सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)को मुद्दामा बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । बुधबार बयान र थुनछेक बहसपछि विशेष अदालतले उनीहरूलाई कारागार चलानको आदेश दिएको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम सुनुवाइ बाँकी रहेको भन्दै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रस्तुत मुद्दा पुर्पक्षका लागि यी प्रतिवादीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी विशेष अदालत नियमावली, २०८० को नियम ३० को उपनियम (१) बमोजिम थुनुवा पुर्जी दिई सम्बन्धित कारागार कार्यालयमा पठाइदिनू,’ विशेषको आदेशमा भनिएको छ । नेपालको इतिहासमै अहिलेसम्मको ठुलो वित्तीय कसुरमा उनीहरूविरुद्ध अनुसन्धान र मुद्दा दायर भएको थियो ।

भट्टलाई २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ र अग्रवाललाई २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो कायम गरिएको छ । ५ महिना लामो अनुसन्धानपछि उनीहरूविरुद्ध एकै पटक ४ वटा अभियोग धितोपत्र, बिमा, बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणको मुद्दा ३ वटा अदालतमा पुगेको छ । अनुसन्धानका लागि भट्ट चैत १९ गते र अग्रवाल चैत २२ गते पक्राउ परेका थिए ।

विशेषमा परेको मुद्दामा उनीहरूमाथि बिमा, धितोपत्र तथा बैंकिङ कसुरमार्फत् आर्जन गरेको सम्पत्ति शुद्धीकरण गरेको अभियोग छ भने काठमाडौँ जिल्ला अदालतमा बिमा र धितोसम्बन्धी र उच्च अदालतमा बैंकिङ कसुर मुद्दा दायर भइसकेको छ ।

उनीहरूले बैंकबाट प्राप्त कर्जा दुरुपयोग गर्ने, बिमा कम्पनीहरूको रकम गैरकानुनी रूपमा सेयर बजारमा प्रयोग गर्ने, कृत्रिम कारोबारमार्फत् सेयर मूल्य प्रभावित गर्ने तथा त्यसबाट प्राप्त रकम विभिन्न माध्यमबाट शुद्धीकरण गरी वैध देखाउने काम गरेको अभियोगपत्रमा उल्लेख छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा धितोपत्र कसुरमा ८१ र बिमा कसुरमा ४२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सम्पत्ति शुद्धीकरण कसुरमा ३९ जनाविरुद्ध विशेष अदालत र बैंकिङ कसुरमा ४ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया