नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

काठमाडौं । पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदिमा हाम फालेका एक बृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही जिल्लाको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षीय झनक प्रसाद पौडेल आज बिहान उक्त नदीमा हाम फालेको प्रहरीले जनाएको छ ।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले उनलाई मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उद्धार पश्चात उनलाई उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको छ । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदीको बीच भागमा अड्कीएका एक जनाको आजै सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही गाउँपालिका–१ लिस्ती बस्ने २३ वर्षीय संजिव बिकलाई उक्त नदीले बगाएको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट तातोपानीबाट खटिएको टोलीले उनलाई नदीको बीच भागमा रहेको ढुंगामा अड्किएको अवस्थामा उद्धार गरेको हो । उद्धार पश्चात उनलाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया