
महेन्द्रनगर । पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिमा ठूला विकास आयोजनाका काम प्रभावित बनेका छन् । निर्माण व्यवसायीले आफूसित मौज्दात रहेको इन्धनबाट काम गरिरहेको भए पनि इन्धनमा भएको मूल्यवृद्धि र अभावका कारण आयोजनालाई अगाडि बढाउन समस्यामा परेका बताइएको छ ।
यहाँको सेती राजमार्ग दक्षिण खण्ड (टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक आयोजना)को काम बन्द हुने अवस्थामा पुगेको आयोजना प्रमुख रामकुमार देवले बताए । उनले भने, ‘निर्माण व्यवसायीसित भएको मौज्दात इन्धन सकियो अब काम रोकिने अवस्थामा गइसक्यो । ट्रयाक खोल्न प्रयोग भएका ठूला उपकरण पनि रोकिसके ।’ २०४ किमिका उक्त आयोजना ०७४ सालदेखि सुरु भएको हो ।
आयोजनाअन्तर्गत, ३५ किमि ट्रयाक खोल्न बाँकी छ । हालसम्म कुल १० किमि खण्ड कालोपत्रे भएको छ । आयोजनाअन्तर्गत डोटी, अछाम र कैलालीमा विभिन्न प्याकेजमा काम भइरहेको आयोजना प्रमुख देवले जानकारी दिए ।
‘चालु आर्थिक वर्षमा ७ किमी कालोपत्रे भयो,’ उनले भने, ‘कालोपत्रे गर्न बिटुमिनको अभाव छ,’ चालु आवमा उक्त आयोजनाका लागि सरकारले २५ करोड रकम विनियोजन गरेको उनको भनाइ छ,’ काम सुस्त भयो । बन्द हुने अवस्था छ । मेसिनरी बन्द हुने अवस्थामा छन्,’ उनले भने, ‘महँगो पनि पाउन गाह्रो पनि भयो ।’
पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि निर्माण व्यवसायीले काम गर्न नसकिने जनाउँदै कार्यालयमा निवेदन दिन थालेका छन् । सुदूरपश्चिमकै गौरवको महाकाली सिँचाइ तेस्रो चरण आयोजनासमेत यसको प्रभाव परेको छ ।
सिँचाइको मूल नहर निर्माणका लागि सात प्याकेजमा ठेक्का सम्झौता भएर काम भइरहेको भए पनि अहिले निर्माण व्यवसायीले कार्यालयमा मूल्यवृद्धिले काम गर्न नसकिने जनाउँदै कार्यालयमा निवेदन दिएको महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयका सूचना अधिकारी यादव बरालले जानकारी दिए ।
उनका अनुसार, कार्यालयले नदी नियन्त्रणका लागि ठेक्का लगाए पनि तारजालीको मूल्य वृद्धिका कारण काम हुन सकेको छैन । ‘मूल्यवृद्धिका कारण नदी नियन्त्रणका लागि ठेक्का भएको काम हुन सकेको छैन, यसले बर्सातमा समस्या पार्छ कि भन्ने डर छ,’ सूचना अधिकारी बरालले भने, ‘पेट्रोलिय पदार्थमा मूल्यवृद्धि भएपछि निर्माण व्यवसायीले पनि कार्यालयमा निवेदन दिएका छन् ।’
त्यसैगरी, महाकाली करिडोरको काम पनि मूल्य वृद्धिको असरको चपेटामा छ । १३ वटा प्याकेजमा ठेक्का भई कञ्चनपुरदेखि दार्चुलाको तिंकरसम्मको करिडोरको निर्माण भइरहेको भए पनि पछिल्लो समय निर्माण व्यवसायीले महँगी बढेको जनाउँदै काम गर्न छाडेका छन् । महकाली करिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिंकर) सडक योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले इन्धन, बिटुमिनलगायतका सामग्रीको भएको मूल्यवृद्धिका कारण करिडोरको काम प्रभावित बनेको बताए । ४२५ किमि खण्डको उक्त करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किमि, डडेलधुरामा ५६, बैतडीमा १४४ र दार्चुलामा १२० किमि सडक पर्छ । दार्चुलामा ७९ किमि सडकको ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।
निर्माण व्यवसायीले मूल्यवृद्धि समायोजन नहुँदासम्म काम गर्न नसकिने बताउँदै सरकारलाई मूल्यवृद्धि समायोजनको माग गरेका छन् । निर्माण व्यवसायी कञ्चनपुरका अध्यक्ष पुष्पराज अवस्थीले निर्माण व्यवसायीले निर्माण उद्योगमा आपत्काल घोषणाको माग गरिएको बताए । उनले भने, ‘निर्माण व्यवसायीले घरदेख बेचेर काम गनुपर्ने अवस्था आएको छ ।’
संघमा आबद्ध कञ्चनपुरका ६०० बढी निर्माण व्यवसायीले बजारमा देखिएको मूल्यवृद्धि र सामग्री अभावका कारण काम गर्न नसकिने बताउँदै निर्माण होलिडेको तयारी गरिरहेको उनले बताए । रासस
प्रतिक्रिया