वाकीटकी देखाएर म प्रहरी हुँ भन्दै धम्काउने व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित फुटबल ग्राउन्ड नजिकै प्रहरीले प्रयोग गर्ने सञ्चार सेट (वाकीटकी) देखाएर ‘म प्रहरी हुँ’ भन्दै सर्वसाधारणलाई धाकधम्की दिने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं–३ बस्ने ४७ वर्षीय शैलेश डंगोललाई वाकीटकी र नवीकरण नगरिएको पत्रकार परिचयपत्रसहित नियन्त्रणमा लिइएको हो ।

बुधबार रातिको समयमा धम्की दिइरहेको विशेष सूचना पाएपछि प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले डंगोलले प्रयोग गर्ने प्रदेश ३–०१–०२३ च २५३० नम्बरको सवारी साधनबाट एक थान बाओफेङ कम्पनीको वाकीटकी, एक थान ब्लु बुक र सूचना तथा प्रसारण विभागबाट ‘प्रभाव दैनिक’ सञ्चार संस्थाको प्रेस प्रतिनिधि भनी जारी भएको तर नवीकरण नभएको पत्रकार परिचयपत्र बरामद गरेको छ ।

पक्राउ परेका डंगोलमाथि थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए । हाल उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर कानूनी प्रक्रिया र थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया