उदयपुरमा स्कुल बस दुर्घटना, एक जनाको मृत्यु, ३० जना घाइते

काठमाडौं । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । शनिबार बिहान उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगीटोलमा एक स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र ३० जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महोत्तरीबाट सुनसरीतर्फ आउँदै गरेको बा २ ख ६४३८ नम्बरको दीप एजुकेशन बोर्डिङ स्कुलको स्टाफ बोकेको बस बिहान अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका महोत्तरीको बर्दिबास नगरपालिका बस्ने ५५ वर्षीय विमलेश दत्तको उपचारका क्रममा मृत्यु भएको छ । बसमा सवार अन्य ३० जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर, पाँच जनाको मध्यम र २३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते रसिला कुमारी चौधरी र सन्देश कुमार चौधरीलाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रिफर गरिएको छ । महोत्तरीको गौशाला नगरपालिका–१० निवासी २८ वर्षीय बस चालक जीवन आले भने दुर्घटनामा सकुशल रहेका छन् । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया