रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको नयाँ सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् । यसअघि प्रदेश समितिको उपसभापति रहेका घिमिरे सहमतिका आधारमा सभापति चयन भएका हुन् । हिजो राति सम्पन्न मतदानको मतगणना आज बिहान सकिएको थियो। सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भए पनि कसैले स्पष्ट बहुमत हासिल गर्न सकेनन् । सबैभन्दा बढी मत ल्याएका शालिकराम घिमिरे र दोस्रो स्थानमा रहेका गोपाल घिमिरेबीच पुनः मतदान गर्ने तयारी गरिएको थियो ।

तर अन्तिम समयमा दुवै पक्षबीच सहमति जुटेपछि शालिकराम घिमिरेलाई सभापतिमा निर्वाचित घोषणा गरिएको निर्वाचन समितिका सदस्य गुनाराम घिमिरेले जानकारी दिए । मत परिणामअनुसार रूपन्देहीका शालिकराम घिमिरेले सर्वाधिक १९९ मत प्राप्त गरेका थिए । अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत ल्याउँदा रूपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा. राजकुमार सुवेदीले ८०, रूपन्देहीकी मञ्जु भुसालले ७१ तथा मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए ।

निर्वाचनमा कुल ५५२ मत खसेको थियो । पार्टीभित्रको आन्तरिक समीकरणअनुसार नवनिर्वाचित सभापति शालिकराम घिमिरेलाई रवि लामिछाने पक्षको उम्मेदवारका रूपमा हेरिएको छ भने प्रतिस्पर्धी गोपाल घिमिरे बालेन पक्षसँग निकट मानिन्छन् । सभापति पदका लागि दुवै पक्षबाट तीन–तीन जना उम्मेदवार मैदानमा उत्रिएका थिए ।

पहिलो चरणको मतपरिणामले बालेन पक्षका उम्मेदवारहरूले अपेक्षाकृत कम समर्थन पाएको देखिएको छ । उक्त पक्षबाट प्रतिस्पर्धामा रहेका गोपाल घिमिरे, मञ्जु भुसाल र मधुप्रसाद अर्यालमध्ये अर्यालले सबैभन्दा कम १९ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया