
भक्तपुर । आज भक्तपुरसँगै काठमाडौं उपत्यकालगायत नेवार समुदायले सिथि नखः पर्व भव्य रूपमा मनाएका छन् । यो पर्वसँगै वर्षा सुरु हुने र किसानको वर्षाको महत्त्वपूर्ण कार्य धान रोपाइँ (स्थानीय भाषामा ज्याः) सुरु हुने भएकाले यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा समेत लिइन्छ ।
आज सिथि नखःमा विशेष गरी पानीको मुहान, इनार, कुवा, पोखरी, धारालगायत पानीको स्रोत सरसफाइ गरिएको छ । बर्सातका मौसममा बगेर आउने पानीको भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान एवं स्रोतको वरिपरि समेत सरसफाइ गरी निकास खोल्नु यो पर्वको विशेषता पनि हो । हिँउदमा पुरिएको, थुनिएको र सुकेको पानीको मूललाई बर्सातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने परम्परा वर्षौँदेखि रहँदै आएको मान्यता छ ।
आजै भगवान् कुमारको जन्मदिनका रूपमा उनको पूजा गर्ने प्रचलन छ । नेवार समुदायमा सिथि नखः को महत्त्वपूर्ण पर्वका रूपमा मनाउने गर्दछन् । जात्रा पर्व सबै थाती राखेर अन्न उत्पादनका लागि किसानलाई मानसिक र शारीरिक रूपले तयार पार्ने चाडका रूपमा सिथि नखःको विशेष महत्त्व रहेको इतिहासविद् एवं संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।
उनका अनुसार सिथि नखः महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन हो । देवीदेवतामध्ये सबैभन्दा पहिला गणेशको र त्यसपछि कुमारको पूजाआराधना गर्नाले बर्सातको बेला धान रोपाइँजस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको प्राडा श्रेष्ठ बताउँछन् । आजको दिन पानीको मुहान एवं स्रोत सफल गरेर मास, मुगी, केराउलगायत दलहनबाट बनेका विशेष प्रकारको पकवान वः अर्थात् ‘बारा’ चढाउने र खाने चलन रहेको छ ।
त्यसैगरी, घरमा भर्खर भित्रिएको नयाँ गहुँको ‘म्हुछ्यामढी’ (मुट्ठी पारी बनाइएको विशेष खालको रोटी) समेत खाने गरिन्छ । वर्षातको झरीमा रुझेर, हिलो माटोसँग पौँठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्ने भएकाले नेवार समुदायले सिथि नखः को दिन साथै चामलको पीठोबाट बनाइएको विशेष प्रकारको रोटी चटामरी, पापड, गहुँको मालपुवालगायत विभिन्न पकवान खाने गरेको संस्कृतिविद् राजकुमार जोशी बताउँछन् ।
आज शुद्ध भई भक्तपुरको नवदुर्गा भवानी र शक्तिपीठमा पूजा गरी नयाँ गहुँबाट तयार गरिएको परिकार चढाउनाले गहुँ उत्पादनमा वृद्धि हुनाका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास पनि रहेको उहाँको भनाइ छ । सिठी नखका दिन माटोलाई चोट पुर्याउन हुन्न भन्ने मान्यताका साथ आज किसानले खेतबारीमा काम नगर्ने प्रचलन रहेको छ ।
आजको दिन दिगुपूजा (देवाली) को अन्तिम दिन मानिन्छ । आजको दिन काठमाडौंको जैसिदेवलमा सिद्धि कुमार र भक्तपुरको थिमीमा सिथीनःख द्यः को पूजा गरिन्छ । त्यस्तै भक्तपुर –५, भगवतीस्थानमा अवस्थित चण्डि भगवतीको आजैको दिन पूजाआजाका साथै जात्रा मनाइएको छ ।–तस्विर नेपाल फोटो लाइब्रेरी















प्रतिक्रिया