१ खेल, २ महानायक र २ फरक भावुक अध्याय

पोर्चुगल र क्रोएसियाबीचको खेलपछिका २ संयोग

फिफा विश्वकप २०२६ को नकआउट चरणमा पोर्चुगल र क्रोएसियाबीचको भिडन्त केवल एउटा फुटबल म्याच मात्र रहेन, यसले आधुनिक फुटबलको २ दशक लामो स्वर्ण युगको सुखद् र दुःखद् पटाक्षेपलाई एकै ठाउँमा ल्याएर उभ्याइदिएको छ । एकातिर, ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने संकेतबीच आफ्नो ‘लास्ट डान्स’ लाई स्मरणीय बनाउने अभियानमा छन् भने अर्कोतर्फ, क्रोएसियाको हारसँगै लुका मोड्रिचको स्वर्णिम युग अर्थात् ‘लुका एरा’ अन्त्यतिर पुगेको चर्चा चुलिएको छ । ९० मिनेटको एउटै खेलले विश्व फुटबललाई एकातिर रोनाल्डोको सम्भावित सुखद् बिदाइको रोमाञ्चक पर्खाइमा छाडेको छ भने अर्कोतिर मिडफिल्डका जादुगर मोड्रिचको आँसुसँगै एउटा युगको अन्त्यको गहिरो शून्यता महसुस गराएको छ । २ दशकभन्दा बढी समय विश्व फुटबलमा आफ्नो प्रभुत्व कायम गरेका यी २ महान् खेलाडी एउटै मैदानमा फरक नियतिका साथ उभिए । त्यसैले पोर्चुगल–क्रोएसियाको उक्त खेल केवल नकआउट चरणको प्रतिस्पर्धा मात्र नभई आधुनिक फुटबलका २ महान् खेलाडीको विश्रामको समेत मञ्चन गरेको छ ।

के विश्वकपपछि रोनाल्डोले सन्न्यास लिँदै छन् ?

उत्तर अमेरिकामा जारी फिफा विश्वकपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमानी अध्याय थपिरहेका बेला उनको अन्तर्राष्ट्रिय भविष्यबारे नयाँ बहस सुरु भएको छ । नकआउट चरणमा क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अन्तिम १६ मा पु¥याएका रोनाल्डोले विश्व फुटबलमा आफ्नो प्रभाव कायमै राखेका छन् । तर, यही विश्वकप उनको अन्तर्राष्ट्रिय करियरको अन्तिम प्रतियोगिता हुन सक्ने संकेत उनका पारिवारिक स्रोतबाट बाहिरिएपछि विश्व फुटबल वृत्तमा चर्चा चुलिएको छ ।

रोनाल्डोकी दिदी कातिया अभेइरोले पोर्चुगिज सञ्चारमाध्यमसँग कुरा गर्दै सन् २०२६ को विश्वकप नै उनका भाइको ‘लास्ट डान्स’ अर्थात् अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सक्ने बताएकी छन् । उनको अभिव्यक्तिले दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय यात्राको अन्त्य नजिकिएको अनुमानलाई थप बल दिएको छ । सन् २००६ मा जर्मनी विश्वकपबाट यात्रा सुरु गरेका रोनाल्डो लगातार छैटौँ विश्वकप खेल्ने विश्वकै दुर्लभ खेलाडीमध्ये एक बनेका छन् ।

४१ वर्षको उमेरमा पनि उच्च स्तरको प्रदर्शन गरिरहेका रोनाल्डोले क्रोएसियाविरुद्ध गोल गर्दै विश्वकप इतिहासमा नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमान बनाएका छन् । उनी विश्वकपमा मैदान उत्रने सबैभन्दा पाका आउटफिल्ड खेलाडीसमेत बनेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा २४६ खेल खेल्दै १४६ गोल गरिसकेका उनले विश्व फुटबल इतिहासमा सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको कीर्तिमान अझै मजबुत बनाएका छन् ।

करियरभर कुल ९७६ गोल गरिसकेका रोनाल्डो अहिले १ हजार गोलको ऐतिहासिक उपलब्धिबाट केही कदम मात्रै टाढा छन् । विश्व फुटबलमा पेले, जोसेफ बिकान र रोमारियोजस्ता महान् खेलाडीहरूको गोल संख्यासम्बन्धी बहसबीच रोनाल्डो आधिकारिक तथ्यांकअनुसार १ हजार गोलको आँकडा छुने पहिलो आधुनिक युगका खेलाडी बन्न सक्ने सम्भावना जीवितै छ । यही कारणले पनि उनका समर्थकहरूले विश्वकपपछि तुरुन्तै पूर्ण सन्न्यासभन्दा केही समय क्लब फुटबललाई निरन्तरता दिने अपेक्षा गरिरहेका छन् ।

विश्व फुटबलमा दिग्गज खेलाडीहरूको सन्न्यास यात्रा पनि रोनाल्डोसँग तुलना भइरहेको छ । अर्जेन्टिनाका लियोनल मेसीले २०२२ को विश्वकप जितेपछि अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल सन्न्यास नलिई टोलीसँग यात्रा जारी राखेका थिए भने जर्मनीका मिरोस्लाभ क्लोजेले विश्वकप जितेपछि अन्तर्राष्ट्रिय करियर टुंग्याएका थिए । फ्रान्सका जिनेदिन जिदानले सन् २००६ को विश्वकपलाई आफ्नो अन्तिम प्रतियोगिताका रूपमा रोजेका थिए । रोनाल्डोले पनि विश्वकपलाई नै अन्तर्राष्ट्रिय यात्राको अन्तिम गन्तव्य बनाउने सम्भावना बलियो बन्दै गएको विश्लेषण भइरहेको छ ।

पोर्चुगलका लागि भने अहिलेको प्राथमिकता उपाधि यात्रा लम्ब्याउनु हो । प्रशिक्षक रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको टोलीलाई यसपटक उपाधिको दाबेदार मानिएको छ । ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, गोन्कालो रामोस, राफाएल लियाओ र जोआओ नेभेसजस्ता नयाँ पुस्ताका प्रतिभावान खेलाडीहरूको साथमा रोनाल्डोले अन्तिमपटक विश्वकप ट्रफी उचाल्ने सपना देखिरहेका छन् ।

यदि पारिवारिक स्रोतबाट आएको संकेत सत्य सावित भयो भने, विश्व फुटबलले २ दशकभन्दा बढी समयसम्म मैदानमा राज गरेका एक असाधारण खेलाडीलाई अन्तर्राष्ट्रिय रंगमञ्चबाट बिदाइ गर्नेछ । तर, १ हजार गोलको ऐतिहासिक लक्ष्य र विश्वकप उपाधिको अधुरो सपना बोकेका रोनाल्डोका लागि अहिले सबैभन्दा महत्वपूर्ण कुरा भने अन्तिम प्रतियोगितालाई सम्झनलायक बनाउनु नै हुनेछ ।

विश्वकप उपाधिसहित सुखद् बिदाइको सपना

सन् २०१६ मा पोर्चुगललाई युरो कप र २०१९ मा नेशन्स लिगको उपाधि दिलाएका रोनाल्डोको क्याबिनेटमा फिफा विश्वकपको ट्रफी मात्रै अभाव छ । उनका समकालीन प्रतिद्वन्द्वी लियोनेल मेस्सीले सन् २०२२ मा कतारमा विश्वकप जितिसकेको पृष्ठभूमिमा, रोनाल्डोका लागि यो विश्वकप आफ्नो प्रतिष्ठाको अन्तिम लडाईं पनि हो ।

विश्वकप २०२६ को नकआउट चरणमा रोनाल्डोको पेनाल्टी र गोन्कालो रामोसको इन्जुरी टाइम गोलको मद्दतले पोर्चुगलले उपाधि यात्रालाई जीवितै राखेको छ । यदि पोर्चुगलले यो संस्करणको विश्वकप जित्न सक्यो भने, यो फुटबल इतिहासकै सबैभन्दा विलासी र सुखद् बिदाइ हुनेछ । विश्वभरका प्रशंसकहरू अहिले एउटै कामना गरिरहेका छन्– फुटबलका यी महानायकको ‘लास्ट डान्स’ विश्वकपको सुनौलो ट्रफी उचालेर नै अन्त्य होस् ।

०००

क्रोएसियाको हारसँगै ‘लुका एरा’ अन्त्यको बहस

जारी फिफा विश्वकपमा क्रोएसियाको यात्रा समाप्त भएसँगै कप्तान लुका मोड्रिचको अन्तर्राष्ट्रिय भविष्यलाई लिएर विश्वभर बहस सुरु भएको छ । विश्वकपको सम्भावित अन्तिम खेलपछि मैदानबाट बाहिरिँदै गर्दा भावुक बनेका मोड्रिचका रसिला आँखाले केवल एक खेलाडीको पीडा मात्र व्यक्त गरेनन्, बरु सानो राष्ट्रलाई विश्व फुटबलको महाशक्तिका रूपमा स्थापित गर्ने एउटा स्वर्णिम पुस्ताको अन्त्य नजिकिएको संकेत पनि दियो ।

खेल सकिएपछि मैदानमा मोड्रिचले दर्शकतर्फ फर्केर अभिवादन गर्दा स्टेडियम केही क्षण मौन बनेको थियो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म ‘द एन्ड अफ द लुका एरा’ शीर्षकमा विश्लेषणहरू प्रकाशित भइरहेका छन् । धेरैले यसलाई विश्व फुटबलका महान् मिडफिल्डरमध्ये एकको विश्वकप यात्राको अन्तिम अध्यायका रूपमा व्याख्या गरेका छन् ।

सन् २००६ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका मोड्रिचले झन्डै २ दशकसम्म क्रोएसियाको जर्सीमा असाधारण योगदान दिएका छन् । उनले देशका लागि १९० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका छन् र कप्तानका रूपमा क्रोएसियालाई सन् २०१८ को विश्वकपको फाइनल तथा सन् २०२२ मा तेस्रो स्थानसम्म पु¥याएका थिए । विश्वकपको इतिहासमा करिब ४० लाख जनसंख्या भएको राष्ट्रलाई लगातार उच्च स्तरमा प्रतिस्पर्धी बनाउनु आफैंमा असाधारण उपलब्धि मानिन्छ, जसको केन्द्रमा मोड्रिचको नेतृत्व थियो ।

रुसमा सम्पन्न सन् २०१८ को विश्वकप मोड्रिचको करियरको स्वर्णिम क्षण बन्यो । क्रोएसियालाई पहिलो पटक विश्वकप फाइनलसम्म पु¥याउँदै उनले ‘गोल्डेन बल’ जिते भने सोही वर्ष फुटबलमा १ दशकभन्दा बढी समयदेखि कायम लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको वर्चस्व तोड्दै बालोन डी’ओर जित्न सफल भए । त्यो उपलब्धिले उनलाई क्रोएसियाको मात्र होइन, विश्व फुटबलकै महान् खेलाडीहरूको सूचीमा स्थापित गरिदियो ।

क्लब फुटबलमा पनि मोड्रिचको यात्रा उत्तिकै प्रेरणादायी छ । बाल्यकालमा युद्धको पीडा भोग्दै हुर्किएका उनले क्रोएसियाको डाइनामो जाग्रेबबाट व्यावसायिक यात्रा सुरु गरेका थिए । त्यसपछि इंग्ल्यान्डको टोटेनहम हुँदै स्पेनको रियल म्याड्रिड पुगेका मोड्रिचले त्यहाँ आधुनिक फुटबल इतिहासकै सफल मध्यपंक्तिका खेलाडीमध्ये एकका रूपमा आफ्नो पहिचान बनाए । उनले रियल म्याड्रिडका लागि अनेकौं घरेलु उपाधिसहित छ वटा युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका छन्, जुन आफैंमा ऐतिहासिक उपलब्धि हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले मोड्रिचलाई केवल उत्कृष्ट मिडफिल्डर मात्र नभई एउटा पुस्ताको प्रतीकका रूपमा चित्रण गरेका छन् । ब्रिटिश, स्पेनी र इटालियन पत्रपत्रिकाहरूले उनको खेल शैली, अनुशासन, नेतृत्व क्षमता र विनम्र व्यक्तित्वलाई आधुनिक फुटबलका लागि आदर्श उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । सामाजिक सञ्जालमा समर्थकहरूले ‘फुटबलले एक सज्जन योद्धालाई विदाइ गर्न लागेको छ’ भन्दै भावुक प्रतिक्रिया जनाइरहेका छन् ।

यद्यपि, मोड्रिचले तत्काल अन्तर्राष्ट्रिय सन्यासको औपचारिक घोषणा भने गरिसकेका छैनन् । यसअघि पनि उनले विश्वकपपछि निरन्तरता दिने निर्णय गर्दै आलोचकहरूलाई चकित पारेका थिए । तर उमेर, शारीरिक चुनौती र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने आवश्यकताले गर्दा यो विश्वकप उनको अन्तिम उपस्थिति हुन सक्ने अनुमान बलियो बनेको छ । यदि यही विश्वकप मोड्रिचको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता बन्यो भने, क्रोएसियाली फुटबलले आफ्नो इतिहासकै सर्वश्रेष्ठ कप्तानलाई विदाइ गर्नेछ । उनको योगदान केवल उपाधि र कीर्तिमानमा सीमित रहने छैन ।

प्रतिक्रिया