
पोर्चुगल । पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले १ वर्षमा राहदानीलगायतका कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवामा उल्लेख्य प्रगति गरेको छ । सोमबार पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारहरूसँगको भेटघाट, छलफल तथा अन्तरक्रियामा दूतावासले आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै दूतावास स्थापनाको १ वर्षको अवधिमा ३५ हजार बढीको संख्यामा राहदानीलगायत कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवा प्रवाह गरेको जनाएको हो ।
दूतावासले सार्वजनिक गरेको प्रतिवेदनअनुसार राहदानी (ई–पासपोर्ट) नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण, शैक्षिक तथा पारिवारिक कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा र यात्रा अनुमतिपत्रलगायत सेवा गरी कुल ३५ हजार ७८९ सेवा प्रवाह गरिएको छ । जसमा दूतावासले सबैभन्दा बढी प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) प्रमाणीकरणसम्बन्धी सेवा प्रदान गरेको छ । प्रतिवेदनअनुसार २३ हजार ७८९ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरिएको छ ।
१ वर्षको अवधिमा दूतावासले ५ हजार ७९६ जना नेपालीलाई राहदानी (ई–पासपोर्ट) सम्बन्धी सेवा प्रदान गरेको छ भने १०९ जनाको यात्रा अनुमतिपत्र जारी गरिएको दूतावासले जनाएको छ । यस्तै, ५ हजार ६५५ वटा शैक्षिक प्रमाणपत्र, पारिवारिक कागजातलगायत अन्य कागजात प्रमाणीकरण गरिएको छ । प्रतिवेदनअनुसार ४१४ वटा अधिकृत वारेसनामा र २६ वटा शव फिर्तीसम्बन्धी सेवाप्रवाह गरिएको दूतावासले जनाएको छ ।
दूतावासले १ वर्षको अवधिमा २९ लाख ९० हजार युरो अर्थात् करिब ५० करोड नेपाली रुपैयाँ राजस्व संकलन गरेको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए । दूतावासले प्रवाह गरेका सेवाहरूले पोर्चुगलवासी नेपाली समुदायलाई प्रत्यक्ष रूपमा सहजता प्रदान गरेको उल्लेख गर्दै राजदूत पौडेलले राहदानी, कागजात प्रमाणीकरणलगायत नियमित सेवाका साथै समस्या समाधानमा दूतावास निरन्तर सक्रिय रहेको बताए ।
दूतावासले प्रवद्र्धनात्मक कार्यहरू, नेपाली समुदायसँग सम्बन्धित कार्य, आर्थिक कूटनीतिसम्बन्धी पहल, पोर्चुगिज सरकारका विभिन्न निकायसँग सम्बन्ध तथा समन्वय, दुईपक्षीय सम्बन्ध विस्तार तथा २ देशबीचका उच्चस्तरीय भ्रमणसम्बन्धी गतिविधिलगायत कूटनीतिक कार्य प्राथमिकताका आधारमा गरिरहेको जनाएको छ ।
सो अवसरमा दूतावासले १ वर्षमा गरेका कार्यहरू, दूतावासबाट प्रवाह हुने सेवाहरू, कूटनीतिक गतिविधिहरू तथा आगामी कार्ययोजनालगायत विषयमा जानकारी गराएको थियो । कार्यक्रममा राजदूत पौडेलसहित दूतावासका अन्य कर्मचारी तथा पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारहरूको सहभागिता रहेको थियो । गत २०२५ मार्च ३१ मा लिस्बनमा दूतावास स्थापना भएको थियोे भने २०२५ अप्रिल १६ बाट दूतावासले सेवा दिन सुरु गरेको थियोे । पोर्चुगलमा नेपालीको यकिन तथ्यांक नभए पनि ६० हजारभन्दा बढीको संख्यामा नेपाली रहेको दूतावासको अनुमान छ ।
प्रतिक्रिया