
झापा । भारतले नेपाली चिया आयातमा नयाँ गुणस्तर परीक्षणको बहानामा कडाइ गरेपछि झापासहित देशका प्रमुख चिया उत्पादन क्षेत्रका उद्योग बन्द हुन थालेका छन् । इलामका अर्थोडक्स चिया उद्योगहरू असार १ गतेदेखि बन्द भइसकेका छन् भने झापाका सिटीसी र अर्थोडक्स चिया उद्योगहरू पनि आज असार ४ गतेदेखि उत्पादन रोक्न बाध्य भएका छन् ।
नेपाल चिया उत्पादक संघले बुधबार झापाको भद्रपुरमा पत्रकार सम्मेलन गर्दै भारतीय नीतिका कारण उद्योग सञ्चालन असम्भव बनेको जनाएको छ । संघका अनुसार भारतीय चिया बोर्डले मे १ देखि लागू गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसओपी)’ अन्तर्गत नेपालबाट निर्यात हुने प्रत्येक पटकको चियाको छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । परीक्षण प्रतिवेदन आउन २० देखि २५ दिनसम्म लाग्ने र त्यसअघि बिक्री गर्न नपाइने प्रावधानले निर्यात प्रक्रिया अवरुद्ध भएको उद्योगीहरूको भनाइ छ ।
संघका अध्यक्ष आदित्य पराजुलीले गुणस्तर परीक्षणका नाममा भारतले नेपाली चियामाथि व्यवहारतः अवरोध सिर्जना गरेको आरोप लगाए । उनका अनुसार परीक्षणको बहानामा चिया भारतीय खरिदकर्ताका गोदाममा लामो समय थन्किने, लागत बढ्ने र गुणस्तर प्रतिवेदनको विश्वसनीयतामै प्रश्न उठ्ने अवस्था बनेपछि नेपाली चिया निर्यात कठिन भएको छ । उनले पछिल्लो डेढ महिनादेखि समस्या समाधानका लागि कृषि मन्त्रालय, सम्बन्धित निकाय तथा प्रधानमन्त्री कार्यालयसम्म पटक–पटक ध्यानाकर्षण गराए पनि प्रभावकारी पहल नभएको गुनासो गरे । ‘यसअघि यस्ता समस्या देखिँदा उच्च तहको कूटनीतिक संवादमार्फत् समाधान खोजिन्थ्यो । तर, अहिले हाम्रो कुरा सुनिदिने कोही भएन,’ उनले भने ।
५ लाख किलो चिया भारतमा रोकियो
उद्योगीहरूका अनुसार हाल करिब ५ लाख किलो नेपाली चिया भारतीय बजारमा परीक्षणका नाममा रोकिएको छ । उद्योगहरूमा त्यसको ३ गुणाभन्दा बढी तयारी चिया थन्किएको छ । गोदाम भरिइसकेका कारण किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयार चिया उत्पादन गरे पनि बजारमा पठाउन नसकिने अवस्था छ । संघका महासचिव सूर्य दाहालले भण्डारण क्षमता समाप्त भइसकेको छ भने किसानलाई भुक्तानी रोक्न पनि नमिल्ने भएकाले उद्योग बन्द गर्नुबाहेक अर्को विकल्प नदेखेको बताए । भारतीय व्यवस्थाअनुसार परीक्षणमा असफल ठहरिएको चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने हुन्छ । उद्योगीहरूका अनुसार यसले निर्यात झन् जोखिमपूर्ण बनाएको छ ।
वार्षिक ५ अर्बको निर्यात प्रभावित
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट बर्सेनि ७० लाख किलोभन्दा बढी तयारी चिया निर्यात हुने गरेको छ । त्यसको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारमा जाने गर्छ । नेपालबाट भारततर्फ वार्षिक करिब ५ अर्ब रुपैयाँ बराबरको चिया निर्यात हुने गरेको तथ्यांक छ । अध्यक्ष पराजुलीका अनुसार नेपाली चिया क्षेत्रले वार्षिक रूपमा सरकारलाई विभिन्न शीर्षकमा १ अर्ब रुपैयाँभन्दा बढी राजस्व योगदान गर्दै आएको छ । तर, राज्यले चियालाई विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण निर्यातजन्य वस्तुका रूपमा प्राथमिकता नदिएको उनको आरोप छ ।
चिया व्यवसायी सागर घिमिरेका अनुसार झापा नेपालकै सबैभन्दा ठुलो चिया उत्पादन क्षेत्र हो । यहाँ अर्थोडक्स र सिटिसी गरी वार्षिक १२ देखि १४ अर्ब रुपैयाँको कारोबार हुने गरेको छ । कुल उत्पादनमध्ये ५ अर्ब रुपैयाँभन्दा बढीको चिया भारत निर्यात हुने गरेको उनले बताए ।
६० हजारभन्दा बढी रोजगारी संकटमा
चिया उद्योग बन्द हुँदा यसको असर उद्योगीमा मात्र सीमित नहुने व्यवसायीहरूको भनाइ छ । उद्योगीहरूका अनुसार चिया क्षेत्रमा प्रत्यक्ष रूपमा करिब ६० हजार श्रमिक तथा कर्मचारी आबद्ध छन् भने हजारौँ किसानको जीविकोपार्जन यही क्षेत्रसँग जोडिएको छ । उद्योगमा उत्पादित चिया बिक्री हुन नसक्दा नगद प्रवाह प्रभावित भएको, किसानलाई हरियो पत्तीको भुक्तानी दिन कठिनाइ भएको तथा श्रमिकको रोजगारीसमेत जोखिममा परेको संघले जनाएको छ । पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिअनुसार झापामा मात्रै ३० भन्दा बढी सानाठुला चिया उद्योग र करिब २ दर्जन चिया बगान छन् । इलाममा भने ५३ भन्दा बढी अर्थोडक्स चिया उद्योग बन्द भइसकेका छन् ।
वैकल्पिक बजार खोज्न माग
उद्योगीहरूले भारतले गुणस्तर परीक्षणका नाममा नेपाली चियामाथि ‘अघोषित नाकाबन्दी’ लगाएको आरोप लगाएका छन् । भारतपछि बंगलादेशमा पनि नेपाली चियाको माग रहे पनि उच्च भन्सार शुल्कका कारण त्यहाँ निर्यात विस्तार गर्न नसकिएको उनीहरूको भनाइ छ । उद्योगीहरूका अनुसार भारतमा चियामा केवल ५ प्रतिशत जिएसटी लाग्ने र चियामाथि भन्सार छुटको व्यवस्था रहे पनि बंगलादेशमा उच्च भन्सार शुल्क लाग्ने भएकाले नेपाली चिया प्रतिस्पर्धी बन्न सकेको छैन । चिया व्यवसायीहरूले भारतमाथिको अत्यधिक निर्भरता घटाउँदै बंगलादेश, पाकिस्तानलगायत नयाँ बजार खोज्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
सरकारसँग कूटनीतिक पहलको माग
नेपाल चिया उत्पादक संघले तत्काल उच्चस्तरीय कूटनीतिक पहलमार्फत् भारतीय अवरोध हटाउन सरकारसँग माग गरेको छ । संघले बुधबार झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालमार्फत् सरकारलाई ज्ञापनपत्रसमेत बुझाएको छ । अध्यक्ष पराजुलीले भारतीय अवरोध कायम रहेसम्म उद्योग बन्द गर्ने निर्णय यथावत् रहने स्पष्ट पारे । उनले नेपाली चियाको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको रहेको दाबी गर्दै गुणस्तर परीक्षणका नाममा गरिएको अवरोधले सम्पूर्ण चिया क्षेत्र संकटमा परेको बताए । उनका अनुसार सरकारले समयमै पहल नगरे नेपालले वर्षौंदेखि बनाएको निर्यात बजार गुम्ने जोखिम मात्र होइन, हजारौँ किसान, श्रमिक र उद्योगसँग जोडिएको महत्वपूर्ण कृषि–आधारित अर्थतन्त्र नै गम्भीर संकटमा पर्न सक्छ ।
सरकार भन्छ–कूटनीतिक प्रयास जारी छ
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताएकी छिन् । प्रतिनिधिसभामा जबाफ दिँदै उनले भनिन्, ‘मन्त्रालयले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको छ । स्थानीय कृषि उपजको बजार पहुँच अभिवृद्धि गर्न सम्बन्धित क्षेत्रका व्यवसायीसँगको लागत साझेदारीमा गोदाम घर निर्माणका लागि स्रोत व्यवस्थापन भइरहेको छ ।’
प्रतिक्रिया