नवप्रवेशी केप भर्डेको चुनौती सामना गर्दै साविक विजेता अर्जेन्टिना, मेसीमाथि फेरि सबैको नजर

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणअन्तर्गत अन्तिम ३२ को प्रतिस्पर्धामा साविक विजेता अर्जेन्टिना र नवप्रवेशी केप भर्डेबीच नेपाली समयअनुसार शनिबार बिहान ३ः४५ बजे अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा प्रतिस्पर्धा हुँदै छ । समूह चरणमा शतप्रतिशत सफलता हासिल गरेको अर्जेन्टिना उपाधि रक्षा अभियानलाई निरन्तरता दिने लक्ष्यमा छ भने इतिहास रच्दै नकआउट चरण पुगेको केप भर्डे अर्को ठुलो उलटफेर गर्ने आशामा मैदान उत्रिनेछ ।

समूह चरणमा अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्दै तीनवटै खेल जित्न सफल भएको थियो । प्रतियोगिताको सुरुदेखि नै उपाधिको प्रमुख दाबेदार मानिएको टोलीले आक्रामक खेलसँगै बलियो रक्षात्मक प्रदर्शन पनि देखाएको छ । प्रशिक्षक लियोनल स्कालोनीको नेतृत्वमा टोलीले पछिल्ला केही वर्षदेखि अन्तर्राष्ट्रिय फुटबलमा निरन्तर उत्कृष्ट नतिजा निकाल्दै आएको छ ।

अर्जेन्टिनाको पछिल्लो नकआउट चरणको हार सन् २०१९ को कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग भएको थियो । त्यसयता टोलीले कुनै पनि प्रमुख प्रतियोगिताको नकआउट खेलमा हार बेहोरेको छैन । यस अवधिमा अर्जेन्टिनाले कोपा अमेरिका तथा विश्वकपको उपाधिसमेत जितेर आफ्नो प्रभुत्व स्थापित गरेको छ ।
यस प्रतियोगितामा पनि कप्तान लियोनल मेसी उत्कृष्ट लयमा देखिएका छन् । अनुभवी फरवार्डले समूह चरणमै ६ गोल गर्दै टोलीको आक्रमणको नेतृत्व गरेका छन् ।

अर्जेन्टिनाले हालसम्म गरेको अधिकांश गोलमा मेसीको प्रत्यक्ष योगदान रहेको छ । व्यक्तिगत प्रदर्शनका हिसाबले पनि उनी प्रतियोगिताका सर्वाधिक गोलकर्तामध्ये एक हुन् । यद्यपि अर्जेन्टिनाको सफलता केवल मेसीमा मात्र निर्भर छैन । लाउटारो मार्टिनेज, जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, रोड्रिगो डे पाउल र एलेक्सिस म्याक एलिस्टरजस्ता खेलाडीहरूले पनि टोलीलाई सन्तुलित बनाएका छन् । नकआउट चरणमा यी खेलाडीहरूको भूमिका अझ महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

रक्षापंक्तिमा पनि अर्जेन्टिना बलियो देखिएको छ । चोटको आशंका गरिएका क्रिस्टियन रोमेरो खेल्न सक्ने अवस्थामा पुगेको समाचारले प्रशिक्षक स्कालोनीलाई राहत दिएको छ । यदि उनी मैदानमा उत्रिए भने अर्जेन्टिनाको रक्षा थप मजबुत हुने विश्वास गरिएको छ । अर्कोतर्फ, केप भर्डेका लागि यो विश्वकप ऐतिहासिक प्रतियोगिता बनेको छ । पहिलोपटक विश्वकप खेलिरहेको टोलीले समूह चरणबाट अगाडि बढेर सबैलाई चकित पारेको छ । यद्यपि टोलीले धेरै गोल गर्न सकेको छैन, तर बलियो रक्षात्मक रणनीतिका कारण कठिन प्रतिद्वन्द्वीहरूलाई समेत रोक्न सफल भएको छ ।

केप भर्डेले समूह चरणमा अनुशासित र संयमित प्रदर्शन गर्दै अंक बटुल्यो । टोलीले रक्षामा उत्कृष्ट समन्वय देखाएको थियो । गोलरक्षक भोजिन्हाले लगातार प्रभावशाली प्रदर्शन गर्दै टोलीलाई संकटबाट बचाएका थिए । उनका केही महत्वपूर्ण बचाउले केप भर्डेलाई नकआउट चरणसम्म पु¥याउन ठुलो भूमिका खेलेको मानिन्छ । टोलीका प्रशिक्षक बुबिस्टाले अर्जेन्टिनाविरुद्ध पनि रक्षात्मक संगठनलाई प्राथमिकता दिने संकेत दिएका छन् ।

विश्व विजेताविरुद्ध खुला खेल खेल्नु जोखिमपूर्ण हुने भएकाले केप भर्डेले अवसरको प्रतीक्षा गर्दै प्रतिआक्रमणमार्फत नतिजा निकाल्ने रणनीति अपनाउने अपेक्षा गरिएको छ । केप भर्डेका प्रमुख आक्रमणकारी डेलोन रोचा लिभ्रामेन्टोले छनोट चरणमा राम्रो प्रदर्शन गरे पनि विश्वकपमा भने अझै गोल गर्न सकेका छैनन् । अनुभवी रायन मेन्डेस तथा अन्य मिडफिल्ड खेलाडीहरूले आक्रमणमा प्रभावकारी भूमिका निर्वाह गर्न सके मात्र टोलीले अर्जेन्टिनालाई दबाबमा राख्न सक्नेछ ।

दुवै टोलीको पछिल्लो प्रदर्शन तुलना गर्दा अर्जेन्टिना स्पष्ट रूपमा बलियो देखिन्छ । लगातार जितको लयमा रहेको दक्षिण अमेरिकी टोली आत्मविश्वासका साथ मैदानमा उत्रिनेछ । केप भर्डेले भने अहिलेसम्म देखाएको अनुशासित रक्षात्मक प्रदर्शनलाई निरन्तरता दिन सके खेललाई प्रतिस्पर्धात्मक बनाउन सक्छ । सम्भावित सुरुआती टोलीमा अर्जेन्टिनाले गोलरक्षक एमिलियानो मार्टिनेजसँगै नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज र फाकुन्डो मेडिनालाई रक्षापंक्तिमा उतार्न सक्छ ।

मिडफिल्डमा रोड्रिगो डे पाउल, एन्जो फर्नान्डेज र एलेक्सिस म्याक एलिस्टर रहने सम्भावना छ भने आक्रमणमा थियागो आल्माडा, लियोनल मेसी र लाउटारो मार्टिनेजले जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ । केप भर्डेले गोलरक्षक भोजिन्हासहित मोरेइरा, पिको, डिने र एस काब्राललाई रक्षापंक्तिमा राख्न सक्छ । मिडफिल्डमा लेनिनी, रायन मेन्डेस, डुआर्टे, जमिरो मोन्टेइरो र जे काब्राल रहने सम्भावना छ भने अग्रपंक्तिमा लिभ्रामेन्टोले नेतृत्व गर्ने अपेक्षा गरिएको छ ।

फुटबल विश्लेषकहरूका अनुसार अर्जेन्टिना यो खेलको स्पष्ट दाबेदार हो । टोलीको अनुभव, खेलाडीहरूको गुणस्तर तथा पछिल्लो प्रदर्शनलाई आधार मान्दा अर्जेन्टिनाले खेलमा नियन्त्रण कायम गर्ने अनुमान गरिएको छ । यद्यपि केप भर्डेको अनुशासित रक्षा र कडा मिहिनेतले अर्जेन्टिनालाई सहज जित निकाल्न भने चुनौती दिन सक्छ । समग्रमा हेर्दा, साविक विश्वविजेता अर्जेन्टिना आफ्नो लगातारको जितको यात्रालाई कायम राख्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ ।

केप भर्डे भने विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि हासिल गर्ने सपना बोकेर मैदानमा उत्रिनेछ । सबैको नजर फेरि एकपटक कप्तान मेसीमाथि रहनेछ, जसले आफ्नो व्यक्तिगत उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै टोलीलाई अर्को चरणमा पु¥याउने अपेक्षा गरिएको छ । मेसीले समूह चरणका ३ खेलमा ६ गोल गरिसकेका छन् । उनी यो समाचार तयार पार्दासम्म जारी विश्वकपका सर्वाधिक गोलकर्ता हुन् । उनीसँगै फ्रान्सका कप्तान किलियन एम्बाप्पेको पनि समान ६ गोल छ । अन्तिम ३२ अन्तर्गत शुक्रबार राति ११ः४५ बजे सुरु हुने खेलमा अस्ट्रेलिया र इजिप्ट आमनेसामने हुँदै छन् । यस्तै, शनिबार बिहान ७ः४५ बजे कोलम्बिया र घाना भिड्दै छन् ।

प्रतिक्रिया