
काठमाडौं । करिब तीन दशकअघि दोलखाबाट चोरी भई अमेरिकाका संग्रहालयसम्म पुगेका आकाश भैरव (हाँथ्व देउ) का दुई ऐतिहासिक मुकुण्डो अन्ततः आफ्नै समुदायमा फर्किएका छन् । राष्ट्रिय संग्रहालय, छाउनीमा बुधबार आयोजित कार्यक्रममा उक्त मुकुण्डो दोलखाका स्थानीय समुदायलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
दोलखाको नक्छे प्रधान परिवारको कुलघरबाट वि.सं. २०५० फागुन २२ र २०५१ फागुन २४ गते चोरी भएका यी मुकुण्डो अमेरिकास्थित डलास म्युजियम अफ आर्ट र रुबिन म्युजियम अफ आर्टमा रहेको तथ्य सार्वजनिक भएपछि फिर्ता ल्याउने अभियान सुरु भएको थियो ।
सम्पदा संरक्षण अभियन्ता अनिलचन्द्र श्रेष्ठले वि.सं. २०७४ मा इन्द्रजात्राको अवसरमा सामाजिक सञ्जालमा पुराना तस्बिर सार्वजनिक गरेपछि हराएको सम्पदाबारे पुनः चर्चा सुरु भएको थियो । त्यसपछि विभिन्न प्रमाण संकलन, अनुसन्धान र ‘लस्ट आर्ट्स अफ नेपाल’ को सहयोगमा मुकुण्डो अमेरिकाका संग्रहालयमा रहेको पुष्टि भएको थियो ।
मूर्ति चोरीसम्बन्धी पुराना अभिलेख, प्रहरीमा दर्ता भएका जाहेरी तथा ऐतिहासिक तस्बिरहरू संकलन गरी नेपाल सम्पदा संरक्षण अभियानमार्फत पुरातत्व विभागमा आधिकारिक प्रक्रिया अघि बढाइएको थियो । त्यसपछि नेपाल हेरिटेज रिकभरी क्याम्पेन, पुरातत्व विभाग र अमेरिकी निकायबीचको समन्वयमा कानुनी प्रक्रिया अघि बढाइएको थियो ।
न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयले आवश्यक प्रमाणका आधारमा दुवै संग्रहालयबाट मुकुण्डो जफत गरी वि.सं. २०८० मंसिर १८ गते न्यूयोर्कस्थित नेपाली वाणिज्य दूतावासलाई हस्तान्तरण गरेको थियो ।
‘नेवाः गुठी न्यूयोर्क’ को सहयोगमा ती मुकुण्डो नेपाल ल्याइएका थिए। त्यसपछि राष्ट्रिय संग्रहालय, छाउनीमा संरक्षण तथा प्रदर्शनका लागि राखिएको थियो ।
बुधबार आयोजित कार्यक्रममा स्थानीय समुदायका सदस्यहरूले पूजा–आराधना गरेपछि मुकुण्डो समुदायलाई पुनः स्थापनाका लागि हस्तान्तरण गरिएको हो । अब उक्त सम्पदा दोलखास्थित आफ्नो मौलिक स्थानमा पुनः स्थापना गरिने जनाइएको छ ।–तस्विर नेपाल फोटो लाईब्रेरी









प्रतिक्रिया