बढेको बढ्यै पेट्रोलियमको भाउ, महँगीको त्रासमा नागरिक !

काठमाडौँ । डिजेलको अस्वाभाविक मूल्यवृद्धि भएसँगै नागरिकमा मूल्यवृद्धि त्रास बढेको छ । मध्यपूर्व युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि दोब्बर हुँदा आमनागरिकमा त्रास बढेको हो । जहिल्यै पेट्रोल महँगो र डिजेल सस्तो हुने गरेकामा हाल भने नेपालमा पेट्रोलभन्दा डिजेल १८ रुपैयाँ महँगो भएको छ । यसअघि सन् २००८ ताका अन्तर्राष्ट्रिय बजारमा डिजेलको माग धेरै बढ्दा केही समयका लागि पेट्रोलभन्दा डिजेलको मूल्य महँगो भएको थियो । सन् २०१३ ताका पनि नेपाल आयल निगमले घाटा व्यवस्थापनका लागि मूल्य समायोजन गर्दा केही अवधिमा डिजेल महँगिएको पाइन्छ ।

तर, पछिल्लो ४ महिनाको अवधिमा मात्रै डिजेलको भाउमा प्रतिलिटर १०० रुपैयाँले वृद्धि भइसकेको छ । १ माघ, २०८२ मा प्रतिलिटर १३६ रुपैयाँ रहेको डिजेल २०८३ को वैशाख ३ गते २३७ रुपैयाँ पुगेको छ । १ माघमा प्रतिलिटर १५६ रहेको पेट्रोल २०८३ वैशाख ३ गते २१९ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजेलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टितेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा रहेको निगमले जनाएको छ । पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा रहेको निगमले उल्लेख गरेको छ ।

डिजेलको भाउ बढ्दा धेरैजसो ढुवानी, विकास निर्माण, यातायात प्रभावित हुन पुगेको छ । विकास निर्माणका काममा प्रयोग हुने कच्चा पदार्थको अभाव भएको र डिजेलको भाउ अकासिएपछि ठुला आयोजनाको काम प्रभावित भएको छ । महँगी र निर्माण आयोजनाहरू सुस्त हुँदा डिजेलको खपतमा भने करिब १० देखि २० प्रतिशतसम्म कमी आएको अनुमान छ । त्यस्तै, ढुवानी तथा धेरैजसो यात्रुवाहक सवारीसाधनमा डिजेलको प्रयोग हुने हुँदा आमनागरिको ददैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने वस्तु तथा सेवाको भाउ स्वतः बढ्ने भएको छ । उपभोग्य वस्तुहरू खाद्यान्न, तरकारी, फलफूल, लुगाफाटो, औषधिजन्य वस्तु, पानी, दूधलगायतको ढुवानी खर्च बढ्ने हुँदा बजार मूल्य पनि बढ्ने देखिन्छ । जसका कारण सर्वसाधारण नागरिक प्रभावित हुने अर्थविद्हरुको भनाइ छ ।

भाडा समायोजन गरी जोर–बिजोर लागू गर्न माग

डिजेलको भाउ एक्कासि ३० रुपैयाँ बढाएपछि गत चैत २५ गते मात्रै बढाइएको सार्वजनिक यातायात तथा ढुवानी भाडा फेरि बढाउनुपर्ने माग यातायात व्यवसायीको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले डिजेलको मूल्यमा भएको अस्वाभाविक वृद्धि भएको भन्दै ढुवानी भाडा तत्काल समायोजन गर्न माग गरेको छ । विज्ञप्ति जारी गर्दै महासंघले यातायात व्यवस्था विभागसँग भएको सहमतिअनुसार पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ प्रतिशतभन्दा बढी तलमाथि हुँदा भाडादर स्वचालित रूपमा समायोजन हुनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्न माग गरेको छ । इन्धनको मूल्य घट्दा भाडा घट्ने र बढ्दा बढ्ने वैज्ञानिक प्रणाली लागू नभएकामा महासंघले आपत्ति जनाएको छ ।

पछिल्ला २ पटकको मूल्यवृद्धिबाट डिजेलमा ५५ रुपैयाँ वृद्धि भएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानो भाडादरमा सेवा सञ्चालन गर्न नसकिने महासंघले स्पष्ट पारेको छ । त्यसैगरी, पेट्रोलियम पदार्थमा लगाइएका अतिरिक्त कर हटाई मूल्य घटाउन, साथै खपत घटाउन सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्न पनि सरकारसँग अनुरोध गरेको छ । त्यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्य ६ दिनमै पुनः बढेको भन्दै भाडा समायोजन गर्न यातायात व्यवस्था विभागसँग माग गरेको छ । चैत २५ यता २ पटक गरी डिजेलमा ५५ रुपैयाँ र पेट्रोलमा १७ रुपैयाँ भाउ बढेकाले भाडा समायोजन गनुपर्ने महासंघको माग छ ।

‘२०६५ सालबाट पेट्रोलियम पदार्थको ५ प्रतिशत मूल्यवृद्धि हुँदा वैज्ञानिक विधिअनुसार भाडा समायोजन यातायात व्यवस्था विभागले गर्दै आएकामा विगत २ वर्षदेखि ५ प्रतिशत बढ्दा स्वचालित प्रणालीबाट समायोजन नभएको यातायात व्यवसायीको गुनासो छ । यता, विज्ञहरूले भने अब दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् । विद्युतीय सवारीसाधन (इभी) को प्रवद्र्धन र भान्छामा इन्डक्सन चुल्होजस्ता विद्युतीय उपकरणको प्रयोग बढाउनु नै अबका लागि उपयुक्त हुनेमा उनीहरूको जोड छ ।

प्रभावकारी हुन सकेन २ दिने बिदा

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन सातामा २ दिन सार्वजनिक बिदा दिए पनि प्रभावकारी हुन नसकेको देखिन्छ । नेपाल आयल निगमका अनुसार २ दिन बिदा दिने नीति बनाए पनि इन्धनको खपत भने विगतजस्तै छ । हाल देशभर दैनिक २ हजार किलोलिटरभन्दा बढी पेट्रोल र ५ हजार किलोलिटर डिजेल खपत भइरहेको छ । यसअघिको अवस्थामा पनि यही मात्रामा खपत हुने गथ्र्यो । बिदामा मानिस घुमघाममा निस्किँदा पेट्रोलको खपत घट्न नसकेको पेट्रोल पम्प सञ्चालकहरू बताउँछन् ।

प्रतिक्रिया