४० मिटरको उचाइ मेक्सिकोका लागि अतिरिक्त फाइदा बन्न सक्छ । उच्च उचाइमा खेल्दा भ्रमणकारी टोलीलाई शारीरिक रूपमा चुनौती हुने भएकाले इंग्ल्यान्डले त्यसको प्रभाव सामना गर्नुपर्नेछ । इंग्ल्यान्ड प्रतियोगिताको नकआउट चरणमा पुगे पनि टोलीको प्रदर्शन मिश्रित रहेको छ । क्रोएसियाविरुद्धको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि टोलीले त्यस स्तरको निरन्तरता कायम राख्न सकेको छैन । डिआर कंगोविरुद्धको खेलमा सुरुमै पछि परेको इंग्ल्यान्डलाई कप्तान ह्यारी केनले २ गोल गर्दै कठिन अवस्थाबाट जित दिलाएका थिए । केनको उत्कृष्ट प्रदर्शनका कारण टोली अघिल्लो चरणमा पुगे पनि अन्य आक्रमणकारी खेलाडीले अपेक्षाअनुसार योगदान दिन नसकेको चर्चा भइरहेको छ ।

प्रशिक्षक थोमस टुचेलले नकआउट चरणमा टोलीले अझ सन्तुलित र प्रभावकारी खेल प्रदर्शन गर्नुपर्ने बताएका छन् । बुकायो साका र एन्थोनी गोर्डनजस्ता खेलाडीले निर्णायक भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ । विशेषगरी गोर्डनले पछिल्ला खेलमा बेन्चबाट मैदान प्रवेश गरेपछि २ वटै गोलका लागि अवसर सिर्जना गरेका थिए । मेक्सिको भने उत्कृष्ट लयमा देखिएको छ । सह–आयोजक टोलीले हालसम्मका चारै खेल जित्दै आठ गोल गरेको छ भने कुनै गोल बेहोरेको छैन । जुलियन क्विनोनेसले बायाँ विंगबाट प्रभावशाली प्रदर्शन गरेका छन् भने राउल जिमेनेज पनि राम्रो लयमा छन् । घरेलु मैदानमा मेक्सिकोको ऐतिहासिक प्रदर्शन पनि प्रभावशाली मानिन्छ । पछिल्ला धेरै दशकमा अज्टेका रंगशालामा प्रतिस्पर्धात्मक खेलमा मेक्सिको निकै कम पराजित भएको तथ्यांकले पनि टोलीको आत्मविश्वास बढाएको छ ।

फुटबल विश्लेषकहरूले ब्राजिल र इंग्ल्यान्डलाई आ–आफ्नो खेलमा जितको सम्भावित दाबेदार मानेका छन् । तर विश्वकपको नकआउट चरणमा कुनै पनि टोलीलाई कमजोर आँक्न नसकिने भएकाले नर्वे र मेक्सिकोले पनि आश्चर्यजनक नतिजा निकाल्ने सम्भावना उत्तिकै रहेको विश्लेषण गरिएको छ । विश्वकपको नकआउट चरणमा प्रत्येक खेल ‘गर या मर’को अवस्थासँग जोडिने भएकाले यी तीनै प्रतिस्पर्धाले समर्थकलाई उच्चस्तरको रोमाञ्च, तनाव र उत्कृष्ट फुटबलको अनुभव दिलाउने अपेक्षा गरिएको छ । जित हासिल गर्ने टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछ भने पराजित टोलीको विश्वकप यात्रा यही चरणबाट समाप्त हुनेछ । विश्वकपका नकआउट चरण शनिबार रातिदेखि सुरु भएको हो । पहिलो खेलमा सहआयोजक क्यानडाले मोरक्कोको सामना गरेको थियो । दोस्रो खेलमा फ्रान्स र पाराग्वे भिडेका थिए ।

०००

जर्मनीका मुख्य प्रशिक्षक नागेल्समानले दिए राजीनामा, क्लोप उत्तराधिकारी बन्ने सम्भावना

जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्समानले जारी विश्वकप बाट टोली अप्रत्याशित रूपमा बाहिरिएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रतियोगिताको उपाधि दाबेदारमध्ये एक मानिएको जर्मनी अन्तिम ३२ को चरणमा पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि उनले पद छाड्ने निर्णय गरेका हुन् । ३८ वर्षीय नागेल्समानले टोलीको भविष्यलाई ध्यानमा राख्दै आफूले जिम्मेवारीबाट अलग हुने निर्णय गरेको बताएका छन् । राजीनामाको घोषणा गर्दै उनले विश्वकपबाट बाहिरिएपछि आफूले गम्भीर समीक्षा गरेको र व्यक्तिगत रूपमा तथा जर्मन फुटबल संघ (डिएफबी) का पदाधिकारीसँग विस्तृत छलफलपछि यो निष्कर्षमा पुगेको उल्लेख गरे ।

उनका अनुसार राष्ट्रिय टोलीको सफलता नै आफ्नो पहिलो प्राथमिकता रहेको र वर्तमान परिस्थितिमा टोलीलाई नयाँ नेतृत्व आवश्यक भएको महसुस गरेका कारण पदबाट अलग हुने निर्णय लिइएको हो । उनले भने, ‘यो निर्णय मेरा लागि सहज थिएन । तर टोलीले नयाँ ऊर्जा र नयाँ सोचका साथ अघि बढ्ने अवसर पाउनुपर्छ भन्ने विश्वासका साथ मैले यो कदम चालेको हुँ ।’ यस विश्वकपमा जर्मनीले समूह ‘ई’ मा प्रभावशाली प्रदर्शन गर्दै कुरासाओलाई ७–१ तथा आइभरी कोस्टलाई २–१ ले पराजित गरेको थियो । यद्यपि समूह चरणको अन्तिम खेलमा इक्वेडरसँग २–१ ले पराजित भए पनि जर्मनी समूह विजेताका रूपमा नकआउट चरणमा पुगेको थियो। तर अन्तिम ३२ मा पाराग्वेसँग निर्धारित र अतिरिक्त समयमा १–१ को बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिनुपरेको थियो ।

राजीनामापछि नागेल्समानले आफ्ना प्रशिक्षक टोली, सहयोगी कर्मचारी, जर्मन फुटबल संघ, खेलाडी तथा समर्थकप्रति आभार व्यक्त गरेका छन् । उनले कठिन परिस्थितिमा पनि समर्थकले देखाएको विश्वास र साथको प्रशंसा गर्दै अपेक्षाअनुसारको नतिजा दिन नसकेकोमा दुःख व्यक्त गरे । नागेल्समान सन् २०२३ को सेप्टेम्बरमा हान्सी फ्लिकको स्थानमा जर्मनीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको नेतृत्वमा जर्मनीले घरेलु मैदानमा आयोजित युरो २०२४ को क्वार्टरफाइनल तथा २०२५ को युइएफए नेसन्स लिगको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। यद्यपि विश्वकपमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा उनको कार्यकाल निराशाजनक अन्त्यतर्फ पुगेको छ । नागेल्समानसँगै सहायक प्रशिक्षक बेन्जामिन ग्लुक र बेन्जामिन हुब्नरले पनि टोली छाड्ने भएका छन् । यसले जर्मन राष्ट्रिय टोलीको प्राविधिक संरचनामा व्यापक परिवर्तन आउने संकेत गरेको छ ।

जर्मन फुटबल संघका अध्यक्ष बेन्र्ड नोएन्डोर्फले नागेल्समानको योगदानको प्रशंसा गर्दै उनले राष्ट्रिय टोलीका लागि देखाएको समर्पण, व्यावसायिकता र महत्वाकांक्षाको उच्च मूल्यांकन गरेका छन् । उनले भविष्यका लागि पनि नागेल्समानको प्रशिक्षकीय यात्रामा सफलता मिलोस् भन्ने शुभकामना दिएका छन् । यता, डिएफबीले नयाँ मुख्य प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढाइसकेको जनाएको छ । प्रारम्भिक चरणमा पूर्व लिभरपुल तथा बोरुसिया डर्टमुन्डका सफल प्रशिक्षक युर्गन क्लोपसँग छलफल गर्ने तयारी भइरहेको बताइएको छ । क्लोपले पनि जर्मनीको राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्ने इच्छाबारे सकारात्मक संकेत दिएको जनाइएको छ । यदि सम्झौता सफल भएमा जर्मनीले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नयाँ रणनीति र नेतृत्वका साथ पुनर्निर्माणको अभियान सुरु गर्ने अपेक्षा गरिएको छ ।

०००

प्रतिक्रिया