
काठमाडौँ । नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष निर्णायक मोडमा पुगेको छ । आगामी असोज १६–१९ मा हुने १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार क्रियाशील सदस्यता अद्यावधिकको समयावधि सकिइसक्दा पनि शेरबहादुर देउवा–पूर्णबहादुर खड्का समूह र शेखर कोइराला समूहका शीर्षदेखि तल्लो तहसम्मका नेताकार्यकर्ताले अद्यावधिक नगरेपछि कांग्रेस विवाद निर्णायक मोडमा पुगेको हो । संस्थापन इतर पक्षले गत पुसमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै आएको थियो । सर्वोच्च अदालतले समेत थापालाई आधिकारिकता दिएपछि देउवा–खड्का–कोइराला समूह थापालाई नेतृत्व स्विकार्न बाध्य भएको हो । तर, सो पक्षले आगामी १५औँ महाधिवेशनको सन्दर्भमा आफ्नो समूहको उचित व्यवस्थापन र सम्मानजनक भूमिका हुनुपर्ने माग गर्दै आएको छ ।
पार्टीलाई एकताबद्ध बनाउन संस्थापन र इतरबीच पटकपटक संवाद भए पनि सहमति जुट्न नसकेपछि दुवै पक्षले आ–आफ्नो भावी रणनीति बनाइरहेका छन् । इतर पक्षलाई झुकेर आउन बाध्य पार्ने संस्थापनको आत्मविश्वास र कुनै पनि हालतमा झुकेर सम्झौता नगर्ने इतर पक्षको हठका कारण हालसम्म सहमति जुट्न सकेको छैन । गत बिहीबार क्रियाशील अद्यावधिकको समय सकिए पनि इतर पक्षका अधिकांश शीर्ष नेता र कार्यकर्ताले अद्यावधिक नगरेपछि सिंगो पार्टी महाधिवेशनमा जाने बाटो लगभग बन्द भएको छ ।
देउवा–खड्का–कोइराला समूहको भद्र अवज्ञा
कांग्रेसले संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमा आधारित बनाउने भन्दै अनलाइनमार्फत् क्रियाशील सदस्यता अद्यावधिक गरेको थियो । महाधिवेशनको कार्यतालिकाअनुसार गत १ वैशाखमा सुरु अभियान १५ जेठमा सक्नुपर्ने थियो । तर, पटकपटक म्याद थप्दै २८ जेठलाई अन्तिम सीमा तोकिएको थियो । कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले २८ जेठसम्ममा सदस्यता अद्यावधिक नगरे र कांग्रेस परिचयपत्र प्राप्त नगरे १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने विधानमा व्यवस्था रहेको भन्दै सदस्यता अद्यावधिक गर्न पटकपटक निर्देशन जारी गरेको थियो । तर, इतर पक्षले १५औँ महाधिवेशनका लागि १० पुस, २०८२ मै क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण सम्पन्न भइसकेको भन्दै पुनः अद्यावधिक गरिरहनुनपर्ने अड्डी लिएको हो ।
शेरबहादुर देउवा नेतृत्वको तत्कालीन कांग्रेसले १५औँ महाधिवेशन २८–३१ वैशाख २०८३ मा गर्ने निर्णय गरेको थियो । सोही कार्यतालिकाअनुसार भएको सदस्यता अद्यावधिक तथा वितरण नै अन्तिम भएको भन्दै त्यसैलाई मान्यता दिनुपर्ने इतर पक्षको अडान छ । तर, वर्तमान नेतृत्वले पुनः नयाँ कार्यतालिका ल्याउँदै अद्यावधिकको काम अघि बढाएपछि इतर पक्षले त्यसमा संलग्नता नजनाएको हो । कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य ७ लाख ८२ हजार २०९ सदस्यमध्ये ५ लाख ३८ हजार ६२२ जनाले अद्यावधिक गरी परिचयपत्र पाइसकेको बताएको छ । त्यस्तै, १ लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेस गरी वडा सभापतिमार्फत् प्रक्रियामा रहेको जनाइएको छ । नयाँ सदस्यता वितरण पनि जारी छ ।
पुरानो नवीकरणलाई मान्यता नदिएको मात्रै नभई राजनीतिक विषयमा पनि कुरा नमिलेपछि निवर्तमान सभापति देउवा, निवर्तमान कार्यवाहक सभापति खड्का र नेता कोइरालाले सदस्यता अद्यावधिक नगरेका हुन् । त्यस्तै, निवर्तमान उपसभापति धनराज गुरुङ, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालालगायतले सदस्यता अद्यावधिक गराएनन् । तत्कालीन पदाधिकारीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, उमाकान्त चौधरी, किशोरसिंह राठौर, बद्री पाण्डे, निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महत, निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्मालगायत प्रभावशाली नेताहरूले पनि अद्यावधिक गराएनन् ।
त्यस्तै, १४औँ महाधिवेशनमा देउवा समूह र कोइराला समूहबाट निर्वाचित अधिकांश केन्द्रीय सदस्यहरूले पनि सदस्यता अद्यावधिक गराएका छैनन् । राजनीतिक एकताको विषयमा सहमति जुट्न नसकेपछि पार्टी निर्णयको भद्र अवज्ञा गर्दै इतर पक्षले क्रियाशील सदस्यता अद्यावधिक नगराएका हुन् । अद्यावधिकको विषय प्राविधिक विषय मात्रै नभएको भन्दै इतर पक्षका नेता डा. प्रकाशशरण महतले विशेष अधिवेशनमा भाग नलिएको ठुलो संख्यालाई १५औँ महाधिवेशनमा निष्पक्ष निर्वाचन हुन्छ भन्ने सुनिश्चितता खोजिएको बताए । उनले निष्पक्ष निर्वाचनका लागि साझा संयन्त्र बनाउनुपर्ने आफूहरूको माग रहेको उनको भनाइ छ । सदस्यता नवीकरणसमेत भइसकेको भन्दै उनले नवीकरण भइसकेकालाई महाधिवेशनमा भाग लिन पाइँदैन भन्नु पार्टीको मूल्यमान्यताविपरीत भएको बताए ।
यता, कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीले लक्ष्य राखेअनुरुप ९८ प्रतिशत सदस्यता अद्यावधिक भइसकेको दाबी गरे । उनले केही चर्चित नेताबाहेक केन्द्रीय समिति र तल्ला कमिटीका सबैले अद्यावधिक गरिसकेको भन्दै अद्यावधिकमा कसैलाई निषेध नगरिएको बताए । सदस्यता अद्यावधिकको विषयलाई राजनीतीकरण गर्नु जरुरी नरहेको उनको भनाइ छ । चालिसेले सदस्यता अद्यावधिक नगरेकाहरूको महाधिवेशन प्रक्रियामा सहभागिता नहुने उल्लेख गरे । इतर पक्षको अवज्ञासँगै संस्थापन पक्ष कुनै वार्ता–संवादमा आएर पुनः अद्यावधिक गर्ने अथवा यत्तिकै पेलेर जाने भन्ने निर्णय गर्ने ठाउँमा आइपुगेको छ । इतर पक्ष पनि कुनै सम्झौता गरेर पुनः अद्यावधिकमा जाने कि सदस्यको मान्यतै नरहने गरी कांग्रेसमा बसिरहने भन्ने निर्णायक मोडमा उभिएको छ । दुवै पक्ष टसमस नहुँदा कांग्रेसको निर्णायक विवाद कसरी सुल्झिन्छ भन्नेचाहिँ प्रतीक्षाको विषय बनेको छ ।
०००
आफूहरूलाई निष्कासन गर्न खोजेको इतर पक्षको आरोप
इतर पक्षले आफूहरूलाई अद्यावधिकको नाममा पार्टीबाट निष्कासन गर्न खोजिएको आरोप लगाएको छ । इतर पक्षीय नेता श्याम घिमिरेले देउवा–खड्का समूह र कोइराला समूहलाई १५औँ महाधिवेशनमा भाग लिन नदिएर एकलौटी गर्न लागिएको आरोप लगाए । उनले आफूहरूले निष्पक्षताको सुनिश्चितता, १४औँ महाधिवेशनको केन्द्रीय समितिको समायोजन, निर्वाचन समिति, क्रियाशील छानबिन समिति, सदस्यता व्यवस्थापन समितिमा पनि सहभागिता खोजे पनि संस्थापन तयार नहुनुले पार्टी एकतामा संकट पैदा भएको बताए । ‘हामीले सम्मानजनक उपस्थिति खोजेका हौँ । पद खोजेको होइन,’ उनले भने, ‘अद्यावधिक गरिँदैन । सम्बोधन गर्ने कोसिस भएन भने ठुलो दुर्घटना निम्तिन्छ ।’
इतर पक्षका अर्का नेता गुरु बरालले अद्यावधिक नामको जात्राले पार्टीलाई थप क्षयीकरण गरेको टिप्पणी गरे । उनले सानेपाको नेतृत्व रास्वपाको सत्ता साझेदारी हो कि ! जस्तो देखिएको भन्दै आमकार्यकर्ता तहबाट यो नेतृत्वले थाम्न नसक्ने धारणा आइरहेको बताए । उनले गैरकांग्रेसको पनि सदस्यता नवीकरण गरेर जालझेल गरिएको आरोप लगाए । ‘जसले, जहाँ, जसरी भरे पनि भएको छ क्रियाशील सदस्य । अन्य पार्टीका कार्यकर्ताले पनि भरेका छन् । त्यसको झन् छानबिन गर्नुपर्ने देखियो,’ उनले भने, ‘जालझेलपूर्ण र संन्दिग्ध काम भएको छ । यसले कांग्रेसलाई बलियो होइन, अझ कमजोर बनाएको छ । सम्पूर्ण कुरा स्थगन गरेर सभापतिले एकताका लागि बाटो खोल्नुपर्छ ।’
यता, कांग्रेस प्रवक्ता चालिसे इतर पक्षको सो आरोप अस्वीकार गर्छन् । उनले सम्बन्धित व्यक्तिले मात्रै आएर सदस्यता अद्यावधिक गरेको बताए । पार्टीमा सक्रिय नभएका पार्टी सदस्यलाई सक्रिय गराउने दायित्व पनि पार्टीकै भएको भन्दै केही त्यस्ता निष्क्रिय सदस्यहरू पार्टीमा फर्किएको भने हुन सक्ने उनको भनाइ छ ।
०००
इतर समूहले थाल्यो प्रदेश भेला
संस्थापन इतर पक्षले प्रदेश भेला सुरु गरेका छन् । उनीहरूले पार्टीको बृहत्तर एकताका लागि भन्दै प्रदेश स्तरीय भेला गरेर आफ्नो शक्ति आकलन र सदस्यहरूलाई सम्पर्कमा राख्ने रणनीति अघि सारेका हुन् । शनिबार मधेस प्रदेशमा निवर्तमान उपसभापति विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा भेला भएको छ । त्यस्तै आज आइतबार नेता शेखर कोइरालाको प्रमुख आतिथ्यमा भेला हुँदै छ । भेलामा जिल्ला, पालिका, वडाका पदाधिकारीहरू, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरूलाई बोलाइएको छ । पार्टीलाई एकताबद्ध बनाउने सन्दर्भमै भेला गरिएको नेताहरूले दाबी गरेका छन् ।
प्रतिक्रिया