७ पदाधिकारी र ९९ केन्द्रीय सदस्यको चयनसँगै सकियो रास्वपाको प्रथम महाधिवेशन

काठमाडौँ । सभापतिसहित ७ पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यको चयनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन सम्पन्न भएको छ । ७ असारदेखि सुरु भएको महाधिवेशन १२ असारमा सकिएको हो ।

महाधिवेशन प्रतिनिधिको टुंगो लगाउनै सकस पर्दा तथा केन्द्रीय सदस्यहरूकै भागबन्डा नमिल्दा ७ देखि ९ असारसम्म ३ दिनका लागि तय भएको महाधिवेशन लम्बिएर ६ दिनमा सकिएको छ । पार्टी स्थापनाको ४ वर्षपछि रास्वपाले महाधिवेशनमार्फत पदाधिकारी चयन गर्दै पार्टीलाई विधिवत् रूपमा अघि बढाएको छ ।

पहिलो महाधिवेशनले सभापतिमा संस्थापक सभापतिसमेत रहेका रवि लामिछानेलाई नै सर्वसम्मत गरेको थियो भने विधान संशोधन गरी थपिएको वरिष्ठ नेतामा पूर्वसहमतिअनुसार प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सर्वसम्मत भइसकेका छन् । तर, उनी सभापति लामिछानेको मनोनयन प्रक्रियामार्फत आउनेछन् ।

यी २ पदका लागि महाधिवेशनअघि नै पार्टीभित्र सहमति बनिसकेको थियो । त्यस्तै, पार्टीको २ उपसभापतिमध्ये खुलातर्फ डा.स्वर्णिम वाग्ले निर्विरोध भएका थिए । वाग्लेको उम्मेदवारीमा विराजभक्त श्रेष्ठ प्रस्तावक बसेका थिए । आफैँ पनि उपसभापतिका आकांक्षी भए पनि श्रेष्ठले आफ्नो दाबी छाड्दै वाग्लेको उम्मेदवारीलाई समर्थन गरेका थिए ।

त्यस्तै, अर्को उपसभापति (महिलातर्फ) सोविता गौतम निर्वाचित भइन् । उनले डा. तोसिमा कार्कीलाई पराजित गरेकी थिइन् । उपसभापतिको महिलातर्फ जम्मा २ जना गौतम र डा. तोसिमा कार्की उम्मेदवारी दिएका थिए । महामन्त्रीमा भने विपिनकुमार आचार्य चुनिए । यसैगरी सहमहामन्त्रीमा असिम शाह, हरि ढकाल र निशा डाँगी निर्वाचित भए ।

२ जना निर्वाचित हुने खुलातर्फको सहमहामन्त्रीका लागि ११ जनाले उम्मेदवारी दिएका थिए भने १ जना निर्वाचित हुने महिलातर्फको सह–महामन्त्रीका लागि ५ जनाले उम्मेदवारी दिएका थिए । गौतमले ७८९ मत प्राप्त गरिन् भने महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् ।

उनले ६७३ मत प्राप्त गरे । सहमहामन्त्री खुलातर्फ शाहले ४७१ मत प्राप्त गरे भने ढकालले ४१० मत प्राप्त गरे । त्यस्तै, महिला सहमहामन्त्रीमा डाँगीले ७३७ मत प्राप्त गरिन् । त्यसअघि पहिलो चरणको निर्वाचनमार्फत ९९ जना केन्द्रीय सदस्यहरूको टुंगो लागेको थियो ।

जसमा राष्ट्रिय खुलातर्फबाट ३२, समावेशी समूहअन्तर्गत खस–आर्यबाट १० जना, आदिवासी जनजातिबाट ९ जना, थारूबाट २ जना, मधेसीबाट ५ जना, दलितबाट ४, मुस्लिमबाट २ जना तथा सातै प्रदेशबाट ५–५ जना केन्द्रीय सदस्य निर्वाचित भए । महाधिवेशन निर्वाचन आयोगका अनुसार खुलातर्फ स्वर्णिम वाग्लेले सर्वाधिक २ हजार ६५६ मत प्राप्त गरेका थिए ।

यी चर्चित अनुहार जो केन्द्रीय सदस्यमै पराजित भए

एकतिहाइ पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनबाट रास्वपाको संशोधित विधानअनुसार पदाधिकारीदेखि एकतिहाइ केन्द्रीय सदस्य मनोनीतमार्फत आउने छन् । जसका लागि सभापतिलाई पूर्ण अधिकार दिइएको छ । असार ४ गते बसेको केन्द्रीय सचिवालय बैठकले रास्वपाको संशोधित विधान स्वीकृत गरिसकेको छ । जसअनुसार १५१ सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य निर्वाचनमार्फत आएपछि ५२ जना सभापति लामिछानेले मनोनीत गर्नेछन् ।

त्यस्तै, केन्द्रीय समितिले निर्वाचत गर्ने पदाधिकारीबाहेक १ वरिष्ठ नेता, १ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री पनि सभापतिले नै मनोनीत गर्नेछन् । यसका साथै, १ कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, १ प्रवक्ता र २ सहप्रवक्ता पनि सभापतिले मनोनीत गर्ने व्यवस्था रास्वपाको विधानमा छ । ३३ सदस्यीय केन्द्रीय सचिवालयमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री स्वतः सदस्य हुनेछन् भने बाँकी सदस्य सभापतिले नै मनोनयन गर्नेछन् ।

प्रतिक्रिया