
राज्यले श्रमको सम्मानका साथै संस्थागत मूल्यांकन गरेको उपलब्धिको सम्झना स्वरूप हरेक वर्ष मे १ तारिखका दिन ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’ (मे दिवस) मनाउने गरिएको छ । विश्वका विकसित देशहरूले श्रमिक दिवस मनाउन थालेको १३७ वर्ष पुगिसकेको छ । नेपालमा भने श्रमिक स्तरबाट यो दिवस मनाउन थालिएको २००७ सालको जनक्रान्तिसँगै र सरकारी स्तरमा मनाउन थालिएको २०४६ सालको परिवर्तनपछि हो । त्यसैले नेपालको सन्दर्भमा प्रजातन्त्र र श्रमिकको अधिकार एकआपसमा गहिरोसँग जोडिएका छन् । विश्व इतिहास हेर्दा पनि जनअधिकार र श्रमिक अधिकार जुम्ल्याहा जस्तै हुन् ।
एकातिर श्रमिक अधिकार, राजनीतिक अधिकारको जननी हो भने अर्कातिर राजनीतिक अधिकारको जग नै श्रमिक अधिकार हो । त्यसैले विश्वमा जे–जति दिवसहरू मनाउने गरिन्छ, तीमध्ये सबैभन्दा बृहत् रूपमा श्रमिक दिवस नै मनाइन्छ । महत्वका आधारमा मात्र होइन, आकारका आधारमा पनि अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वकै सबैभन्दा ठुलो पर्व हो । यद्यपि, यो पर्वलाई चीन र उत्तर कोरियालगायत समाजवादी शासन व्यवस्था अंगालेका देशहरूले सप्ताहव्यापी रूपमै जसरी उल्लासका साथ मनाउने गरेका छन्, त्यति उल्लासमय रूपमा बेलायत तथा अमेरिकालगायत कतिपय देशका सरकारहरूले नमनाउनुका विशेष कारणहरू छन् । तर, यी देशहरूले पनि श्रमिकको अधिकारलाई उच्च सम्मान गर्न कुनै कञ्जुस्याइँ गरेको देखिँदैन । जापानमा त श्रम गर्नुलाई मानिसको सबैभन्दा ठुलो धर्म मानिन्छ ।
जसले बढी श्रम गर्छ, उसको सामाजिक प्रतिष्ठा उति नै उच्च हुने संस्कारको विकास गर्न ‘मे दिवस’ को ठुलो योगदान छ । विश्व इतिहास हेर्दा श्रमको उचित सम्मान र मूल्यांकन जुन देशहरूले बेलैमा गरे, ती देशहरूले विकास र आर्थिक समृद्धिमा ठुलो छलाङ मारेको देखिन्छ । जुन देशमा श्रमको सम्मान छैन र श्रमको उचित मूल्य छैन, ती देशहरू विकास र आर्थिक समृद्धिमा निकै पछि परेको देखिन्छ । वास्तवमा हाम्रो देश नेपाल पछि पर्नुका विविध कारणहरूमध्ये एउटा मुख्य कारण श्रमको सम्मान नहुनु र श्रमले उचित मूल्य नपाउनु पनि हो । हाम्रो देशमा श्रमिक स्तरमा मे दिवस मनाउन थालिएको पनि ७५ वर्ष नाघिसकेको छ भने सरकारी स्तरमै नियमित रूपमा यो दिवस मनाउन थालिएको पनि ३५ वर्ष नाघिसकेको छ । तर श्रमको अवमूल्यन र श्रमिकका समस्याहरू अझै यथावत छन् । जसले अरूलाई श्रममा लगाउँछ उसको सामाजिक हैसियत निकै माथि हुने, तर जसले स्वयं श्रम गर्छ उसको हैसियत सधैँ तल हुने सामन्ती संस्कार हाम्रो देशमा हट्न नसक्नुका विविध कारण छन् । जसमध्ये मुख्य कारण राजनीतिक तहको नेतृत्वमा रहनेहरूको अदूरदर्शिता नै हो ।
हाम्रो देशको श्रमको मुख्य क्षेत्र पहिलो कृषि हो भने दोस्रो उद्योग हो । आधुनिकीकरण गर्न नसक्दा कृषि उपजले लगानीसमेत उठाउन नसक्ने अवस्था उत्पन्न भयो । लगानीसमेत नउठ्ने अवस्थामा कृषि मजदुरहरूले उचित पारिश्रमिक नपाउनु स्वाभाविकै हो । त्यसैगरी, सरकारी उद्योगधन्दाहरू निजीकरणका नाममा बन्द गरिए । निजी क्षेत्रले उद्योग खोल्नुको सट्टा विदेशी उपज आयात गरेर हुने मुनाफालाई प्राथमिकता दियो । निजी क्षेत्रले अलिअलि उद्योगधन्दा सञ्चालन नगरेको होइन, तर ती उद्योगमा पनि श्रमिकको मागभन्दा आपूर्ति कैयौँ गुणा बढी भएका कारण श्रमको मूल्य ओझेलमा पर्न गयो ।
त्यस्ता उद्योगमा पनि राजनीतिक दलहरूले ट्रेड युनियनका नाममा राजनीति गर्न थाले, जसका कारण देशमा औद्योगिक वातावरण नै बन्न सकेन । जब श्रमिकले उचित ज्याला त परै जाओस्, श्रम बेच्ने ठाउँसमेत पाउँदैनन्, त्यस्तो अवस्थामा श्रमिकका हक–अधिकारका कुरा गर्नुको कुनै तुक रहँदैन । जबसम्म स्वदेशभित्र श्रम गर्ने ठाउँ नै नपाएर उपलब्ध सबै युवाहरू विदेशिनुपर्ने परिस्थितिले निरन्तरता पाउँछ, तबसम्म श्रमिकको अधिकारका विषयमा भाषण छाँट्नुको कुनै प्रयोजन रहँदैन भन्ने यथार्थ राजनीतिक तहमा रहनेहरूले भुल्नु हुँदैन ।
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै गर्दा यतिबेला हाम्रो देश जनसांख्यिक दृष्टिले इतिहासकै सबैभन्दा बढी लाभको अवस्थामा छ । कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढी संख्या श्रम गर्न सक्ने उमेरको छ । विश्वका धेरै देशहरूले यस्तै जनसांख्यिक लाभ उठाएर आफूलाई प्रगतिको शिखरमा पुर्याएका हुन् । नेपालमा अहिले जति ठुलो श्रमशक्ति छ, त्यो कतिपय विकसित देशहरूमा पनि छैन । त्यसैले यो श्रमशक्तिलाई देशमै सदुपयोग गर्ने वातावरण निर्माण गर्न राज्य यसरी नै चुक्यो भने नेपाली श्रमिक विदेश पलायन हुने परिस्थितिले निरन्तरता पाइरहने निश्चित छ ।
त्यसैले यो अपार श्रमशक्तिलाई देशभित्रै कसरी सदुपयोग गर्ने भन्ने प्रश्न हाम्रा लागि सर्वाधिक महत्वपूर्ण हो । भाषणले मात्र श्रमिकले सम्मान र उचित मूल्य पाउँदा रहेनछन् । संविधान र कानुनमा अधिकारका फेहरिस्त लेखिँदैमा श्रमिकले उचित ज्याला र सम्मान पाउँदा रहेनछन् भन्ने कुरा हाम्रो देशको अनुभवले पनि सिद्ध गरेको छ । त्यसैले देशका श्रमिकको आधारभूत अधिकार अर्थात् श्रम बजारको ग्यारेन्टी गर्नसके श्रमिक दिवस मनाउनुको सार्थकता सिद्ध हुनेछ ।
प्रतिक्रिया