टिएमजे क्षेत्रमा पर्यटकको भिड

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ तीनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल बढेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि नयाँ वर्षको अवसर पारेर १ वैशाखमा उल्लेखनीय संख्यामा पर्यटकहरू तीनजुरे मिल्के जलजले क्षेत्रमा आएका हुन् । गुराँस फुल्ने समयसमेत हुने नयाँ वर्ष सुरुआतमा अन्य समयभन्दा आन्तरिक तथा बाह्य पर्यटकहरू बढी आउने गरेको स्थानीयहरू बत्ताउँछन् ।

नयाँ वर्षको पहिलो दिन १ वैशाखमा अनुमानित २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले तीनजुरे क्षेत्रको भ्रमण गरेको इलाका प्रहरी कार्यालय वसन्तपुरका इन्चार्ज रुपेश तामाङले बताए । छिमेकी जिल्ला संखुवासभा, भोजपुर, पाँचथर, धनकुटासँगै पूर्वी तराईका जिल्ला सुनसरी, मोरङ, झापाका साथै भारतको विहारलगायतका स्थानका पर्यटक आएको पाइएको उनले जानकारी दिए ।
चैतको दोस्रो सातायता तीनजुरे क्षेत्रमा गुराँस फुल्न थालेपछि जिल्ला बाहिरबाट दैनिक ५ हजार पर्यटक तीनजुरे क्षेत्र आउने गरेको होटल व्यवसायी संघ वसन्तपुरका अध्यक्ष प्रकाश श्रेष्ठले बताए । तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार वसन्तपुर बजारमा रहेको चोत्लुङ पार्क, तीनजुरे क्षेत्रमा पर्ने आरआर गार्डेन, पाथीभरा मन्दिर, तीनजुरे पिक, पाँचपोखरी, गुफापोखरी क्षेत्रमा फुलेका गुराँस हेर्ने पर्यटकको भिडले गुलजार बनेको छ ।

गुराँसको राजधानी टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन् । यो क्षेत्रमा वसन्तपुरमा रहेको नयाँ सहर आयोजनाको कार्यालयले विभिन्न पर्यटकीय संरचना निर्माण गरेका छन् । उक्त क्षेत्रमा साढे १० करोड बजेटको संरचना निर्माण गरिएको नयाँ सहर आयोजना कार्यालय वसन्तपुरका प्रमुख सुदीप झाले बताए । जसमा आरआर गार्डेन परिसरमा पिकनिक स्पट, शौचालय, ओपन थिएटर निर्माण गरिएका छन् ।

त्यसैगरि तीनजुरे जाने सडकको ठाउँठाउँमा शौचालय निर्माण गरिएका छन् । पाथीभरा मन्दिर जाने सिँढी मार्गमा छानोलगायत संरचना निर्माण गरिएको छ । बाह्रै महिना पर्यटक आइरहने तीनजुरे क्षेत्रमा गुराँस फुल्ने र हिउँ पर्ने सिजनमा विशेष पर्यटकीय चहलपहल बढ्छ । सो क्षेत्रमा पछिल्लो समय हिउँ पर्न छाडेपछि गुराँस फुल्ने समय र नयाँ वर्षको दिन पर्यटकले भरिभराउ हुने गरेको टुटे देउरालीमा रहेको हिमगंगा होटलका सञ्चालक श्री कार्कीले बताए ।

तीनजुरे क्षेत्रको नाम धेरै सुनेकाले यसपल्ट झापाबाट परिवारसँग नयाँ वर्ष मनाउन आएको आयुष्मा राईले बताइन् । पहिलोपटक तीनजुरे क्षेत्र आएकी राईले यहाँको चिसो मौसम, स्वच्छ हावापानी र वनमा फुलेका गुराँसले मोहित बनाएको बताइन् । त्यसैगरी, सुनसरीको इटहरीबाट आएका सुरेन्द्र क्षेत्रीले तीनजुरे क्षेत्र एकपटक पुग्नुपर्ने ठाउँका रूपमा आफूले पाएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया