
सरकारले हालै साविकको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान र प्रविधि क्षेत्रलाई छुट्याएर अलगै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरेको छ । मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झार्दै गर्दा अलग्गै अस्तित्वको ‘विज्ञान तथा नवप्रवर्तन’ मन्त्रालयको संरचना गरिनुलाई धेरैले सकारात्मक रूपमा लिएका छन् । हुन त मुलुककमा केही दशकदेखि विज्ञान तथा प्रविधि मन्त्रालय नभएको होइन, तर यो मन्त्रालय हाम्रो देशका रैथाने सीप तथा प्रविधिको नवप्रवर्तन गर्न चुक्यो । जसका कारण हाम्रा कैयौँ पुराना सीप तथा प्रविधिहरू संकटमा परे । केही त लोप नै भएर गए । अब मन्त्रालयले काम कसरी अघि बढाउँछ, बजेट कति विनियोजन गरिन्छ ? भन्ने एकिन भइसकेको छैन, तर नवप्रवर्तनलाई मन्त्रालयकै हैसियतमा प्राथमिकता दिनु भनेको सकारात्मक संकेत हो ।
वास्तवमा यो काम धेरै पहिलेदेखि हुनपथ्र्यो । नवप्रवर्तनलाई ध्यान दिन नसक्दा हाम्रा परम्परागत धेरै प्रविधिहरू लोप भएका छन् । तोरी पेल्ने, चिउरा कुट्ने, उखु पेल्ने, घिउ बनाउने, रक्सी बनाउने लगायतका धेरै परम्परागत प्रविधिलाई उदाहरणका रूपमा लिन सकिन्छ । त्यति मात्र होइन, हाम्रो देशका धेरै गाउँबस्तीहरूका पृथक् पृथक् परिवेश थिए । पुर्खाहरूले जीवनयापन सहजताका लागि आफ्ना ठाउँ सुहाउँदो प्रविधि तयार गरेका थिए । त्यसैले सानो भूगोल र थोरै जनसंख्या भए पनि नेपालमा परम्परागत रैथाने प्रविधि निकै धेरै थिए भन्ने अनुमान सहजै गर्न सकिन्छ । तर आधुनिक प्रविधिसँग प्रतिस्पर्धा गर्न नसक्दा यी र यस्ता प्रविधिहरू लोप हुन थालेका हुन् । नवप्रवर्तनमा ध्यान नदिइएकै कारण हाम्रा कतिपय पुराना रैथाने प्रविधिहरूले आधुनिक प्रविधिसँग प्रतिस्पर्धा गर्न सकेनन्, त्यसैले लोप भए । त्यसैले हाम्रा रैथाने प्रविधिलाई कसरी जोगाउने ? भन्ने विषयमा राज्यको ध्यान केन्द्रित हुनुपर्छ ।
सहजै अर्को विकल्प तयार भएपछि जुन प्रविधि प्रयोगका लागि महँगो र झन्झटिलो हुन्छ, त्यसलाई जोगाउनका लागि हाम्रा पुर्खाहरूले आफ्नै खालको पद्धति बनाएका थिए । उदाहरणका लागि २ वटा काठ रगडेर आगो उत्पन्न गराउने प्रविधिलाई सलाइको आविष्कारले लोप गराउने अवस्था उत्पन्न भएपछि हाम्रा अग्रजहरूले यज्ञकर्ममा प्रयोग हुने अग्नि अनिवार्य रूपमा काठ रगडेरै उत्पन्न गर्नुपर्ने नियम बनाए । आफ्नो रैथाने सीप तथा प्रविधिले चिरकालसम्म निरन्तरता पाओस् भन्नकै लागि हाम्रा पुर्खाहरूले धर्म संस्कृतिसँग जोडेर केही नियमसमेत बनाए । जसलाई कर्मकाण्डसमेत भनियो । तर अहिलेको नयाँ पुस्तालाई कर्मकाण्डको मर्म बुझाउन कोही अग्रसर भएको देखिन्न ।
परम्परागत रैथाने सीप तथा प्रविधि लोप हुनका धेरै कारण छन्, जसमध्येको एउटा कारण हाम्रा पुर्खाले तयार गरेको कर्मकाण्डलाई हेला गरिनु हो । तर विज्ञानले पुष्टि नगर्दासम्म कर्मकाण्डलाई निरन्तरता दिन नयाँ पुस्ता तयार नहुने अवस्था देखिँदै गएकाले हाम्रा परम्परागत रैथाने सीप तथा प्रविधिलाई केही हदसम्म भए पनि जोगाउन सहयोग पुर्याउने भनेको नवप्रवर्तनले नै हो भन्ने कुरामा स्पष्ट हुनपर्छ । उदाहरणका लागि ग्रामीण भेगमा परम्परागत रूपमा गुन्द्रुक, मस्यौरा, वा सिस्नोको धुलो बनाइन्थ्यो, यद्यपि नयाँ पुस्ताले त्यो सीपमा जाँगर नदेखाएकाले लोप हुने खतरा थियो । तर अहिले नवप्रवर्तनमार्फत आधुनिक मेसिनबाट यसको प्रशोधन, हाइजेनिक प्याकेजिङ, र ब्रान्डिङ गरियो । अहिले यो परिकार गाउँको भान्छाबाट निस्किएर सुपरमार्केट र विदेशमा रहेका नेपालीमाझ सजिलै पुगेको छ ।
छुट्टै आविष्कारका लागि धेरै ठुलो साधन स्रोत खर्च हुन्छ । जुन खर्च धान्न सक्ने अवस्थामा हाम्रो देशको अर्थतन्त्र छैन । विदेशमा आविष्कार भएका प्रविधिलाई जस्ताको तस्तै भिœयाउँदा हाम्रो मौलिकता मासिन्छ । त्यसैले रैथाने (परम्परागत) प्रविधिलाई नवप्रवर्तनमार्फत आधुनिक, व्यावसायिक र उपयोगी बनाउन परम्परागत ज्ञानमा आधुनिक विज्ञान र प्रविधिको सम्मिश्रण गर्नु आवश्यक छ । प्रविधिको स्तरोन्नति गरी स्वचालित बनाउने हो भने हाम्रो परम्परागत उत्पादन प्रविधिले देशलाई आर्थिक रूपमा समृद्ध बनाउन सक्छ । आधुनिक प्रविधि प्रयोग गरेर ठुला देशहरूले विश्वबजारमा कायम गरेको दबदबासँग प्रतिस्पर्धा गर्न नसक्ने देशहरूले परम्परागत रैथाने प्रविधिबाट उत्पादित वस्तुहरूको बजारीकरणबाट निर्यात व्यापार प्रवर्तन गरेका उदाहरण छन् ।
हाम्रो देशले लिनुपर्ने बाटो पनि यही हो । यसका लागि सर्वप्रथम रैथाने ज्ञानको डिजिटल अभिलेख राख्ने र तिनको ‘पेटेन्ट’ (बौद्धिक सम्पत्ति अधिकार) सुरक्षित गर्नेतर्फ पनि सचेत हुन जरुरी छ । रैथाने प्रविधिलाई आधुनिक पाठ्यक्रमसँग जोडी युवाहरूलाई ‘स्टार्टअप’ खोल्न सरकारी अनुदान र सहुलियत दिनेतर्फ पनि सरकारको ध्यान जाओस् ।
प्रतिक्रिया