सुस्तामा एसएसबी आतंक र दार्चुलामा भारतीय सेनाको हेली अवतरणबारे सरकारको जबाफ माग

संसद् बैठक

काठमाडौँ । विपक्षी दलहरूले गत २९ जेठमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारू टोलमा हतियारधारी भारतीय सीमा सुरक्षा बल (एसएसबी) को प्रवेश भएको विषयमा सरकारको जबाफ मागेका छन् । संघीय संसद्का दुवै सदनको बैठकमा विपक्षी सांसदहरूले भारतीय एसएसबी प्रवेशको विषयमा जबाफ माग गर्दै सीमा सुरक्षामा ध्यान पु¥याउन सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभा सांसदहरूले प्रधानमन्त्रीले गत १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको असर स्वरूप भारतीय एसएसबी नेपाल प्रवेश गरेको आरोप लगाए । त्यस्तै, भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको अभिव्यक्ति, दार्चुलामा भारतीय हेलिकोप्टर अवतरणलगायतको विषयमा पनि विपक्षीहरूले सरकारको जबाफ माग गरेका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुस्तामा एसएसबीले धाकधम्की दिएर आतंकित पारेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले प्रधानमन्त्रीले १७ जेठमा दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट कहिले हटाउने ? भनी सभामुखलाई प्रश्नसमेत गरे । प्रधानमन्त्रीले संसद्मा आएर अभिव्यक्ति सच्याउनुपर्ने माग कायमै रहेको उनको भनाइ थियो ।

कांग्रेस सांसद रेनुका काउँचाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि एसएसबी घरिघरि नेपाल आएको भन्दै सीमा रक्षक नेपालीलाई सरकार छ भन्ने ढाडस दिनुपर्ने बताइन् । उनले एसएसबीलाई सुस्तामा पस्न नदिन सरकारले के गरेको छ ? भन्ने प्रश्नको जबाफ दिन माग गरिन् । राप्रपा सांसद भरत गिरीले सिमानामा बिनाबर्दीका सिपाही बनेर अहोरात्र देशको रक्षा गरिरहेका नेपाली नागरिकप्रति राज्यको दृष्टिकोण के छ ? भनी प्रश्न गर्दै सीमा रक्षा गर्ने नेपालीप्रति सरकारको स्पष्ट धारणा माग गरे ।

एमाले सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा विगतको बोझ बोक्दैनौँ भनी दिएको अभिव्यक्तिको आशय के हो ? भन्दै जबाफ माग गरिन् । उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत अतिक्रमित जमिनमाथि नेपालको दाबालाई हामी बोक्न सक्दैनौँ भनिएको हो ? वा सीमा रक्षार्थ लडेका नेपालीको बोझ बोक्न सक्दैनौँ भनिएको हो कि ? भनी प्रश्न गरिन् । सांसद अर्यालले बजेटमाथि धारणा राख्ने सांसदहरूलाई पुराना काण्डहरूको फाइल खोल्ने धम्की दिएको भन्दै आपत्ति जनाइन् । उनले गिरिबन्धु टि–इस्टेट, वाइडबडीलगायत पुराना पार्टी जोडिएको काण्डको छानबिन गर्न चुनौती दिइन् ।

नेकपा प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले रुलिङ गर्नुपर्ने माग कायमै रहेको बताए । उनले आइतबार भारतीय सेनाको हेलिकोप्टर दार्चुलाको भूमिमा अवतरण गरेको र भारतीय सुरक्षा निकायका कोही प्रमुख व्यक्तित्व सवार रहेको समाचार आएको भन्दै त्यसबारेमा सरकारको जबाफ माग गरे ।

कूटनीतिक पहल गर्नुपर्नेमा राष्ट्रियसभा सदस्यहरूको जोड

राष्ट्रियसभा सदस्यहरूले सुस्तालगायत नेपाली भूमिमा भारतीय एसएसबी प्रवेशका सम्बन्धमा भारत सरकारसँग कूटनीतिक संवाद गरेर समाधान गर्नुपर्ने बताए । कांग्रेसका प्रमुख सचेतक पदमबहादुर परियारले एसएसबीले सिमानाका किसानहरूलाई दख्खल गर्ने काम गरेको भन्दै यसमा कूटनीतिक रूपमा समाधान निकाल्नु आवश्यक भएको बताए । एमाले सांसद रोशनी मेचेले सुस्ताको २४ किलोमिटर खुला सीमा क्षेत्रमा चौबिसै घन्टा सघन गस्ती सुनिश्चित गर्न सशस्त्र प्रहरी बलको स्थायी र साधनस्रोत सम्पन्न बिओपी स्थापना गर्न सरकारलाई आग्रह गरिन् । उनले सरकारको कूटनीतिक र सुरक्षागत लाचारी तत्काल अन्त्य हुनुपर्ने बताइन् ।

बजेट छलफलमा मन्त्री नै लापता !

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत ९ वटा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफलको कार्यसूची थियो । सांसदहरूले ९ वटै मन्त्रालयको सन्दर्भमा धारणा राख्नुपर्ने भए पनि बैठकमा १÷२ जना मन्त्रीबाहेक अरू उपस्थित थिएनन् । अधिकांश कुर्सी खाली भएका कारण श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले छलफल क्रममा ‘खाली कुर्सीज्यूहरू’ भनी सम्बोधन गरेर कटाक्ष गरेका थिए । एमाले सांसद राजेन्द्रकुमार राईले सम्बन्धित मन्त्रालयको बजेट छलफलमा मन्त्री नै अनुपस्थित भएको भन्दै सबै मन्त्रीको उपस्थिति भए मात्रै बोल्ने भन्दै सभामुखलाई दबाब दिए । थिति बसाल्न आफू मन्त्रीहरूको उपस्थितिबिना नबोल्ने उनको अडानका कारण सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेर पछि सबै मन्त्री उपस्थित गराएर बैठक सञ्चालन गरेका थिए ।

प्रतिक्रिया