याङवरक गाउँपालिकाका ६ वटै वडामा छुवाछुतसम्बन्धी सचेतना सुरु

पाँचथर । जिल्लाको उत्तरी क्षेत्र याङवरक गाउँपालिकाका ६ वटै वडामा मानवअधिकार र दलित अधिकारबारे सचेतना सुरु भएको छ । उक्त कार्यक्रममा वडाका संघ–संस्था, जनप्रतिनिधि दलित समुदायहरूको सहभागिता हुने गरेका छन् ।

सो समुदायमा कानुनले दिएको अधिकारबारे सचेतना सुरु गरीएको सहजकर्ता अधिवक्ता तथा मानव अधिकारकर्मी समान विश्वकर्माले जानकारी दिए ।

सरोकारवाला माझ जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ ले सजायको व्यवस्था गरेको भएता पनि प्रभावकारी नपाइएकाले सचेतनाबाट जागरण गराउन पालिकाको आयोजना रहेको अधिवक्ता विश्वकर्माको भनाइ छ ।

अधिकारकर्मी विश्वकर्माले नेपालको संविधानले जातिय छुवाछुत विभेद गर्न नपाइने व्यवस्था गरेको र कसैले जातिय तथा अन्य कुनै पनि आधारमा छुवाछुत भेदभावजन्य व्यवहार गर्न नहुने भन्ने कानुनी प्रावधान रहेता पनि, समाजमा भेदभाव कायमै रहेको बताए ।

यस्ता सचेतना कार्यक्रम जिल्लाको ८ वटै पालिकामा सञ्चालन गर्न जरुरी रहेको सरोकारवालाको भनाई रहँदै आएको छ ।
सचेतना अभियानकै क्रममा याङवरक गाउँपालिकाको एक मन्दिरमा दलितलाई प्रवेश निषेध गरिएको विषयमा व्यापक छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया