हराउँदै दूर–सुदूरका मौलिक संस्कृति

बसाइँसराइ, आयातित संस्कृति र बढ्दो प्रविधिको प्रयोगलगायत कारणले संस्कृति लोप हुँदै गएका हुन् । भाषा, धर्म, दर्शन, चाडपर्व, नृत्य, संगीत, कला, हस्तकलामा सुदूरपश्चिम अथाह धनी भए पनि लोप हुन लाग्दा आगामी पुस्तालाई कसरी थाहा दिन सकिएला भन्ने चिन्तामा संस्कृतिविद्हरू छन्

‘देवभूमि’को उपमा पाएको सुदूरपश्चिम कला संस्कृतिको हिसाबले अत्यन्तै धनी छ । पाइला–पाइला, शब्द–शब्दमा सांस्कृतिक विविधता पाइने सुदूरपश्चिम क्षेत्रमा बडिमालिका, मष्टो, निंगलाशैनी, सिद्धनाथ, वैजनाथ, सशस्त्र लिंग वीरवेताल, भागेश्वर, उग्रतारा, शैलेश्वरी, मालिकार्जुनजस्ता अनेकौँ देवीथान छन् । जसकारण यो क्षेत्रलाई देवभूमि भनिएको हो । दैवी कथाहरू गाउँगाउँमा सुनिन्थे । यस्ता लोककथाहरूले समाजमा न्याय, नैतिकता र आध्यात्मिक अनुशासनको एउटा बलियो जग बसाल्ने काम गरेका थिए ।

लोकसाधक नन्दकृष्ण जोशीका अनुसार कतिपय पुराना मौलिक संस्कृतिहरू हराइसकेका छन् भने कतिपय हराउने अवस्थामा छन् । पछिल्लो समय पुराना गीतसंगीत हुबहु गरेर बजारमा ल्याउन तथा आम्दानी गर्ने कार्य हुँदा पुराना गीतसंगीतका स्रष्टा नै समस्या परेको उनले सुनाए ।

लोकसाधक नन्दकृष्ण जोशी

धेरैजसो कलाकार पलायन भएका छन् । जोशीले कलाकार पलायन हुनु भनेकै यहाँको भाषा, कला, साहित्य र संस्कृति लोप हुनु र सुदूरको पहिचान गुम्नुसरह भएको बताए । बसाइँसराइ, आयातित संस्कृति र बढ्दो प्रविधिको प्रयोगलगायत कारणले संस्कृति लोप हुँदै गएका हुन् ।

भाषा, धर्म, दर्शन, चाडपर्व, नृत्य, संगीत, कला, हस्तकलामा सुदूरपश्चिम अथाह धनी भए पनि लोप हुन लाग्दा आगामी पुस्तालाई कसरी थाहा दिन सकिएला भन्ने चिन्तामा संस्कृतिविद्हरू छन् । कलाकारले भन्दा धेरै गाउँघरका आशुकविहरूले देउडा गीत तथा संस्कृति बचाएको जोशी बताउँछन् । उनले भने, ‘म संगीत र संस्कृतिको पनि विद्यार्थी भएका कारण यो भन्न सक्छु कि— देउडाचाहिँ मर्नेवाला छैन । यो जीवित रहिरहन्छ । कलाकारले भन्दा पनि गाउँघरका आशुकविहरूले देउडा गीतलाई बचाएका छन् ।’

धमरी अर्थात् धमारी संस्कृति

सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा प्रचलित एक महत्वपूर्ण लोकगाथा र नृत्य शैली धमरी अर्थात् धमारी संस्कृति लोप हुँदै गएको छ । ऐतिहासिक र धार्मिक परम्पराको संवाहक धमरी संस्कृति अहिले लोप भइसकेको अवस्था छ । धमरीमा विशेष गरी महाभारत, रामायणका पात्रहरू र स्थानीय देवीदेवता (जस्तै मस्टो) तथा ऐतिहासिक राजाहरूको वीरताका कथाहरू गाइन्छ । यसमा गायक र नर्तकहरूको समूह हुन्छ । विशेष गरी पुरुषहरूले हातमा रुमाल वा शस्त्र बोकेर गोलो घेरामा नाच्दै यो पर्व मनाउँछन् । धमरी गाउँदा दमाहा, झ्याली तथा स्थानीय बाजाको प्रयोग गरिन्छ । समुदायका मानिसहरूलाई एक ठाउँमा ल्याउने र पुर्खाका गौरवमय कथाहरूलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने माध्यमका रूपमा यो संस्कृतिले काम गरेको सम्झिन्छन् जोशी ।

हुड्केली

नेपालको सुदूरपश्चिम र कर्णाली क्षेत्रका साथै भारतको उत्तराखण्डमा प्रचलित अत्यन्तै विशिष्ट र ऐतिहासिक लोकगाथा गायन शैली हुड्केली अर्थात् हुड्के संस्कृति पनि सुदूपश्चिमबाट लोप भएको लोकसाधक जोशी बताउँछन् । उनले भने, ‘कर्णालीमा चाहिँ हुड्के संस्कृति उदाउँदो छ । सुदूरपश्चिममा भने कहीँकतै मात्र देख्न पाइन्छ । कतिपयले हुड्केली भनेको त दलित जातिको अथवा ढोली वर्गले बजाउने तथा नाच्ने संस्कृति हो भन्छन् । तर, त्यो एउटा जातिको मात्रै नभएर एउटा समाजको ठुलो मौलिक संस्कृति हो । ‘हुड्का’ नामक बाजाको तालमा प्रस्तुत गरिने हुनाले यसलाई हुड्केली भनिएको हो ।

जोशीले हुड्केली संस्कृति महाभारतकालीन अवस्थाको इतिहास उजागर गर्ने बताउँदै भने, ‘हाम्रा कुना–कन्दराका लोक संस्कृतिलाई उजागर गर्ने एउटा प्रमुख संस्कृति हो । अब मौलिक हुड्केली संस्कृति लोप भइसकेको र कहीँकतै यसलाई परिष्कृत गरेर प्रचलनमा ल्याइएको छ । त्यसले खास मौलिकता बोक्दैन ।’ हुड्केलीमा विशेष गरी महाभारतका कथाहरू र स्थानीय राजाहरूको वीरताका कथाहरू गाइने गथ्र्यो । यसमा पाण्डवहरूको युद्ध कौशल र ऐतिहासिक पात्रहरूको साहसको वर्णन गरिन्छ । कलाकारहरूले सेतो जामा, फेटा र स्थानीय परम्परागत पहिरन लगाएर कला प्रदर्शन गर्छन् ।

लोकसाधक नन्दकृष्ण जोशीले कुनै समय बझाङको तलकोटमा हुड्केली संस्कृति जीवन्त रहेको सम्झिए । विगतको सम्झना गर्दै उनले भने, ‘पहिले–पहिले माघे संक्रान्तिमा ढोली जातिले अन्न माग्न आउँदा हुड्को बजाउने, अनि पटांगिनीमा आएर नाच्ने, अनि हामीले श्रद्धापूर्वक खानेकुराहरू दिने गथ्र्यौँ । तर, अहिले त्यस्तो देखापर्दैन । तलकोटको दरबारमा बडादसैँमा १० दिनसम्म, एकादशी र द्वादशीमा त्यहाँ भार्ता ( हुड्कोका तालमा गरिने नाचगान) लाग्ने गथ्र्यो । अहिले त्यो एकादेशको कथाजस्तै भइसक्यो ।’

मांगल संस्कृति

कुनै पनि मांगलिक कार्यमा एक किसिमको गाथा गाउने चलन थियो । त्यो ठाउँ–गाउँअनुसार फरक–फरक हुन्थ्यो । त्यो पनि अहिले चलनचल्तीबाट हट्दै गएको छ । गाउँघरमा विशेष गरी महिलाहरूले मांगल गाउने चलन थियो । अहिले पनि यो धेरै ठाउँमा भेटिए पनि पहिलेको जस्तो सुनिँदैन । सुदूरपश्चिमका विभिन्न ठाउँका मांगल फरक रहेको जोशी बताउँछन् ।

पुतला संस्कृति

अछाम, डोटी र बाजुरा जिल्लामा प्रचलित एक अत्यन्तै मार्मिक र ऐतिहासिक लोक संस्कृति हो— पुतला अर्थात् रनपुतला । यो महिलाहरूको विशेष खालको नाच र खेल हो, जसले पारिवारिक स्नेह र विछोडको कथा बोकेको हुन्छ । जनश्रुतिअनुसार परापूर्वकालमा अछामका राजा घ्याम्पोकी छोरी रनमैया (पुतली) को विवाह तराई (मधेस) मा भएको थियो । मधेसको गर्मी र सर्पको डरबारे उनले बुबालाई सन्देश पठाएकी थिइन्, तर पछि सर्पले टोकेर उनको मृत्यु भयो । छोरीको सम्झना र शोकमा राजाले यो पुतला खेल सुरु गर्न लगाएको मानिन्छ । यो पर्व विशेष गरी चैत महिनाको अन्त्यदेखि वैशाखको पहिलो सातासम्म मनाइन्छ । त्यस्तै सुदूरपश्चिमका अन्य क्षेत्रमा पनि गौरा पर्वको अवसरमा पनि पुतला नाच्ने गरिन्छ । यसले टाढा रहेका दिदीबहिनी र साथीसंगीहरूलाई एकठाउँ ल्याउने र सामाजिक सद्भाव बढाउने काम गर्छ । पुतला खेल्दा महिलाहरूले परम्परागत रातो साडी, चौबन्दी चोली र सेतो पटुका बाँधेर एउटै तालमा नाच्ने गर्छन् । लोकसाधक जोशीले अहिले पुतला हराइसकेको बताए ।

ठाडी भाका

राजधानी काठमाडौँबाट निकै टाढा भएकै कारण यो क्षेत्रको नाम नै सुदूरपश्चिम राखिएको भन्नेहरू पनि छन् । सुदूर भनिए पनि यहाँको कला संस्कृति भने अन्तरमनमै बस्ने खालको छ । सुदूरपश्चिममा हरेक मानिसको मन छुने भाका हो— ठाडी भाका । जोकोहीलाई बुझ्न अलि गाह्रो भए पनि यो भाकाले मर्म, दुःख, वेदना तथा अन्तरमनको कुरा बोलेको हुन्छ । जिउ नै सिरिंग हुने खालको लय तथा मनमै छुने खालका शब्दहरूका कारण ठाडी भाका नबुझ्ने पनि एकछिन अडिएर सुन्न खोज्छन् । कुनै समय सुदूरका पहाडमा गाउँघरका आशुकविहरूले गाउने भाका अहिले सुनिन मात्रै होइन, शब्द नै नभेटिने अवस्था छ । ठाडी भाका लामो लय हालेर गाउने गरिन्छ । तर, अहिलेको खानपान र परिस्थितिले यो भाका गाउन सक्ने मानिस कमै पाइन्छन् । पछिल्लो समय डिजे, र्याप तथा अन्य संगीतका कारण ठाडी भाकाको चलन हराउँदै गएको छ ।

छलिया संस्कृति

छलिया (छलो) सुदूरपश्चिमको अत्यन्तै लोकप्रिय र प्राचीन तलवार नृत्य हो । यो केवल नाच मात्र नभएर यो क्षेत्रको ऐतिहासिक युद्ध कौशल र वीरताको प्रतीक पनि हो । यो नृत्य खस राजाहरूको पालादेखि सुरु भएको मानिन्छ । यसमा नर्तकहरूले हातमा तलवार र ढाल बोकेका हुन्छन् । उनीहरूले युद्धको मैदानमा शत्रुसँग लडेको जस्तो हाउभाउ र कौशल प्रदर्शन गर्छन् । यसमा शरीरको सन्तुलन र फुर्तिलोपन निकै महत्वपूर्ण हुन्छ । छलिया नाचमा दमाहा, झ्याली, मजुरा र रणसिंगा जस्ता परम्परागत बाजाहरूको प्रयोग गरिन्छ ।

नर्तकहरूले विशेष प्रकारको घेरादार सेतो जामा (चोला), रंगीचंगी फेटा र कम्मरमा पटुका बाँधेका हुन्छन् । उनीहरूको पहिरनले प्राचीन योद्धाको झझल्को दिन्छ । यो विशेष गरी विवाह, धार्मिक मेला (पैठ) र विशेष उत्सवहरूमा प्रदर्शन गरिन्छ । आजभोलि यो सुदूरपश्चिमको सांस्कृतिक पहिचानका रूपमा विभिन्न महोत्सवहरूमा पनि देखाइन्छ । यसको मौलिकता केही लोप हुँदै गएपनि यसको चर्चा भने बढ्दै गएको देखिन्छ ।

गुन्यू, मुनेटो र कम्पनी माला

लोकसाधक जोशीले पछिल्लो समय गुन्यू, मुनेटो र कम्पनी माला पनि देखिन छाडेको बताए । मुन्टोमा लगाउनेलाई मुनेटो, गुन्यू (घाँगरजस्तै) पोसाक हो । यो अहिले देखिन छाडेको छ । त्यस्तै, कान र टाटु (घाँटी)मा लगाउने कम्पनीका मालाहरू हराउँदै गएका छन् ।

भारी खेल

सुदूरका पहाडमा खेलिने भारी खेल भनेको देउडाको उत्कृष्ट रूप हो । भारी खेलमा वयोवृद्ध व्यक्तिहरू, भद्र नरनारीहरू, सहभागी हुन्छन् । यो विशेष गरी गहन शब्दहरूको प्रयोग हुने लामो अवधिसम्म चल्ने खेल हो । भारी खेल (नृत्य) पनि अहिले लोप भइसकेको छ ।

न्याउले खेल

देउडा खेलमै पर्ने एउटा रूप ‘न्याउले खेल’ केही क्षेत्रमा खेलिन्थ्यो । त्यो अहिले लोपोन्मुख अवस्थामा रहेको लोकसाधक जोशी बताउँछन् । जोशीका अनुसार बैतडी, डडेल्धुराका मान्छेहरू न्याउले भाका भनेर गीत गाउँथे । अहिले देउडाले न्याउले भाकालाई छोपेको छ ।

छोटा–छोट्टी चलन

अहिले पूरै हराएको संस्कृति भनेको ‘छोटा–छोट्टी’ चलन हो । जोशीले छोटा–छोट्टी (केटा–केटी) रातभर बसेर देउडा खेल्ने चलन अहिले पूर्ण रूपमा हराएको बताए ।

हराए मौलिक शब्द

गाउँ र समुदायपिच्छे फरक–फरक लवज भएको सुदूरपश्चिम भाषाभाषीका हिसाबले धनी थियो । पछिल्लो समय भाषभाषीहरूको लोप हुँदै गएको छ । जस्तो आमालाई सुदूरपश्चिमको अधिकांश जनसंख्याले ‘इजा’, ‘ज्या’ भन्थ्यो । तर अहिले ‘ममी’ भन्ने धेरै छन् । त्यस्तै बुबालाई ‘बाबा’, ‘बुवा’ भन्ने गरिन्थ्यो । तर, अहिले ड्याडी भनेको पाइन्छ । यस्ता त लाखौँ शब्द र लवजहरू लोप भइसकेको स्वीकार गर्छन् जोशी ।

हराउँदै लोककथा

त्यस्तै, डोटी, अछाम, बैतडी, डडेल्धुरा, दार्चुला, बाजुरा, बझाङ, कैलाली र कञ्चनपुर क्षेत्रमा बोलिने डोटेली र थारू भाषामा ‘कथा हाल्ने’ मौलिक परम्परा थियो । कथाहरूमा वीर गाथाहरूको सन्दर्भमा कत्युरी र मल्ल राजाहरूको बहादुरी, रणकौशल र उनीहरूले राज्य संरक्षणका लागि गरेका बलिदानहरूको बखान गरिन्छ । तराईका कैलाली र कञ्चनपुरका चौधरी, डगौरा थारू समुदायमा स–साना लोककथालाई ‘खिस्सा’ र ठुला एवं लामा कथालाई ‘बटकोही’ भन्ने गरिन्छ । डोटेली लोककथामा भूतप्रेत, देवीदेवता, राजारानी, पौरखशाली पुरुष, चतुर किसानका कथा यति प्रशस्त थिए कि तिनले बालबालिकालाई साहस, सतर्कता र चतुर्याइँको व्यावहारिक शिक्षा दिन्थे । गरिबले आफ्नो तीव्र बुद्धि प्रयोग गरेर सामन्ती साहुलाई हराएको वा समस्याबाट मुक्त भएको कथा सुन्दा ग्रामीण बालबालिकामा आत्मविश्वास र न्यायप्रतिको विश्वास जाग्थ्यो । यस्ता कथाहरू हराइसकेका छन् । अहिले बच्चाहरूको साँझको समय स्मार्टफोनमा बित्ने गरेको छ ।

पहाडी समुदायमा हिउँदको बेला अगेँनावरिपरि बसेर बूढापाकाबाट कथा सुन्ने चलन थियो । पहाडबाट सुविधा र सहजता खोज्दै तराई झर्ने क्रमसँगै यी कथाहरू पनि भौगोलिक बसाइँसराइको चपेटामा परेर लोप भइसकेका छन् । यो मौसममा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा लालीगुराँस फूलले वनै राताम्य भएका हुन्छन् । काफल र ऐँसेलु वनैभरि पाकेका हुन्छन् । यो दृश्यले घुमफिरमा जाने पर्यटकहरूलाई लोभ्याइदिन्छ । यात्रामा आफ्नै हातले काफल र ऐँसेलु टिपेर खाँदा त्यसको मज्जा छुट्टै हुन्छ । तर, वैदेशिक रोजगारी र बसाइँसराइका कारण अहिले पहाडमा मानिस भेटिँदैनन् । जसकारण पुराना शैली र संस्कृति लोप हुँदै गएका छन् ।

प्रतिक्रिया