फेरि सूचना टाँसेर आइतबारलाई सारियो प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । भोलि शनिबार बिहान ११ बजे बस्नेगरी संसद् सचिवालयले बैठक बोलाएको थियो ।

योसहित प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको हो । संसद् सचिवालयले विशेष कारण बैठक स्थगित गरिएको जानकारी गराएको छ । प्रतिनिधिसभाको आगामी बैठक यही असार १४ गते आइतबार ११ बजे बस्ने सचिवालयले जनाएको छ ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले आज सूचना जारी गरेर बैठक स्थगन भएको जानकारी दिए । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम बैठकको मिति सारेका हुन् ।

यसअघि यही असार ११ गते शुक्रबारका लागि बैठक पूर्वनिर्धारित भएकोमा पहिलो सूचनामार्फत् स्थगित भएको थियो । चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिएको कारण बैठक सरेको आँकलन गरिएको छ ।

प्रतिक्रिया