
इन्धन खपत कम गराउने उद्देश्यले सरकारले गत सातादेखि शनिबारसँगै आइतबार पनि सरकारी कार्यालय र विद्यालयहरूमा बिदा दिन थालेको छ । तर, बिदाकै दिनमा समेत काठमाडौँका मुख्य चोकहरूमा सवारीसाधनको चाप पूर्ण रूपमा घटेको देखिँदैन ।

कलङ्की, चाबहिल, नयाँ बानेश्वर, माइतीघर, गौशाला र जडिबुटी जस्ता प्रमुख चोकहरूमा आइतबार पनि बिहान ९ बजेदेखि ११ बजेसम्म उल्लेख्य सवारी चाप देखिएको छ । केही स्थानमा त शनिबारभन्दा आइतबार अलि बढी नै भिडभाड महसुस गरिएको छ । सरकारी बिदा भए तापनि धेरैजसो निजी कम्पनीहरूले भने नियमित समयमै कार्यालय सञ्चालन गरिरहेकाले सडकमा चाप देखिएको हो ।

समग्र रूपमा हेर्दा भने सवारीसाधनको सङ्ख्या पहिलेको तुलनामा घट्दो क्रममा रहेको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (SSP) नवराज अधिकारीका अनुसार हाल सडकमा करिब ५० प्रतिशतसम्म सवारीसाधन घटेका छन् । “शनिबारभन्दा आइतबार अलि बढी चाप देखिन्छ, तर पहिलेको जस्तो चाप भने छैन,” उनले बताए ।

मुख्य चोकहरूमा देखिएको केही जाम भने सवारी व्यवस्थापन तथा आवतजावत मिलाउने क्रममा भएको ट्राफिक व्यवस्थापनका कारण भएको जनाइएको छ ।
(तस्बिरहरू: बिहान ९–११ बजेको समयमा खिचिएका हुन् ।)
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी









प्रतिक्रिया